|

काठमाडौं : मेलम्ची खानेपानी आउनुअघि नै काठमाडौंवासीले दैनिक थप तीन करोड लिटर पानी पाउने भएका छन्। खानेपानीमन्त्री बीना मगरको निर्देशनमा आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा प्रशोधन प्लान्ट स्थापित गरी वागमतीको पानी काठमाडौं ल्याउने भएको हो।

शनिबार एक औपचारिक कार्यक्रमकाबीच सभामुख कृष्णबहादुर महराले महाकालस्थित थोक वितरण केन्द्रमा चाबी घुमाएर राजधानीमा थप पानी वितरणको शुभारम्भ गरे। योसँगै अब उपत्यकाको महाकाल थोक वितरण केन्द्रबाट जोरपाटी हुँदै बागबजारसम्मका धाराहरुमा पानी वितरण नियमित हुने छ।

यो थप पानीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट जडान भएका दुई लाख १६ हजार धाराहरूमध्ये करिब ७० हजार धारामा थप पानीको आपूर्ति हुने छ। यो पानी हप्तामा पाँच दिन दैनिक दुई घण्टाको दरले राजधानीवासीले पाउने निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार यो पानीबाट महाकालस्थित पानी पोखरीको सेवा क्षेत्र कपन, सरस्वतीनगर, बौद्ध, जोरपाटी, चाबाहिल, हाँडिगाउँ, ज्ञानेस्वर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, महाइतीघर, त्रिपुरेश्वर र नयाँ सडक क्षेत्रका ८ लाख ४० हजार जनता प्रत्यक्षरूपमा लाभान्वित हुने छन्।

अपरान्ह सुन्दरीजल पुगेको सभामुख महरा र खानेपानी मन्त्री बीनाले मेलम्ची सुरुङ र प्लान्टको निरीक्षण गरेका थिए। आयोजना कार्यान्वयन निर्देशनालायका कर्मचारीहरूले पानी प्रशोधन प्रणालीका बारेमा सभामुख र मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै सभामुख महराले खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई समयमा नै सम्पन्न गर्नका लागि आफू मातहतका निकायहरूलाई निरन्तर निर्देशित र प्रेरित गर्दै आएकोमा त्यसको प्रशंसा गर्दै धन्यवाद दिएका थिए।

'मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीहरूलाई तत्काल राहत दिने उद्देश्यले वाग्मतीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पूर्ण प्रशोधन गरेर प्रतिदिन थप तीन करोड लिटर प्रशोधित पानी घरघरमा पुर्‍याउने कार्यको विधिवत् शुभारंभ गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ' महराले भने, 'यो उपलब्धी प्राप्तिको लागि खानेपानी मन्त्रीज्यू, मन्त्रालयका पदाधिकारीहरू र मन्त्रालय मातहतका निकायहरूका पदाधिकारीहरूले गर्नुभएको अथक प्रयास र जनताको निरन्तर खबरदारी सार्थक भएको छ। मलाइ आशा छ, दसैंअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाका घरघरमा पुर्‍याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ।'

सो कार्यक्रममा बोल्दै मन्त्री मगरले उपत्यकावासीको पानीको सपनामा एक चरण उपलब्धी प्राप्त गरेको बताइन्। उनले सुन्दरीजलको प्रशोधित पानी राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन वितरण गरिने बताइन्। उनले हप्तामा अझै बढी पानी थप्न सकिने सम्भावाना हेर्न समेत मताहतका निकायलाइइ निर्देशन दिइन्।

खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने कार्य करीब अन्तिम चरणमा पुगे जानकारी दिइन्। जनताको आधारभूत अधिकारको रूपमा रहेको खानेपानीमा पहूँचको विषयलाई मन्त्रालय र आफूले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री मगरले अबको केही समयपछि मेलम्चीको पानीसमेत यसै प्रणालीमार्फत भित्रिने जानकारी दिइन्।

मन्त्री मगरले विश्व बजारको सम्भावनालाई समेत हेरेर हिमालको पानी बिक्री गरि राजस्वमा योगदान पुर्‍याउने समेत लक्ष्य भएको बताइन्। 'अहिले मन्त्रालय मातहतका निकायले यसबारेमा अध्ययन गरिरहेका छन्' मन्त्री मगरले भनिन, ‘जलश्रोतको धनी देश नेपालले जलश्रोतको व्यापारबाट जनताका आधारभूत आवश्यकता पूरा गर्न उल्लेख्य श्रोत जुटाउने सम्भावना प्रचुर छ। यसलाई सकारात्मकरूपमा हेरिनुपर्दछ।'

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीले आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए। निर्देशनालयले थोक वितरण प्रणाली अन्तर्गतको ११.०५ किमी लामो सुन्दरीजल–धोबीखोला (धोबीखोला पुल) खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न गरिसकेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.