|

उदयपुर : हाम्रो समाजमा अझै पनि बाबुआमाले भोगेका तथा र छोरोछोरीले सुनेका यौनसम्बन्धी जानकारी कुनै पनि बाबु आमा र छोराछोरीबीच खुलेर साटसाट हुँदैन। कहिँकतै हुन्छ भन्दा सुन्ने समेतआश्चर्य चकित पर्छन्।

सबैलाई चकित पार्ने एक उदाहरण छ १५ वर्षीय मनिका सुनामको। त्रिभुवन जनता माध्यमिक विद्यालय त्रियुगा नगरपालिका -१ जोगी दहमा कक्षा १० मा अध्ययनरत एक किशोरी हुन उनी। आफ्नी आमा र भाइसँग बस्ने मनिका गाउँकी प्यारी छोरी हुन भन्दा फरक पर्दैन। उनको परिवारमा मात्र होइन, गाउँघरमा समेत चर्चा हुन्छ। कारण एउटै हो यौनसबन्धी जनचेतना जगाउने दायित्व, मेरो हो भन्छिन् उनी।

‘म प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेरै मैले सिकेका कुरा सिकाउँछु,’ मनिका भन्छिन्, ‘बुबाआमा काका कार्की, दाजु भाउजु तथा साथीभाइलाई समेत प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी गराउँछु।’ किशोर किशोरीमैत्री केन्द्र विद्यालयमा सञ्चालन भएपछि मनिकामा यस्तो हिम्मत आएको हो। ‘साथीहरूमाझ आफ्ना यौन जिज्ञासा, प्रजनन् स्वास्थ्य र किशोर किशोरीमा हुने स्वास्थ्य जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा छलफल गर्छौँ,' मनिका भन्छिन्। 

मनिका बोलिरहेको वेला आमा देवी भन्छिन्, ‘परिवार नियोजनका साधनको उपयोगबारे पनि छोरीले जानकारी दिन्छिन्। गाउँघरका अन्य जोडीहरू समेत उनलाई भेटेर आफ्नाे समस्या बारे बताउँछन्। अनि सल्लाह बमोजिम स्वास्थ्यचौकी जन्छन्।’ छोरीले परिवार नियोजनका अस्थायी र स्थायी साधनको बारेमा सबैलाई जानेको कुरा सिकाउँछिन्। ‘हामीलाई महिनावारी हुँदा पर सर्नुपर्छ भन्नु हुन्थ्याे हाम्रा आमाहरूले,’ देवीले भनिन्, ‘अहिले छोरीले सरसफाइ र खानपानमा ध्यान दिनु पर्छ, पर सर्नुपर्दैन भन्छिन्।’

मनिकाले विद्यालयमा वृहत्तर यौनिक शिक्षा लागू भएदेखि प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञान हासिल गरेकी हुन्। मनिका भन्छिन्, ‘सुरु सुरुमा मलाई पनि लाज लाग्यो। तर समाजमा मैले जानेका कुरा भन्नै पर्ने रहेछ भन्ने अठोट गरेर भन्न थाले। अस्थायी परिवार नियोजनका साधन ढाल, पिल्स चक्की, नरप्लान्टको बारेमा गाउँघरमा प्रयोग फाइदाको बारेमा मनिका सचेतना जगाउँछिन्। मनिकालाई स्वास्थ्यकर्मी हुन भने पनि फरक पर्दैन।

स्वास्थ्यचौकीमा पनि मनिकाकै चर्चा

विद्यालय छेउमै स्वास्थ्यचौकी जोगीदह छ। स्वास्थ्यचौकी जोगी दह पनि किशोर किशोरीमैत्री प्रमाणित छ। स्वास्थ्य चौकीमा पनि बृहत्तर यौनिकता शिक्षासम्बन्धी ब्रोसर एवं पम्पेलेट, सरल भाषामा चित्रसहित यौन तथा प्रजनन जिज्ञासा मेटाउने जनचेतनामूलक सामग्री राखिएको छ। कण्डम, गर्भ निरोधक खाने चक्की, डिपोप्रोभेरा, इम्प्लान्ट जस्ता आदि पुरुष तथा महिलाका आवश्यक पर्ने परिवार नियोजनका सबै प्रकारका सचेतना दिइन्छ। जोगीदह स्वास्थ्य चौकीका इन्चार्ज मालती राउतले मनिकाले भने पछि स्वास्थ्य चौकीमा सर्वसाधरण आउने गरेको बताइन्। 

किशोर किशोरीहरू विद्यालयले तोकेकोे समय, खाजा खाने समय वा स्वास्थ्य तथा जनसंख्या विषयको अध्ययनको समयमा खुलेरै छलफल गर्ने भएका छन्। जुन छलफलले मनिकालाई गाउँघरमा जानेको सिकाउन मद्दत पुगेको छ।

वृहत्तर यौनिक शिक्षाले किशोरीलाई राहत

बृहत्तर यौनिक शिक्षाले किशोरीलाई विद्यालयको पढाइ नछाड्न मद्दत पुगेको छ। कक्षा १० मा अध्यनरत किशोरी मनिका भन्छिन्, 'विद्यालय र स्वास्थ्यचौकी एकै ठाउँमा रहेका विद्यालयमा बृहत्तर यौनिक शिक्षा कार्यक्रम लागू गरिएको छ। विद्यालयमा पनि प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल र बहस गर्ने वातावरण तयार गरिन्छ। अर्कोतर्फ विद्यालयमा किशोरीलाई महिनावारी भएको वेला विद्यालयमा आवाश्यक पर्ने प्याड लगायतको व्यवस्था गरिएको छ। ‘बृहत्तर यौनिक शिक्षा लागू भएका विद्यालयमा छात्राले महिनावारी भएको वेला विद्यालयमा पढाइ छाड्ने समस्या हटेको छ,’ शिक्षा विकास तथा सम्नवय इकाइ उदयपुरकी तथ्यांक अधिकृत देवी पराजुलीले भनिन्, ‘यो कार्यक्रम जिल्लाव्यापी रुपमा लागू गर्नुपर्ने देखिएको छ।’

कम उमेरमा बच्चा जन्माउनु हुँदैन। परिवार नियोजनका साधन उपयोगमा वृद्धि गर्न सहयोग गरेको मगरको दाबी छ। बृहत्तर यौनिक शिक्षाअन्तर्गत किशोर किशोरीमैत्री केन्द्रको सञ्चालन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक र विद्यालयका किशोर किशोरीलाई अभिमुखीकरण गर्ने गरेका छन्। विद्यालयमा प्याडको समेत व्यवस्था भएकोले कोही किशोरी महिनावारीकै कारण विद्यालय छाड्नु पर्ने समस्य टरेको छ। किशोरलाई पनि किशोर अवस्थामा आउने परिवर्तनको बारेमा जानकारी मनिकाले दिने गरेकी छिन्। 

बृहत्तर यौनिक शिक्षा कार्यक्रम छोटो परिचय

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर-किशोरी भनिन्छ। पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह यो उमेर समूहभित्र भइसक्छ। सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन्। अर्काेतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना रहेका छन्। कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोर-किशोरी यौन तथा प्रजनन कार्यक्रम चलाइएको छ। जुन बृहत्तर यौनिक शिक्षा कार्यक्रम हो।

उदयपुरका विद्यालयमा समेत २०७२ सालदेखि आठ स्थानीय तहका १३ वटा विद्यलायमा किशोर किशोरीमैत्री केन्द्रको स्थापना गरिएको छ। १३ वटा विद्यालयमा तीन हजार जना भन्दा बढी किशोरकिशोरी आफना यौनिक जिज्ञासा र किशोरावस्थामा आउने समस्याका बारेमा जानकारी लिने गरेका छन्। यूएनएफपीए उदयपुरका अधिकृत केदार राना मगरका अनुसार विगतमा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र  संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको साझेदारीमा सञ्चालन हुँदै आएको छ। 

यसरी गरिन्छ, प्रजनन् स्वास्थ्यसम्बन्धी छलफल

विद्यालय वा स्वास्थ्य चौकीमा तालिम प्राप्त विषयगत शिक्षक तथा स्वास्थ्यकर्मी छन्। अनि दौत्तरी वा साथी शिक्षकले सहजीकरण गर्ने गरेका छन्। साथी शिक्षकले आफ्ना साथीमाझ किशोर अवस्थामा यौन, प्रजनन् स्वास्थ्य र यौनिकताबारे छलफल चलाउने गरेका छन्। किशोर–किशोरीले समयमै आफ्नाे जिम्मेवारी बोध गर्ने, विद्यालयमा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल गर्ने तथा महिनावारीको समयमा समेत विद्यालय सिकाइलाई निरन्तरता नदिने समस्या हट्दै गएको शिक्षा एकाइ समन्वय समितिको 'फोकल पर्सन' रहेकी पराजुली बताउँछिन्।     

उदयपुरका पाँचवटा स्वास्थ्य संस्था किशोर किशोरीमैत्री प्रमाणित

उदयपुरका चार नगरपालिकापाँच वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री भएका छन्। किशोर किशोरमैत्री हुनको लागि नेपाल सरकारले तोकेको ९ वटा मापदण्ड र ८७ वटा सूचक पूरा गरेका पाँच वटा स्वास्थ्य संस्थालाई स्वास्थ विभागको परिवार महाशाखाले प्रमाणित गरेको हो। कटारी नगरपालिका हर्देनी स्वास्थ्यचौकी, बेलुका नगरपालिकाको तपेश्वरी स्वास्थ्यचौकी, त्रियुगाको जोगीदह स्वास्थ्यचौकी, चौदण्डी नगरपालिकाको हडिया र सुन्दरपुर स्वास्थ्य चौकीले किशोर–किशोरीमैत्री भएको प्रमाण पत्र पाएको जिल्ला जन स्वास्थ्य कार्यालय उदयपुरका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। 

संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएपीए) को सहयोगमा जिल्ला १३ वटा स्वास्थ्य संस्थाले किशोर–किशोरीमैत्री यौन तथा प्रजनन् स्वास्थ्यमैत्री बनाउनु अभियान सुरु गरेका छन्। उदयपुरका १३ वटा स्वास्थ्य संस्थाबाट किशोर–किशोरमैत्री कार्यक्रम लागू भएपछि १४ हजार १८४ किशोर किशोरी सेवा लिएको कार्यालयको दाबी छ। 

युएनएपिए उदयपुरका जिल्ला कार्यक्रम संयोजक रानामगरका काअनुसार किशोर किशोरीलाई सेवा प्रदान गर्न अलगै कोठाको व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन समितिमा किशोर किशोरीको सहभागिता,आवश्यक पाठ्यक्रम उपलब्ध हुनुपर्ने लगायत मापदण्ड छन्। ‘उदयपुरका पाँचवटा स्वास्थ्य संस्थालाई पाँच वर्षको किशोर–किशोरीमैत्री भएको प्रमाणित गरिएको छ,’ उनले भने,‘सबै स्वास्थ्यचौकीले सवै मापदण्ड पूरा गरी सूचकको आधारमा ९० प्रतिशित अंक प्राप्त गरेकाले प्रमाणित गरेका हौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.