गाईपालनमा युवा आकर्षण बढ्दो

|

धनकुटा : जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ युवाको आकर्षण बढ्दै गएको छ। खासगरी गाउँघर छोडेर अन्यत्र बस्दै आएका युवाको ग्रामीण क्षेत्रमा फर्किएर पशुपालन व्यवसायमा आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका ६ खाल्डेका ३६ वर्षीय तिलकराज कार्की यसको गतिलो उदाहरण हुन्। कार्की सफल व्यवसायीको रुपमा पनि चिनिन्छन्। उनी जिल्लाको अग्रणी गाईपालक कृषकको रुपमा स्थापित बन्दै गएका छन्। कार्कीले दूध बेचेर विदेशमा काम गरेर कमाएको भन्दा बढी कमाईरहका छन्।

जागिर छाडेर विदेश

०५७ सालमा जिल्ला निर्वाचन कार्यालय धनकुटाको कार्यालय सहयोगीको स्थायी जागीर छाडेर ८ वर्ष विदेश बसेका कार्कीले अहिले मासिक एक लाख रुपैयाँ भन्दा बढी घरैमा काम गरेर कमाउछन्।

२०५७ सालमा गरिबीको कारण साहुकोमा जग्गा बन्धकी राख्ने क्रममा १३ लाख ऋणमा फसेपछि वैदेशिक रोजगार अन्तिम विकल्प बनाएका कार्कीले नेपाल फर्किएर थालेको गाई पालनबाटै सबै ऋण तिरेर आम्दानी हात पार्न थालेका हुन्। २०६३ सालपछि १ वर्ष मलेसिया, ५ वर्ष अफगानिस्तान र २ वर्ष इराक बसेर आएपछि उनले सहरमा ठूलो महल बनाउने सपना बुनेनन्।

इराकबाट फर्केर गाईपालन

बरु आफ्नै पुर्ख्यौली थलोमा नै गाईपालन व्यवसाय थालेको उनले बताए। साहुकोमा सबै जग्गा जमिन बन्धकी राखेपछि घरबारविहीन बन्ने अवस्थाको विकल्पको रूपमा वैदेशिक रोजगार गएको कार्कीले बताए। ‘बरु जिउ ज्यानको प्रवाह नगरी जटिल युद्धरत मुलुकमा गएर जोखिम मोलेर केही कमाई गरें’, उनले भने, ‘त्यहीँको कमाईलाई व्यावसायिक गाईपालन गर्दै साहुको ऋणबाट समेत मुक्त बनिसकें।’ अफ्रिकन मुलुक जोहनसवर्ग जान लाग्दा ६ लाख रुपैयाँ दलालले खाई दिएपछि उनी नेपाल फर्किएको बताए।

घरको आर्थिक अवस्था कमजोर भएको कारणले घर खर्च चलाउँदा नै अत्याधिक ऋणको भार बढेपछि विदेशिएका कार्कीले कमाएको २२ लाख खर्चेर कार्कीले हाल आफ्नै गाउँमा गाई फर्म सञ्चालन गरिरहेका छन्। विदेशबाट कमाएर स्वदेश फर्किएर परिवारको १३ लाख ऋण तिरेर गाईपालनमा लागेका कार्की एकजनालाई रोजगार दिएर आफ्नी श्रीमती देवी कार्की र आफू पनि स्वरोजगार भएका छन्।

उनको कमाई इराक र अफगानिस्थानको भन्दा बढी रहेको उनी बताउँछन्। २०७३ सालमा एक लाख ९० हजार लागतमा ३ वटा स्थानीय जर्सी गाईबाट माइदेवी कृषि फर्म सञ्चालन सुरु गरेका कार्कीले हाल लगानी थप गरेर होलिस्टेन जातका ११ वटा गाई पालिरहेका छन्।

उनीले दुई वर्ष अघि थालेको व्यावसायिक गाईपालन व्यवसाय नमुना योग्य सावित भएको छ। कार्कीले हाल दैनिक ७० लिटरसम्म दूध बेचर मासिक एक लाख २६ हजार सम्म कमाउने गरेको बताए। ‘इराक र अफगानिस्थानमा नेटो सेनाको मेसमा काम गर्दा मासिक ९ सय अमेरिकी डलर कमाई हुँदा नेपालका ६०/७० हजार हुन्थ्यो’, उनले भने, ‘अहिले नेपालमा नै चोखो एक लाख कमाई हुन्छ।’ डेरीमा दुध बेच्दा प्रतिलिटर रु ४० मात्र दिने गरेकाले कार्कीले ४० मिनेटको दुरीमा आफैँ दुध बोकेर धनकुटा बजारमा लगेर प्रतिलिटर ६० रुपैंयाँमा बेच्ने गरेका छन्।

‘डेरीको जस्तो फ्याट नझिकी लाने भएकाले दूध मिठो र स्वादिलो हुने भएकाले बजारको माग पुर्‍याउन सकेको छैन’, कार्कीले भने। गाउँमा कुनै कुराको सम्भावना नभएपछि गाउँका काका उद्धव वाग्लेको सल्लाहमा गाईपालनमा लागेको बताउने कार्कीले गाई फर्म विस्तार गर्न १० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती सुरु गरेका छन। उनलाई पत्नि देवीले पनि साथ दिएकी छिन्।

खोले कुँडो, घास तथा गोबर सोर्न देवीले साथ दिएको बताइन्। १ सन्तानका साथमा यी दम्पतीले केहि वर्ष अघिसम्मको कष्टदायी जीवन पछिल्लो समय सुखमय बन्दै गएको दंग पर्दै सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.