|

कञ्चनपुर  ः राना थारु समुदायका महिलाहरूमा अहिले डोलाको रौनक छ। थारु गाँउमा आषाढको शुक्लपक्षको पूर्णिमाको दिन सार्वजनिक स्थान राखिएको डोला खेल्ने क्रम निरन्तर जारी छ।

यो कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको महत्त्वपूर्ण पर्व हो।याे समुदायले आषाढको शुक्लपक्षको पूर्णिमामा तिज मनाउने भए पनि यसको राैनक महिना दिनसम्म रहन्छ। 

पिङलाई राना थारु भाषामा डोला भनिन्छ। बगैँचामा सामूहिक रूपमा भेला हुने ठाउँमा दाजुभाइले दिदीबहिनीहरूका लागि पिङ राख्ने परम्परागत चलन हो। परम्परागत परिधानमा सजिएका राना थारु चेलीहरू  डोलामा मच्चिएर गीत गाउँदै आनन्द लिन्छन्। दिदी बहिनीहरूले बिस्तारै पिङ खेल्दै मांगलिक गीत गाउँछन्।

यो अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगटलगायत मौलिक परिधान र पैडा, कठुला, हरवा लगायत आभूषण घाँटीदेखि खुट्टासम्म लगाउने गर्छन्।

यहाँकाे तिजकाे विधि बेग्लै किसिमको छ। यहाँ श्रीमतीले श्रीमानका लागि नभई दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरी मनाउँछन्। पानी समेत नपिई निराहार बसी निराहार बसी दिदीबहिनीले दाजुभाइको लामो अायुको कामना गर्छन्। प्रसादका रूपमा परम्परागत सिमही, पपरा, पुरी र गुलगुलाजस्ता मौलिक परिकार बनाउने चलन छ।  

गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ती विसर्जन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताए । विसर्जनका वेला गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धनसम्पत्ति, उन्नति मिलोस्। उनीहरूको अायु नदीको धारजस्तै  लामो होस् भनी वरदान माग्छन् ।

विसर्जन गर्ने वेला गाउँका युवकहरूले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयास गरी मनोरञ्जन लिने गरेका छन्। यसलाई राना थारु भाषामा 'झुडकी छिराउने' भनिन्छ। तिजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्छन्। यसलाई वर्षभरको सुखदु:ख साटासाट गर्ने अवसरका रूपमा लिइन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.