|

भक्तपुर : बुद्धमार्गीको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ। नेपाल संवत्‌को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व समय र आर्थिक अभावका कारण लोपोन्मुख अवस्थामा पुगेको हो। 

विशेषगरी मानन्धर समुदायले मनाउँदै आएको यो पर्व पछिल्लो समय व्यस्तता र आर्थिक अभावकै कारण ओझेलमा पर्न गएको मानन्धर समुदायका जानकार बताउँछन्। यो संस्कृतिको जगेर्नाका लागि १४ वर्षपछि भक्तपुर क्वने (तल्लो) टोलका मानन्धर समुदायले विभिन्न समस्याबीच यस वर्ष क्वनेको पुलाँसमा गुँलाँधलँको आयोजना गरेको नौबाजा नाइके लक्ष्मीप्रसाद मानन्धरले जानकारी दिए। सारा पृथ्वीवासीको हित र सुख शान्तिका साथै दैवी प्रकोप हुन नदिन र अन्नबाली वृद्धि गर्न यो धलँ राख्नुपर्ने स्वयम्भू पुराणमा उल्लेख रहेको बौद्ध पुरोहित पदमचन्द्र बज्राचार्यले बताए। ‘यो धलँ वर्ष दिनको यस्तो अवस्थामा राखिन्छ, जुन समय प्रलय आउने, शारीरिक रूपमा अशक्त हुने गर्छन्’, उनले भने। यो धलँ गुँला पर्वको अवसरमा मनाइने भएकाले यसलाई गुँलाधलँ भनिएको हो।

यस पर्वको अवसरमा बौद्धहरू मौलिक बाजा बजाएर पृथक रूपमा बुद्धको उपासना गर्छन्। यो अवधिमा नौबाजा, धाःबाजा, नेकू, न्याकुँ र म्वायेलीलगायतका बाजा बजाउँदै विभिन्न बौद्ध विहार,चैत्य तथा चोकचोकको परिक्रमा गर्ने परम्परा छ। गुँला पर्वको अवसरमा बौद्धहरू विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरूको समेत परिक्रमा गर्ने गर्छन्। गुँला पर्वको अर्को विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ, जुन बाजा मानन्धर समुदायले मात्र बजाउँछन्।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरूको परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ। बौद्ध धर्मालम्बी बाहेक अन्य समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन्।मानन्धर समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुँलाधलँसम्बन्धी १०१ वर्ष पुरानो इतिहास मात्र फेला परेको यसका पुरोहितले बताए। धलँलाई मानन्धर समुदायले ङक धलँ भन्ने गर्छन् भने बज्राचार्य र शाक्यहरूले न्यकु धलँ भन्ने गर्छन्। गुँलाथ्व पारुदेखि ञलाथ्व पारुको प्रत्येक बुधबार र अष्टमीका दिन यो धलँ बस्ने गर्छ। धलँ राख्न गुँलाथ्व पारुको अघिल्लो दिन मध्यरातमा चैत्य बनाउन कालो माटो लिन गुरुजु, पुरोहितले विधिवत रूपमा पूजा गरी मुकजी (मुख्य नाइके), द्‍योभारी (देवता बोक्ने मानिसहरू) गई पञ्चरंगी धागोले माटो लिने ठाउँमा घेरा हाली फर्कन्छन्।

गुँलाथ्व पारुको मध्यरातमा चार दिशाका धार्मिक तीर्थस्थलहरू क्रमशः पूर्वमा कमलपोखरी, पश्चिममा सिद्धपोखरी, उत्तरमा कासाँ खोला र दक्षिणमा हनुमान घाटको त्रिवेणीबाट जल ल्याइन्छ। जल लिन द्‌योभारीहरू मात्र जाने गर्छन्। जल हनुमानघाटबाट दुई कलश र अरू स्थलहरूबाट एक/एक कलश गरी जम्मा पाँच कलश ल्याई याँची (सुरुदेखि अन्तिम दिनसम्म तिलको तेल राखी महिना दिनसम्म बत्ती बाल्ने) कोठामा विधिवत रूपमा पूजा गरी कलश स्थापना गरिन्छ। पछि सबै जना माटो लिन जान्छन्। माटो लिन जाँदा मुकजीले सुन र चाँदीको कोदालोले माटो निकालेपछि मात्र अन्यले खेतमा काम गर्ने कोदालोले माटो निकाली खर्पन, दालो र बाटाहरूमा राखी ल्याउने चलन छ। त्यो सकेपछि याँची कोठामा गुरुजुले मुकजी, द्‌योभारी र प्रत्येक मानन्धर समुदायबाट एक/एक जना कजी नाइकेलाई सहभागी गराई पूजा गराइन्छ। उक्त कोठाको रेखदेखका लागि दुई जना महिलालाई जिम्मा लगाइन्छ, जसलाई याँची बस्ने भनिन्छ।

याँची कोठाको पूजा सम्पन्न भएपछि मुकजी, द्‌योभारी र याँची बस्ने महिलाले नुन नखाई दिनको एक छाक मात्र खाने पुरोहित सूर्य ज्योति बज्राचार्यले जानकारी दिए।धलँको पहिलो दिन धलँ सुरु गर्दा प्रत्येक ब्रतालु महिलाले पीपलको पातमा पाँच/पाँचवटा कालो माटोले बनेको आँखे (चामल) राखी लक्ष्यसहितको चैत्य बनाउँछन् र पूजा विधि सुरु गर्छन्। त्यसपछि प्रत्येक साता बुधबार, अष्टमी र अन्तिम दिनमा धलँ राखिन्छ। धलँ बस्ने दिनमा महिलाले पनि नुन नखाई एक छाक मात्र खाने गर्छन्। 
गुलाँको अवधिभर मानन्धर समुदायले नृत्यनाथलाई पूजा गरी नौबाजा बजाएर प्रत्येक बहाल र चैत्य भएका ठाउँमा परिक्रमा गर्न जान्छन् भने शनिबार विभिन्न शक्ति पीठहरूमा गई बाजा बजाई नगर परिक्रमा गर्छन्।

नौबाजा दोस्रो दिनदेखि धलँ घरबाट सुरु गरी नगर परिक्रमा गरिन्छ र त्यहीँ बिर्सजन गरिन्छ। धलँको अवधिभर सवा लाख चैत्य निर्माण गर्नुपर्ने भएकाले प्रत्येक दिन ब्रतालु महिलाहरू चोखो लुगा लगाई चैत्य बनाउन लाग्छन्। अष्टमीको एक दिन सबैका लागि खुला गरिन्छ। लक्ष्यसहितको चैत्य बनाउनाले रोगव्याधीबाट मुक्त हुने, दिवंगतको चीरशान्ति हुने, देशमा शान्ति छाउने जनविश्वास रहेको गुरुजु निमकरत्न बज्राचार्यले बताए। महिना दिनमा बनाएको सवा लाख चैत्यलाई अन्तिम दिन ञलाथ्व पारुको दिनमा यज्ञ बनाई होम गरी चार दिनसम्म बालेर राखिन्छ। चौथो दिनमा हनुमान घाटको त्रिवेणी तीर्थस्थलमा ब्रतालु महिलाले बनाएको चैत्य न्याकुबाजासहित धलँ घरबाट लागि बिर्सजन गरिन्छ। 

गुँलाधलँकै अवसरमा गाईजात्राको दिन ब्रत बसिसकेपछि नौबाजासहित ब्रतालु महिलाहरू रथमा बुद्धको प्रतिमा राखी नगर परिक्रमा गर्न निस्कन्छन्। नगर परिक्रमा गर्दा रथ द्‌योभारीबाहेक अरूले बोक्न हुँदैन। यो धलँको समयमा गाईजात्रापछि विशेष दिन पारेर चार तीर्थमा पुगेर पूजा गर्ने परम्परा रहिआएको छ। काभ्रेको नमोबुद्ध, साँखुको बज्रयोगिनीस्थित जोगेश्वर चैत्य, बौद्धनाथ, स्वयम्भू, चोभारको आदिनाथ करुणामय, बुङ्मतिको करुणामयको साथै चाँगुनारायणको हरिहरवाहन लोकेश्वर, नील बाराहीमा समेत पूजा गरिन्छ। धलँ प (पूजा) थाप्न जाने भनी भक्तपुरका तापालाछी, साःकोलान, गोल्मढीका साथै आमन्त्रित गरिएका सबै ठाउँमा बाजा बजाएर जाने गरिन्छ, जहाँ गुरुजुबाट विधिवत रूपमा पूजा सम्पन्न गरिन्छ।

गुँला पर्वकै अवसरमा आैँशीका दिन ब्रत बसी महिलाहरू पूजा पाठ सकेर नगरका सबै चैत्य भएका बहाः, बौद्ध मन्दिरहरूमा चिवाः पूजा गर्न जान्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.