|

हेटौँडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा शुक्रबार तीन विधेयक पारित भएको छ भने तीनवटा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ।

प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक र मुख्यमन्त्री तथा मन्त्रीको सेवा पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक प्रतिवेदनसहित प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले पेस गरेको मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ। त्यसैगरी मुख्यमन्त्री पौडेलले पेश गरेको प्रदेश प्रशासनिक कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसम्मत पारित भएको छ।

शुक्रबारको बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश संस्था दर्ता सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक र विपद व्यवस्थापन कोषसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए। तीनवटै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ।

प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.