|

दाङ : झमझम पानी परिरहेको बेला होस् वा गर्मीले पोलिरहेको बेला त्यही झमझम पानी, त्यही गर्मी छेक्ने छाता बनाएर आफ्नो परिवार पाल्दै आएका छन्  तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका ४५ वर्षीय लालभक्त उपाध्याय। न त गर्मी, नत वर्षा, उनी १० वर्षदेखि तुलसीपुरको सितलपुर चोकमा बसेर छाता मर्मत गर्दै आएका छन्।

उपाध्ययको मुख्य पेशा नै छाता बनाउने हो। उनले बिग्रिएका छाता मर्मत गरेर दैनिक ५०० देखि एक हजारसम्म कमाउछन्। उपाध्यायले दैनिक १५/२० वटा छाता मर्मत गर्ने गरेको बताए। प्राय उनले वर्षादको समयमा बढी आम्दानी गर्ने गरेको बताए। यही कमाईले उनले अहिले दैनिक घर खर्च चलाएका छन्। यस अघि सोही ठाउँमा ढेब्ली गरेर छातामर्मत गर्दै आएका थिए। तर उनको ढेब्ली नगरपालिकाले हटाएपछि अहिले खुल्ला आकासमुनि बसेर व्यवसाय गरिरहेका छन्। उनी यो पेशाबाट सन्तुष्ट छन्। यही पेशा गरेर चार जनाको परिवार पाल्दै आएका उपाध्यायले बताए। उनले छाता बनाउने तालिम लिएका छैनन्। तर आफूले काम गर्दा गर्दै दक्ष बनेको उनले बताए। एउटा छाता बनाए बापत उनले १० देखि ५० रुपैयाँ लिन्छन्।

छाता बिग्रिएको प्रकृति हेरेर उनले छाताको मूल्य निर्धारण गर्ने गर्छन्। त्यस्तै गढवागाउँपालिका कोइलाबासका उनवर सिद्धीकी पनि तुलसीपुरको विरेन्द्र चोकमा बिहानदेखि बेलुकासम्म छाता मर्मत गर्नमा व्यस्त हुन्छन्। तुलसीपुरको मुख्य चोक भएका कारणले होला उनीका छाता मर्मत गराउने भीड नै हुन्छ।

सिद्धिकीलाई पनि  छाता बनाउन भ्याई नभ्याई हुन्छ। सिद्धिकीले पनि केही वर्ष पहिलेदेखि गर्मी र वर्षायाममा छाता मर्मतका काम गर्ने गरेको बताए। 'अन्य समयमा घडीमर्मत गर्दछु। छाताको सिजनमा छाता बनाउने गर्ने गर्छु। 

२० वर्षको उम्मेरदेखि तुलसीपुरमा घडी बनाउने पेशा गरिरहेकाे छु। अहिले मोवाइलले गर्दा मानिसहरू घडी कम लगाउने गर्छन्। त्यही पेशाले मात्र आफ्नो ४ जनाको परिवार पाल्न कठिन हुने भएकाले यो छाता मर्मतबाट केही महिना घरपरिवार चलाउन मद्दत पुगेकाे छ। घडी मर्मत गरेर मासिक १० हजार जति कमाई हुन्छ,' सिद्धीकीले भने, 'सिजनमा २/३ महिना छातामर्मत गरेर दैनिक १००० देखि १५०० कमाई हुन्छ। त्यो कमाईले नै परिवार पाल्न सहज भएकाे छ।'

तुलसीपुरको मुख्यचोक भएकाले पनि दैनिक २०/३० जना भन्दा बढीको छाता मर्मत गर्ने गरेको सिद्धीकीले बताए। छाताको अवस्था हेरी २० देखि माथिसम्म ६०/७० रुपैयाँसम्म लिने गरेको उनले बताए। सिद्धीकी भने, 'पहिले घडी मर्मतबाट निकै कमाई हुने गरेता पनि हिजोआज दैनिक २०० देखि ३०० रुपैयाँ मात्र कमाई हुन्छ। हामी जस्ता गरिवले कोठा लिएर व्यापार गर्न सक्दैनौं।' त्यसैले सडक पेटीमा यस्तो काम गरी घरपरिवार पाल्दै आएको बताए। छाताको सिजन पनि वर्षायाममा र गर्मी समयको केही महिना मात्र हुन्छ सधैंभरि नहुने सिद्धीकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.