|

दार्चुला : उच्च तटबन्ध निर्माणपश्चात पनि दार्चुला सदरमुकाम खलंगालाई समस्या पार्ने गरी महाकाली पारी भारतको खोतिलमा गएको पहिरोको विज्ञहरूले स्थलगत अध्ययन गरेका छन्। सिमावर्ती धारचुलाको उत्तरतिर पर्ने खोतिला पहिरोको व्यवस्थापनबारे दिल्ली, देहरादुन र पिथौरागढबाट आएको टोली र नेपाली इन्जिनियरहरूको टोलीले पहिराेको स्थलगत अध्ययन गरेको हो।

पहिरोको अध्ययनका लागि भारतीय टाेली उत्तराखण्ड सरकार आपदा प्रबन्धन केन्द्रका निर्देशक डाक्टर पियुष रौतेला, उपसचिव राजेन्द्रसिह पतियाल, भूगर्भ विज्ञ राजुकुमार लगायतका अधिकारी पहिरोस्थल खोतिला पुगेका थियाे। त्नेयसैगरी नेपालको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, महाकाली नदी नियन्त्रणका सिनियर डिभिजनल इन्जिनियर नारायणकाजी श्रेष्ठ, इन्जिनियर मुकेश पाठक, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी स्थलगत अध्ययन टाेली पहिरो क्षेत्र पुगेकाे थियाे। 

एक महिनाअघि सम्पन्न नेपाल -भारत सीमा समन्वय बैठकमा खोतिला पहिरो व्यवस्थापनका लागि विज्ञ टोेलीबाट अध्ययन गराउने सहमति भएअनुसार शुक्रवार स्थलगत भ्रमण गरिएको हो। खलंगाको बंगाबगरको पारी खोतिलामा दुई वर्षअघि सुख्खा पहिरो गएको थियो। पहिरोले महाकाली नदीको वहाव नै परिवर्तन गरेको छ भने नेपालतर्फ निर्माणाधीन तटबन्धको संरचनामा समेत क्षति पुर्‍याएको छ। भारतीय पक्षले आफ्नो भूमिका गएको पहिरोको व्यवस्थापन गर्नुपर्ने नेपाली पक्षको माग छ। महाकाली किनारमा गएको खोतिला पहिरोले नदी थुनिने खतरा समेत रहेको छ।

निर्माण भइरहेको तटबन्धको संरचना पहिरोका कारण महाकालीको वहाव परिवर्तन भएर क्षतिग्रस्त बनाएको छ। उक्त स्थानमा महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको नयाँ संरचना निर्माण गरिरहेको छ। नेपाल र भारत दुबैतर्फको स्थलगत भ्रमणपछि धारचुलास्थित एसडिएम कार्यालयमा दुबै देशका प्रतिनिधिबीच पहिरो व्यवस्थापनको उपायबारे छलफल समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। 

भारतीय भूमिमा आएको खोतिला पहिरोले महाकाली नदीको वहाव नेपालतर्फ परिवर्तन गरेको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर मुकेश पाठकले बताए। पहिरो जानुअघिको भन्दा डेढ सय मिटर नेपालतर्फ नदीको वहाव परिवर्तन भएको उनको भनाई छ।

भारतीय पक्षको लिखित प्रतिवेदन

भारतीय विज्ञहरुको टोलीले शुक्रवार साँझ नेपाली पक्षलाई पहिरो व्यवस्थापनबारे आफ्नो लिखित प्रतिवेदन दिएको छ। बिहानदेखि दिउँसोसम्मको स्थलगत भ्रमण र छलफलपछि भारतीय टोलीले नेपाली पक्षलाई लिखित प्रतिवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। शुक्रवार साँझ मात्रै प्रतिवेदन प्राप्त भएको र अध्ययन विश्लेषण गरी आवश्यक निर्णय लिइने उनको भनाई छ। शुक्रवार दिउँसोको छलफलमा नेपाली पक्षलाई साँझसम्म आफूहरूले लिखित प्रतिवेदन दिने बताएका थिए। 

महाकाली नदी नियन्त्रण आयोजनाले पहिरो व्यवस्थापनबारे भारतीय पक्षबाट प्राप्त प्रतिवेदनको अध्ययन गर्नेछ। अध्ययनपछि उचित बिकल्पसहित नेपाली पक्षले आफ्नो प्रतिक्रिया भारतीय पक्षलाई दिने सहायक प्रजिअ जोशीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.