|

पाकिस्तानी पूर्वओपनर नासिर जमसेदलाई स्पट फिक्सिङ मामिलामा दोषी पाइएपछि १० वर्ष प्रतिबन्ध लगाइएको छ। पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले नासिरले घरेलु क्रिकेटका दौरान २०१७ मा स्पट फिक्सिङ गरेको आरोप प्रमाणित भएको भन्दै उनलाई १० वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

२८ वर्षीय नासिर पाकिस्तानको ओपनिङ लाइन अप समाल्दै आएका थिए। उनी करिअरको निकै राम्रो समयमा रहेका थिए। जमसेदले २०१५ मा यूएईविरुद्धको एकदिवसीय विश्वकप खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए। पाकिस्तानी राष्ट्रिय टिममा 'सुन्दर करिअर'कै अवस्थामा दोषी पाइएपछि अब उनी क्रिकेटसँग फेरि जोडिने सम्भावना कमजोर बनेको छ।

जमसेदले ४८ एकदिवसीय अन्तर्राष्ट्रिय तथा दुई टेस्टमा प्रतिस्पर्धा गर्दै आफूलाई बलियो खेलाडीका रूपमा स्थापित गराए पनि गत वर्ष उनीमाथि घरेलु क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो। उक्त आरोपपछि उनले पीसिबीलाई आवश्यक सहयोग नगरेको भन्दै उनी २०१७ मा नै एक वर्षको प्रतिबन्धमा परेका थिए।

'स्पट फिक्सिङ' मामिलामा जमसेद खतरनाक व्यक्ति भएको अनुसन्धानमा संलग्न पीसीबीका पदाधिकारीले बताएका छन्। पीसीबीका कानुनी सल्लाहकार रिज्भीले स्पट फिक्सिङ पाकिस्तानका लागि मात्र नभएर विश्व क्रिकेटकै लागि ठूलो समस्या रहेको बताए। उनले जमसेदबारे भने, ‘उनी स्पट फिक्सिङमा खतरनाक देखिए। त्यसैले उनलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ। अब उनले प्रतिबन्धको समयमा क्रिकेटसम्बन्धी कुनै पनि गतिविधि गर्न पाउनेछैनन्।’

यो प्रकरणमा संलग्न रहेको आरोपमा सर्जिल खान र खालिद लतिफलाई यसअघि नै पाँच वर्ष प्रतिबन्ध लगाइएको छ। साथै, बलर मोहम्मद इरफाननलाई एक वर्ष प्रतिबन्ध लगाउँदा अलराउण्डर मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.