|
एजेन्सी

  • मोहिनी मिश्र रिसाल

नयाँ दिल्ली : तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभएर एकजना सन्त नेताका रूपमा पनि हेर्ने गर्छन्।

अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ। अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स)ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा सुरु भएको छ।

उनी भारतमा तीन पटक प्रधानमन्त्री बन्नेका थिए। उनको निधनप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको भनेका छन्। उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताएका छन्।

करिब ३६ घण्टादेखि उनको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको समाचारहरू आएका थिए। त्यसो त उनी लामो समयदेखि नै सो अस्पतालमा रहेका थिए। वाजपेयी भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक नेता  हुन्। हाल भारतको राज्य सत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन्। प्रधानमन्त्री मोदीले उनलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रूपमा लिन्छन्।

मधुमेहका बिरामी ९३ वर्षीय नेता वाजपेयी गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए। उनलाई मिर्गौलाको संक्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो। सो अस्पतालले बिहीबार उनको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा उनको अवस्था ‘चिन्ताजनक’ भनेको थियो। त्यसको केही घन्टापछि उनको निधनको घोषणा भएको हो। 

बिहीबार साँझ वाजपेजीलाई दिल्लीको उनको निवासमा नै राखिएको थियो। उनको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताएका छन्।

वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १:३० बजेसम्म उनको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो। यसपछि उनको शवयात्रा निकालिएको छ। यस यात्रामा लाखौँको संख्यामा जनसहभागीता रहने अनुमान गरिएको छ।


गुगल म्यापमा हेर्नुहोस अटल बिहारी वाजपेयीको शव यात्रा


वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभातालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ। अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ।

पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनति दु:ख व्यक्त गरेका छन्। उनले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्।

त्यसैगरी भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताएका छन्। उनले आफ्नो ट्वीटरमा भारतमाताले आज एक सपूत गुमाएको बताएका छन्।

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो। उनले कानपुरको डीएवी कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेका थिए। पछि उनले एलएलबीको पढाई सुरू गरे पनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक संघमा लागेका थिए।

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति 'विजय पताका' पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा श्यामप्रसाद मुखर्जी र पं दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए।

भारतीय जन संघको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गरे। सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए। सन् १९५७ मा बलरामपुरबाट भने जनसंघका तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भए।

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसंघको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले। 

सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए। उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाएका थिए। त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए।

उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे।

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो। त्यसपछि उनले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.