|

काठमाडौं : नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो। पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर घट्दै गए पनि आव २०७४\०७५ मा अघिल्लो आवको तुलनामा केही सुधार आएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा लेखिएको छ, राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आव २०७३\०७४ मा ४.५१ प्रतिशतले बढेको रेमिटेन्स गत आवमा सुधार भएर ५.०३ प्रतिशत बढेको जानकारी दिए।

आवमा २०७२\७३ मा ७.७७ प्रतिशत रेमिटेन्स बढेको थियो। खासगरी भूकम्पयता बाहिर रोजगारीमा जाने कामदारको संख्या घट्दा रेमिटेन्स वृद्धिदर घटेको हो। देशमा लामो समय पश्चात स्थायी सरकार बनेको र देशभित्रै रोजगारीका अवसरहरू खोजिदै छन्। यसले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटाएको छ।

नेपालका आधाभन्दा बढी घरधुरीको प्रमुख आय स्रोत रेमिटेन्स हो। पछिल्ला पाँच वर्ष हरेक रेमिटेन्स आप्रवाह निरन्तर बढे पनि वृद्धिदर घटेको छ। रेमिटेन्सले नेपालीको जीवनस्तरमा सुधार आउनुका साथै गरिबी न्यूनीकरणमा टेवा पुगेकोे छ।

विशेषगरी नेपालबाट मेलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलकमा कामदार जाने गरेका छन्। मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन्। गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन्।

राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार गत आवमा मेलेसियामा एक लाख चार हजारभन्दा बढी कामदार गएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.