|

लहान : सिरहाको गोलबजार नगरपालिका १० चोहर्वास्थित घरबाट आठ दिनअघि साँझ ‘दिदीको छोरा बिरामी छ, हेर्न जाउँ’ भन्दै अज्ञात व्यक्तिले मोटरसाइकल चढाएर लगिएकी ५५ वर्षीया एकल महिला कारीदेवी यादव बेपत्ता भएकी छन्।

पछिल्लो साउन २५ गते शुक्रबार बेलुका आठ बजेतिर ‘दिदीको छोरा बिरामी छ, छिटो हिंड’ भन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगिएकी कारीदेवी बेपत्ता भएको भतिजी बुहारी विभादेवी यादवले बताइन्।

बेलुकाको खानाको लागि चुलोमा दाल बसाउँदै गरेको समयमा मोटरसाइकल चढेर आएका व्यक्तिलाई अँध्यारो भएकाले आफूले पनि चिन्न नसकेको विभादेवीले बताइन्। ‘दाल पाक्दै छ, हेरेर फर्किहाल्छु’ भन्दै मोटरसाइकलमा बसेर जानुभएकी सासु फर्किनु भएको छैन’ भतिजी बुहारी विभादेवीले सुनाइन्।

अंश मुद्दाको रिसइवी

विवाह गरेपछि सन्तान नजन्मिदै पति ब्रहमदेव यादव गुमाएकी कारीदेवी केही वर्ष जेठाजु रामदेवको घरमा बस्दै आएकी थिइन्। जेठाजुको घरमा खान लाउन समेत नदिई दुःख दिन थालेपछि छुट्टै बस्न थालेकी उनले जेठाजु रामदेव विरुद्ध सिरहा जिल्ला अदालतमा अंश मुद्दा समेत हालेकी थिइन्। सिरहा जिल्ला अदालतबाट पछिल्लो जेष्ठ २८ गते कारीदेवीकै पक्षमा मुद्दाको फैसला भएपछि पतिले पाउने अंशवापत् उनले घडेरी र खेतबारी गरी १२ कठ्ठा जमिन पाएको भतिजो लक्ष्मण यादवले बताए।

‘काकी हामीसँगै बसिरहनु भएको थियो, अंशको विवाद भएपछि अलग्गै बस्न थाल्नु भयो’ भतिजो लक्ष्मणले भने ‘मुद्दा जितेपछि अंशसहित अलग्गै बस्नु भएको थियो।’ आठ दिनअघि दिदीको घर हिंडेकी काकी बेपत्ता भएपछि नातेदार, चिनजान सबैतिर खोजी गरेपनि फेला पार्न नसकिएको उनले बताए। आफन्तकोमा खोज्दा पनि नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन हालेको उनले बताए।

सम्पत्ति हत्याउन बेपत्ता : गाउँलेहरु

दुःखजिलो गरेर बसिरहेकी कारीदेवीले मुद्दा जितेर लिएको अंश हत्याउन जेठाजु र उनको छोरा मिलेर बेपत्ता बनाएको हुन सक्ने गाउँलेहरु बताउँछन्। नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय गाउँलेले भने ‘जेठाजु रामदेव र उनका  छोरा लक्ष्मणले पटक पटक कुटपिट गर्थे।’ अदालतमा परेको अंश मुद्दा फिर्ता लिन पटक पटक कुटपिट गरेको गाउँलेहरुको भनाइ छ।

प्रहरी भन्छ : खोज्दैछौं

इलाका प्रहरी कार्यालय गोलबजारले कारीदेवी हराएपछि भतिजो लक्ष्मणले खोजी गरी पाउँ भन्दै दिएको ठाडो निवेदनको आधारमा प्रहरीले अनुसन्धानसहित खोजी गरिरहेको जनाएको छ। गोलबजार प्रहरी प्रमुख भगिरथ रेग्मी भन्छन् ‘सबै कोणबाट अुसन्धान हुँदैछ, जेठाजु, भतिजो र अन्य आफन्तलाई निगरानीमा राखेर सोधपुछ र खोजी कार्य भईरहेको छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.