|

दैलेख : गत वर्षको वर्षातसँगै आएको पहिरोले सिन्की गाजुलका तीनजना परिवारका सदस्यले ज्यान गुमाए। यो वर्ष पनि त्यही घर पुनः जोखिममा छ। बाँचेका परिवार विगत एक महिनादेखि आफन्तको घरमा शरण लिन पुगेका छन्।

सानो टहरा र टिनको छाना राखेर निर्माण गरिएका एकतले बस्तीमा वादी समुदायका ५५ घर छन्। जग्गा नै भिरालो भएका कारण हरेक वर्ष बस्ती पहिरोको जोखिममा पर्ने गरेको छ। नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन्। लगातारको वर्षातले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको हो।

वर्षापछि आएको पहिरो कारण समुदायका सबै चिन्तित भएको पवा वादीले बताइन्। उनका अनुसार पहिरो जोखिम बढेसँगै १५ भन्दा बढी परिवारले घर खाली गरेर अन्यत्र गरेका छन्।

विगत तीन वर्षदेखि हरेक वर्षातमा पहिरोको चपेटामा पर्दै आएको यो समुदायको लागि अझै दिगो व्यवस्थापन हुन सकेको छैन्। जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। वर्षातका बेला पाल प्रदान गर्दै आएका छौँ। पालले मात्र समस्या समाधान नहुने भएकोले जग्गा भएका र स्थायी रूपमा पूर्जा पाएकाहरूलाई आ-आफ्नो स्थानमा स्थान्तरण गराउने र बाँकी पूर्जाविहीनहरूलाई उचित वासस्थानको व्यवस्थापनको तयारीमा नारायण नगरपालिका रहेको वडा अध्यक्ष श्रेष्ठले बताए।

विभिन्न ठाउँमा पहिरो

वर्षातले दैलेख सदरमुकामको गणेशचौकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ। घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाहरूको पहलमा उद्धार गरिएको छ भने पसलमा करिव पाँच लाख बराबरको क्षति भएको बताइएको छ।

नारायण नगरपाकिला १ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ। घरभित्रका सबै सामानहरु पुरिएका छन्। घरमा कोही व्यक्ति नभएकोले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

लगातारको वर्षातसँगै दैलेखका विभिन्न स्थानहरूमा पहिरो खसेपछि यातायातका साधानहरू समेत अवरुद्ध भएका छन्। कर्णाली राजमार्गका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण घण्टौँसम्म सडक अवरुद्ध हुँदै/खुल्दै गरेका छन्।

दैलेख सदरमुकाम हुँदै महावु जाने सडक, दैलेख सदरमुकाम हुँदै भगवतीमाई गाउँपालिका जाने मध्यपहाडी राजमार्ग अन्तर्गतको सडक र दैलेख सदरमुकाम हुँदै नौमूले जाने सडकसमेत अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.