|

पोखरा : माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहका संगठनको एकताको प्रक्रिया भदौ पहिलो हप्ता टुंग्याउने तयारी थालेको छ। अन्य प्रदेश र जिल्लाहरू जस्तै गण्डकी प्रदेशमा पनि नेकपाको एकता प्रक्रियाको थालनी गरिएको छ। जिल्ला तहमा सकेसम्म सहमतिमै एकताको प्रक्रिया थालनी भए पनि गण्डकी प्रदेशका प्राय सबै जिल्लाले सहमति जुटाउन नसकेर प्रदेशस्तरीय कार्यदलमा अध्यक्ष र सचिवका आकांक्षीहरूको नाम सिफारिस गरेको छ। 

कसले सम्हाल्छ प्रदेशको नेतृत्व?

फरक-फरक राजनीतिक पृष्ठभूमिका दुई पार्टीको एकता टुंगिएपछि अन्य प्रदेशजस्तै गण्डकी प्रदेशमा पनि नेकपाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय पेचिलो बन्दै गएको छ। गण्डकी प्रदेशमा अहिले पूर्व माओवादी र पूर्व एमालेका केही नेताहरू आफूले नै नेतृत्व गर्न पाउनुपर्ने दाबीका साथ प्रदेश अध्यक्ष पदको दाबी गरिरहेका छन्। प्रदेशको नेतृत्वमा माओवादी केन्द्रतर्फका नेता हितराज पाण्डेको नाम बढी चर्चामा छ।

त्यस्तै एमालेका नेता तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको पनि उत्तिकै चर्चा छ। त्यस्तै माओवादीका नेता हरिराज अधिकारी लगायत एमालेका केही नेताहरूले पनि प्रदेशको नेतृत्व गर्न इच्छा देखाएका छन्। नेकपा स्रोतका अनुसार माओवादी केन्द्रतर्फका नेता हितराज पाण्डे बलियो उम्मेद्वार हुन्। जिल्ला इन्चार्जहरू भने केन्द्रीय कार्य समितिले तोक्नेछ। 

गोरखामा माओवादीलाई इन्चार्ज र अध्यक्ष

गोरखामा गणितीय हिसावमा पनि माओवादीभन्दा कमजोर रहेको एमालेले जिल्ला कमिटीमा सचिव पद पाउने नेकपा स्रोतले जनाएको छ। जिल्ला इन्चार्जमा माओवादीका नेता कृष्ण धिताल हुने पक्का भइसकेको नेता चुडामणि खड्काले बताए। अध्यक्षका लागि भने माओवादीभित्रै रस्साकस्सी चलेको छ।

अध्यक्षका लागि लोकप्रसाद बञ्जरा र जघन्नाथ खनालको नाम चर्चामा छ। माओवादीका नेता चुडामणि खड्का र एमालेका नेता रामशरण बस्नेत पक्षको समर्थन बञ्जरालाई रहेको कारणले उनी नै जिल्ला अध्यक्ष हुने नेकपाका जिल्ला नेताहरू बताउँछन्। यता सचिवमा भने एमालेका यादव बस्नेत, सम्झना देवकोटा, हालका अध्यक्ष प्रेम गुरुङले इच्छा देखाएको बुझिएको छ। गोरखामा जिल्ला कमिटिका सदस्यहरूको नाम टुंग्याइ सकिएको नेता खड्काले जनाए।

कास्कीमा दुवैको दाबी 

यता कास्कीमा दुबै पार्टीले आफूले पाउनुपर्ने अडान गरिरहेका छन्। एमालेले पोखरा महानगर र जिल्लाको नेतृत्व आफूले नै पाउनुपर्ने दाबी गरिरहेको छ भने माओवादीले महानगर र जिल्लाको नेतृत्वमा फरक फरक पार्टीबाट हुनुपर्ने बताउँदै आएको छ। कास्कीमा दुई पार्टीले एमालेलाई ५७ प्रतिशत र माओवादी केन्द्रलाई ४३ प्रतिशतको दरले जिल्ला कमिटीका पदाधिकारीहरू चयन गर्ने सहमति भएको एमालेका नेता कृष्ण थापाले जानकारी दिए। कास्कीमा सहमति हुन नसके पनि जिल्ला स्तरकै एक कार्यदल बनाएर सहमतिको प्रयास खोजिएको छ। कास्कीको नेतृत्वको लागि एमालेबाट कृष्ण थापा र माओवादीको तर्फबाट बखानसिंह तमुको नाम बढी चर्चामा छ।   

मनाङमा अध्यक्षको दाबी गर्नेलाई सचिव बनाइने 

मनाङमा अहिले सम्म पदाधिकारीहरुको समेत नाम टुंगो लाग्न सकेको छैन। यहाँ अध्यक्षको लागि दुबै पार्टीका एकेक जनाले दाबी गरेका छन्। एमालेका ट्रिपल गुरुङ र माओवादीका कपिल गुरुङ मध्ये एक जनालाई अध्यक्ष र एक जनालाई सचिब बनाउने तयारी रहेको नेकपा स्रोतले जनाएको छ। 

लमजुङमा पनि सकस 

लमजुङमा पनि नेतृत्व कस्लाई दिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। माओवादी केन्द्र भन्दा एमाले बलियो देखिएको लमजुङमा अध्यक्ष एमालेले राख्ने तयारी गरेको छ। यद्यपि एमालेका कृष्णप्रसाद अधिकारी र माओवादीबाट पारसमणि पौडेल अध्यक्षका लागि रस्साकस्सी चलेको एमालेका नेता मायानाथ अधिकारीले जानकारी दिए। सचिवमा एमालेका नेता राजकुमार विष्ट र सुवास पौडेल छन् भने माओवादीका लालबहादुर गुरुङ र सुनील सुनारको नाम रहेको छ। सहमति हुन नसकेपनि उनीहरू सबैको नाम प्रदेशस्तरीय कार्य दलमा सिफारिस गरिएको अधिकारीले जनाए। 

स्याङ्जामा झनै कठिन

दुई पार्टी मिलिसके पछि स्याङ्जामा १४० सदस्यीय जिल्ला कमिटी हुने पक्का भइसकेको छ। तर जिल्लाको नेतृत्व कस्ले गर्ने भन्नेमा रस्साकस्सी नै चलेको देखिन्छ। अध्यक्ष पदका लागि यहाँ माओवादी केन्द्रका तीन जना र एमालेबाट दुई जना नेताहरूको नाम प्रदेश कार्य दलमा गइसकेको छ। एमालेका दुई नेता उदय श्रेष्ठ र कृष्ण खाँडको नाम प्रदेशमा सिफारिस भएको छ भने माओवादीको तर्फबाट शैलेन्द्र घिमिरे, शोभाखर भण्डारी र तारा भुसालको नाम सिफारिस भएको नेकपाले जनायो। त्यस्तै सचिवमा एमालेबाट राजेन्द्र डुम्रे र माओवादीका सूर्यप्रसाद गैरे र प्रकाश न्यौपानेको नाम सिफारिस भएको छ। नेकपाको स्रोतका अनुसार यहाँ एमालेका नेता सचिब हुने सहमति हुन लागेको छ। 

पर्वतमा अध्यक्ष र सचिव हुन्छु भन्नेको भीड

अन्य जिल्ला जस्तै पर्वतमा पनि नेकपाको जिल्ला नेतृत्व चयन सकसपूर्ण नै छ। यहाँ अध्यक्ष र सचिव हुन्छु भन्नेको भीड नै लागेको छ। अध्यक्ष र सचिव बन्न यहाँका आठ/आठ जनाले इच्छा देखाएका छन्। जिल्लामै सहमति हुन नसके पनि उनीहरू सबैको नाम प्रदेश कार्य दलमा सिफारिस गरिएको छ। 

बागलुङमा अध्यक्ष र सचिवमा दुई/दुई जनाको नाम सिफारिस

बागलुङबाट भने अध्यक्ष र सचिव पदका लागि दुई/दुई जना नेताको नाम सिफारिस गरिएको नेता इन्द्रलाल सापकोटाले टेलिफोनमा जानकारी दिए। एमालेबाट कृष्ण पाठक र माओवादीबाट ज्ञामनाथ गैरे र सचिवमा एमालेबाट लालबहादुर थापा र माओवादीबाट राजीव घिमिरेको नाम प्रदेश कार्यदलमा पठाइएको छ।

म्याग्दीमा अध्यक्ष बन्छु भन्नेलाई सचिव बनाइने  

म्याग्दीमा पनि जिल्ला कार्य समितिका सदस्यहरूको नाम टुंगो लागे पनि अध्यक्ष, सचिवको टुंगो लाग्न सकेको छैन। म्याग्दीबाट अध्यक्षका आकांक्षीहरूको मात्रै नाम प्रदेश कार्यदलमा पठाइको छ भने सचिव पदमा कसैको नाम पठाइएको छैन। अध्यक्षमा एमालेबाट हरिकृष्ण श्रेष्ठ र माओवादीबाट गोविन्द पौडेलको नाम सिफारिस भएको छ। सचिवमा भने अध्यक्ष बन्न दौड धुप गरिरहेका मध्ये एकलाई नै चयन गर्ने नेकपाको तयारी छ। 

मुस्ताङमा अध्यक्ष एमालेलाई सचिव माओवादीलाई

मुस्ताङमा अध्यक्षमा एक जनाको मात्र नाम सिफारिस भएको छ। एमालेका नेता रमेश भट्टचनको नाम सिफारिस भएपछि उनी नै अध्यक्ष बन्ने पक्का भएको हो। दुई पार्टीबीच सहमतिमै अध्यक्षमा उनको मात्र नाम सिफारिस भएको छ। सचिव आफ्नो भागमा पारेको माओवादीले नाम टुंग्याउन सकेको छैन। सचिवका लागि छ जनाले इच्छा देखाएपछि उनीहरू सबैको नाम प्रदेश कार्यदलमा आइपुगेको छ। 

नवलपुरमा तीन/तीन जना आकांक्षी 

जिल्ला कार्यसमितिको सदस्यहरूको नामावली टुंग्याइसकेको नवलपुरले अध्यक्ष र सचिव पदका लागि नाम छनोट गर्न सकेन।अध्यक्ष र सचिव पदका लागि तीन/तीन जना नेता आकांक्षी छन्। अध्यक्षका लागि एमालेका दीपक अधिकारी, जीवन श्रेष्ठ र शालिकराम भट्टराईको नाम सिफारिस भएको छ भने माओवादीबाट बालकृष्ण रानाभाट,धनप्रसाद सापकोटा र मित्रशरण शर्माको नाम सिफारिस भएको छ। सचिवमा माओवादीबाट दुईजना र एमालेबाट चार जनाको नाम सिफारिस भएको छ। 

तनहुँमा अध्यक्ष एमालेको भागमा

नेकपा स्रोतका अनुसार तनहुँमा अध्यक्ष एमालेको भागमा परेको छ भने सचिव माओवादीले पाउनेछ। सोही सहमति अनुसार अध्यक्षमा एमालेका नेताहरूले र सचिवमा माओवादीका नेताहरूले मात्र दाबी गरेका छन्। अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, सचिव भगवति न्यौपाने र उपसचिव विष्णुभक्त सिग्देलले अध्यक्षमा इच्छा देखाएका छन्। त्यस्तै सचिवमा मदन आले, अतिन्द्रकेशरी न्यौपाने, ओमकुमारी पौडेल र हेमराज लामिछानेको नाम चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.