|

दाङ : जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवा सुरू गरेको छ। जिल्लाका सेवाग्राहीकाे मागलाई मध्यनजर गरी शनिबार पनि सेवा सुरू गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

‘आज शनिबारदेखि सेवा प्रवाह सुरू गरेका छौं। हरेक शनिबार बिहान ११ वजेदेखि दिउँसो २ वजेसम्म हामीले सेवा प्रवाह गर्ने छौं’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘नागरिकलाई सेवा प्रदान गर्नु हाम्रो दायित्व हो। यसलाई मध्यनजर गरी अन्य बार फुर्सद नहुने नागरिकका लागि शनिबार पनि सेवा दिन सुरू गरेका हौं।’ जिल्ला प्रशासन कार्यालयबाट दाङमा शनिबार पनि सरकारी कार्यालय खोल्ने नयाँ अभ्यास सुरू भएको प्रजिअ श्रेष्ठले बताए।

व्यस्त नागरिकका लागि मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको उनले बताए। ‘अहिले धेरै मानिस अन्य बारमा व्यस्त हुनुहुन्छ’, प्रजिअ श्रेष्ठले भने, ‘उहाँहरूलाई सेवा दिनका लागि शनिबार पनि कार्यालय खुल्ला गरेका हौं।’ धेरै कर्मचारी, विद्यार्थी लगायत अन्य बारमा व्यस्त हुने नागरिकको सेवाका लागि शनिबार पनि सेवा दिन सुरू गरिएको भन्दै यसलाई दुई महिनासम्म परीक्षणका रुपमा लिइने पनि उनले जानकारी दिए।

शनिबार सेवा लिनेको संख्या उल्लेख्य भएमा सेवालाई निरन्तरता दिने उनकाे भनाइ छ। ‘दुई महिनासम्म परीक्षण कालका रुपमा लिन्छौं’ प्रजिअ श्रेष्ठले भने,‘यदि दुई महिनासम्म सेवाग्राहीको संख्या उल्लेख्य भएमा सेवाले निरन्तरता पाउँछ। अन्यथा बन्द हुन्छ।’ यसले अन्य बारहरूमा हुने सेवाग्राहीको चाप पनि कमी हुने उनले बताए। 'अव सेवाग्राहीलाई सहज हुन्छ। विगतमा घण्टौं लाइन लाग्नुपर्ने थियो’ उनले भने, ‘यसले थप सहजता ल्याउने अपेक्षा छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.