|

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान विभेदकारी भए त्यसको संशोधन गरिने बताएका छन्। प्रदेश २ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्ताबेज भएको भन्दै संशोधन गर्न सकिने बताएका हुन्।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘विभेदबाट मुक्त हुन विभेदकारी मानसिकता समाप्त हुनुपर्छ, यदि विभेदकारी संविधान जारी भएको छ भने, त्यसको संशोधन हुन्छ, मैले आफैँ विभेदको विरोध गरे र फेरि आफैँ विभेद बोकेर हिँडदिनँ।’ सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘यो प्रदेशमा मेरो धैरै विरोध हुन्छ, त्यसैले अब यहाँ धेरै विकास हुन्छ, तीन तहको संघीयताको नयाँ अभ्यास भएकोले अलि उकुस–मुकुस भए पनि संघीय सरकार विभेदकारी हैन र हुन पनि सक्दैन।’

प्रधानमन्त्री ओलीले तराई-मधेस अलि सेन्टिमेन्टल भएको बताए। उनले भने, ‘नेपालको हरेक नागरिकको नेपाली नागरिकता पाउँछ, जन्मसिद्ध बुबाआमाको सन्तानले वंशजको आधारमा नागरिकता पाउँछ।, बुवा र आमामध्ये कुनै एक नेपाली नागरिक भए स्वतः नेपाली नागरिकता पाउनेछ।’ राजनीतिक जालझेल गर्ने खेल नभएको बताउँदै यो एउटा विकास गर्ने माध्यम भएको समेत बताए।

प्रधानमन्त्री ओलीले प्रदेश २ का सांसदहरूप्रति लक्षित गर्दै भने, ‘लोकतन्त्र राम्रो हो तर त्यो विधिको शासन कसले स्थापना गर्ने, त्यो कुरा त हाम्रो व्यवहारले स्थापना गर्छ, जनतालाई धोका दिएर, झुक्याएर त्यसको असर सम्पूर्ण प्रणालीमा पर्नेछ।' जनतालाई दिएको विश्वको अभिभारालाई इमान्दारिताका साथ अगाडि बढाउनु नै लोकतन्त्रको श्रृंगार हुने भन्दै जनतालाई कहिल्यै धोकामा नराख्न प्रदेश २ का सांसदहरूलाई उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उखु किसानको सहुलियतका लागि चिनी आयातमा कर वृद्धि गर्ने तथा किसानलाई अनुदान दिने विषयमा सरकार सकारात्मक रहेको बताए। उनले प्रदेश २ मा राजर्षिजनक विश्वविद्यालयको सुदृढीकरण, राजविराजमा गणतन्त्रका योद्धा राजारामप्रसाद सिंहको नाममा मेडिकल कलेज र महोत्तरीमा नर्सिङ कलेजको स्थापना गर्ने घोषणासमेत गरे।

उनले प्रदेश २ मा फुसका घरपरिवारका भएकाहरूका लागि ५० हजार टिन छाना अनुदानमा उपलब्ध गराउने, जानकी मन्दिर वरिपरि भएका ७ पोखरीहरूको सौन्दर्यीकरण तथा फुटपाथ निर्माणमा तीव्रताका साथै जलेश्वरको महादेव मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर, सप्तरीको छिन्नमस्ता लगायतका मन्दिरहरुको जिर्णोद्धार गरिने बताए। उनले 'समृद्ध नेपाल सुखी नेपाल'को नारा अन्तर्गत प्रदेश सरकारलाई भने, ‘विकासको योजना ल्याउनुस् बजेट लैजानुस्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.