|

प्युठान : उत्तरी प्युठानका विकट गाविस फोप्ली, लिघा, डाम्री, स्याउलीबाङ, खबाङ र लुङ मिलाएर नौबहिनी गाउँपालिका बनेको हो। प्युठानको सर्वोच्च पहाड कोठी, दिहाल्ना नजिक, प्युठानको सांस्कृतिक देवाली लुङ र लुप्लुङ, नौबहिनी झरना स्याउलीबाङलगायतका पर्यटकीय एवं सांस्कृतिक क्षेत्र रहेको नौबहिनी गाउँपालिका वन, वनस्पति, जडिबुटीलगायतका कृषि तथा वनजन्य उपजको उत्पादनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो। यस्तै, सम्भावना बोकेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालसँग थाहाखबरकर्मी शशिधर भण्डारीले गरेको कुराकानी प्रस्तुत छ। 

तपाईंले गाउँपालिका अध्यक्ष जितेर आएको एक वर्ष भयो, यस अवधिको अनुभव कस्तो रह्‍यो?

वास्तवमा संघीय, प्रदेश र स्थानीय तहको सरकार गठन भए पनि जनताको नजरमा कुनै तहका सरकारले दूरदराजका समस्याको पहिचान गर्न सकेन भन्ने छ। समस्याको समाधान भएन भन्ने गुनासो स्वाभाविक रूपमा उठेको छ। स्थानीय सरकारले त्यस्ता समस्या पहिचान गरी समाधानको काम गरिरहेको छ। जब स्थानीय सरकार आयो, तब गाउँका टोलटोलमा सरकार पुग्यो, जसबाट गाउँका ९५ प्रतिशत मानिसहरूले सडक निर्माणमार्फत् बाटो पाएका छन्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न पक्षहरूमा काम गरिरहेको छ। कृषि, पशु, लुकेर रहेको पर्यटकीय क्षेत्र, पदमार्गलगायतका काम गरिरहेका छौँ। 

स्थानीय सरकार समस्यै समस्याको बीचबाट बढेको छ। गाउँमा थुप्रै समस्या छन्, जुन समस्याहरूलाई एकै पटक समाधान गर्न सकिँदैन। त्यसलाई प्राथमिकताका आधारमा समाधान गर्ने हो। पहिलो सडक, दोस्रो खानेपानी र तेस्रो रोजगारीको कुरा उठिरहेको छ। 

हामी त्यसै आधारमा कार्ययोजना बनाउँदै छौँ। गरेर खानुपर्छ भन्ने भावनाको विकास गर्नु हाम्रो लक्ष्य रहेको छ। त्यसैले हामी युवा लक्षित कार्यक्रम ल्याउँदै छौँ। 

यस अवधिमा तपाईंले गरेका प्रमुख काम केके हुन्?

हाम्रा प्रमुख आयोजनाहरूमा बहाने–चिसापानी सडक निर्माण, जुन सडक रोल्पाको गाममा जोड्न सकिने सडक हो। नौबहिनी गाउँपालिकाको केन्द्र रहेको बहाने बजार दिनानुदिन शहरीकरणले अव्यवस्थित बन्दै छ। त्यहाँ सडक स्तरोन्नति तथा ढल विकास गर्दै छौँ। प्युठान नगरपालिकाको खलिगाउँदेखि फोप्लीसम्मको मोटर बाटो निर्माण तथा विस्तार कार्यक्रम पनि हाम्रो मुख्य योजना हो। नौबहिनी गाउँपालिकाको लिघामा रहेको कडबारा ताल, जुन ग्रामीण पर्यटनका लागि सम्भावित गाउँ हो, त्यहाँ पदमार्ग निर्माण, लुप्लुङमा रहेको मुहानको संरक्षणसँगै गौमुखी ताल निर्माण गर्ने काम गरिएको छ। नौबहिनी गाउँपालिकाको केन्द्रमा आइ नपुग्दै माक्रेमा मन्दिर छ, जुन पर्यटकीय आकर्षणका लागि योग्य बनाउन विविध काम गरिएको छ। 

आगामी योजनाहरू के कस्ता छन्? 

मानिसको स्वभाव हो- आफूले गरेको कामको प्रशंसा गर्नु। यो सबैले गर्छन्। अहिलेकै अवस्था हेर्दा स्थानीय सरकार नभइदिएको भए गाउँ २० देखि २५ वर्ष पछाडि पर्थ्यो। स्थानीय सरकारले नेपाललाई २० देखि २५ वर्षको फड्को मारेर अगाडि बढाएको छ।

हामीलाई अगाडि जान केन्द्रीय सरकार थोरै बाधक बनेको छ। जुन समानीकरणको बजेट हो, गाउँको हरेक समस्या समाधानका लागि स्थानीय सरकारसँग पर्याप्त रूपमा हुनुपर्छ। त्यो समानीकरणको बजेट आइदिएको भए लक्षित वर्गसम्म सहज ढंगबाट पुग्ने थियौँ र जनताको थप समस्या समाधान गर्नका लागि अगाडि बढ्ने थियौँ। केन्द्र सरकारले समानीकरणको बजेट झण्डै पाँच करोड रुपैयाँ कम पठायो। समानुपातिक दृष्टिले हेर्ने हो भने त्यो बजेट ठीकै छ तर पहिचानको आधारमा विकास गर्न सकिने बजेट नभएको कारणले गर्दा हाम्रा ठूला योजना छैनन्। तैपनि सडक निर्माणमा दुई जिल्लालाई जोड्ने बाटाहरू, पर्यटक भित्र्याउने तर गुमनाम पर्यटकीयस्थलहरू, युवा स्वरोजगार, कृषि तथा वनजन्य जडिबुटी, पशुजन्यजस्ता कुराहरूलाई अपग्रेड गर्दै लैजाने योजनामा छौँ। 

तपाईंले टिकट पाएको भन्दा फरक पार्टीको केन्द्र र प्रदेशमा सरकार छ, कतिको सहयोग पाउनुभएको छ? 

मैले त्यसरी हेरेको छैन। सरकार राजनीतिक दल राजनीतिक वृत्तमा रहेर आफ्नो संघसंगठन गर्ने कुरा फरक हो। हामी जनताबाट अनुमोदित भएर आइसकेपछि नेपाल सरकारका जवाफदेही मान्छेहरू हौँ। हामीप्रति केन्द्र सरकार सकारात्मक छ, हामी केन्द्र सरकारप्रति सकारात्मक छौँ। प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय सरकार सबै मिलेर नेपालको समग्र विकास गर्ने हो। नेपालमा रहेका अनेक किसिमका सम्भावनाको खोजी गर्ने हो र युवालाई स्वरोजगार बनाउने हो। त्यस कारण हामी एकअर्काका परिपूरक हौँ, अन्यथा केही पनि छैन। 

स्थानीय सरकारबाट जनताले जे जति आशा गरेका थिए, त्यो प्राप्त गर्न सकेनन् भन्ने गुनासो छ नि? 

मानिसको स्वभाव हो- आफूले गरेको कामको प्रशंसा गर्नु। यो सबैले गर्छन्। अहिलेकै अवस्था हेर्दा स्थानीय सरकार नभइदिएको भए गाउँ २० देखि २५ वर्ष पछाडि पर्थ्यो। स्थानीय सरकारले नेपाललाई २० देखि २५ वर्षको फड्को मारेर अगाडि बढाएको छ। जनताको आशा शत प्रतिशत हुन्छ तर त्यसको आशा पूर्ति एक, दुई र तीन गर्दै क्रमश: हुँदै जाने हो। हिजो जुन गतिमा अगाडि बढेको थियो, त्यसभन्दा बढी जनता सरकारबाट लाभान्वित छन्। समस्या ल्याएर गुनासो होइन, समाधान लिएर फर्किएका छन्। 

समृद्ध गाउँपालिका बनाउन लक्ष्यहरू केके छन्?

अहिलेसम्म जेजे गरियो, त्यो हतारमै गरियो। सिकाइमै गरियो। तर पनि धेरै काम भएको छ। २०७४/०७५ मा सिकाइ भयो भने अब हामीले मोडालिटी चेन्ज गरेर यो वर्षमा सुधारका योजना बनाएका छौँ। अब हाम्रो गाउँपालिकाको आठवटा वडाहरूमा ऐतिहासिकता देखाउने कुरामा जोड दिनेछौँ। कम्तीमा ५० लाखदेखि डेढ करोड रुपैयाँको काम हुनेछ। कुनै वडामा गएपछि यो देख्न पाइन्छ है भन्ने खालको देखाउने स्थल वा पर्यटकीय क्षेत्रहरूको विकास गर्ने कार्यक्रम बनाइरहेका छौँ।

हामी हिजोको भन्दा फरक गर्न चाहन्छौँ। म र मेरो नेतृत्वको गाउँपालिका फरक ढंगबाट अरूले सिक्ने, हेर्न आउने खालको गाउँपालिका बनाउनेछु। अहिले जनताको आवश्यकताको कार्यक्रम हेर्‍यौँ, अब जनताका अत्यावश्यक तथा गाउँपालिकाका कार्यक्रम लिएर जनतामा जाँदै छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.