|

रुकुम : रुकुम पूर्वमा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। सामुदायिक स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन नसक्दा स्वास्थ्य इकाई बन्द भएको हो।

साबिकको रुकुमकोट गाविस ४ कुचिवाङ हाल भुमे गाउँपालिका ८ मा २०७३ सालमा स्थापना भर्इ निरन्तर स्वास्थ्य सेवा दिँदै आएको सामुदायिक स्वास्थ्य इकाई करिव दुई महिनायता बन्द रहेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटबाट उपलब्ध औषधि स्वास्थ्य इकाईमा भए पनि कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएकै कारण स्वास्थ्य इकाई बन्द भएको स्थानीय दिनेश रोकाले बताए। उनका अनुसार स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराएर सेवा सुचारु गर्ने वातावरण सृजना गर्न पटकपटक जनप्रतिनिधिहरूलाई आग्रह गरे पनि कुनै सुनुवाइ भएको छैन।

भौगोलिक विकट र अहिलेसम्म यातायात नपुगेको उक्त ठाउँमा भएको स्वास्थ्य सेवा पनि बन्द हुदा यहाँका स्थानीय सामान्य बिरामी हुदासमेत एक दिनको पैदल बाटो हिँडेर सदरमुकाम रुकुमकोट धाउनु परेको स्थानीय पार्वती बुढामगरले दुखेसो पोखिन्। ‘हामी २०७३ सालमा गाउँमै स्वास्थ्य इकाई स्थापना भएर सेवा पाउँदा निकै खुसी थियौँ, तर अहिले सामान्य टाउको दुख्दा वा ज्वरो आउँदा खाने सिटामोल किन्नसमेत सदरमुकाम धाउनु पर्छ’ उनले भनिन्।

साबिकको रुकुमकोट गाबिस ४ कुचिवाङ भुमे गाउँपालिकामा गाभिएसँगै आफूले पाउँदै आइरहेको पारिश्रमिक २०७४ साल साउन महिनादेखि नपाएकाले बाध्य भएर आफूले स्वास्थ्य इकाई बन्द गरेको अहेब मदन बुढामगरले बताए। ‘मुलुक संघीय संरचनामा जानूभन्दा अगाडि जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमबाट मैले मासिक १० हजार रुपैयाँ र कार्यालय सहयोगिले मासिक आठ हजारका दरले पारिश्रमिक पाइरहेका थियौँ’ उनले भने, ‘तर विगत एक वर्षदेखि पाएका छैनौँ, स्थानीय सरकारलाई पटकपटक जानकारी गराउँदा पनि कुनै चासो दिएको देखिएन।’

उक्त सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सिस्ने गाउँपालिकाका वडा ५, ह्याप्ला,  काफलडाडा वडा ६ को झिङरी र भुमे गाउँपालिका वडा ८, मैहिवाङ, कुचिवाङ, झिम्का र पाछावाङका गरी पाँच सय बढी घरपरिवार प्रभावित बनेका छन्।

उता भुमे गाउँपालिकाले भने यो विषयमा गाउँ कार्यपालिकाको बैठकमा छलफल गरी उक्त स्वस्थ्य इकाईका कर्मचारी र कार्यालय सहयोगीलाई पारिश्रमिक दिने निर्णय भएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताए। गाउँपालिका अध्यक्षले निर्णय भएको भए पनि अहेव बुढाले भने आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.