|

पर्सा त्रिवर्षीय तथ्यांकका आधारमा जिल्लामा हरेक वर्ष अवैध लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता र पक्राउ परेका मानिसको संख्या बढ्ने क्रममा देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको आर्थिक वर्ष ०७२⁄०७३, ०७३⁄०७४ र गएको आर्थिक वर्ष ०७४⁄०७५ को तथ्यांकबाट मुद्दा दर्ता हुने र मानिस पक्राउ पर्ने क्रम  बढिरहेको देखिएको हो। 

अवैध लागुऔषध ओसार पसार र प्रयोगमा जति कडाइ गरिए पनि त्यसको प्रयोग र ओसार पसार गर्नेको संख्या भने प्रत्येक वर्ष बढ्दै जानु झन चिन्ताको विषय बनेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। पर्सा प्रहरीको तथ्यांकले ओसार पसार र प्रयोग गर्नेको संख्या पर्सामा भने घट्ने क्रममा नरहेको उनले जानकारी दिए। 

पर्सा जिल्लामा गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष ०७३⁄०७४ भन्दा लागु औषधका मुद्दा दर्तामात्र २२.४१ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ। यो भनेको अघिल्लो आर्थिक वर्ष ०७३⁄०७४ मा दर्ता भएका लागु औषधका मुद्दा ११६ भन्दा २६ ले बढी हो। गएको आर्थिक वर्ष ०७४⁄०७५ मा मात्र जिल्ला प्रहरी कार्यालय पर्सामा १४२ वटा अवैध लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन्। 

'सुरक्षाकर्मीको तथ्या‌ंकमा उल्लेख हुन आइपुगेका लागु औषधका मुद्दा अघिल्लो वर्षभन्दा बढ्नुले कारोबारी र प्रयोगकर्ता घटेको नभई अझ बढेको संकेत गर्छ', उनले भने, 'कारोबारी र प्रयोगकर्ता नबढेको भए हरेक वर्ष प्रहरीको तथ्या‌ंक बढ्ने क्रममा हुने थिएन।' 

गतआर्थिक वर्षमा मात्र लागु औषधसँग सम्बन्धित मुद्दासँग जोडिएका १९५ जना पर्सामा मात्र पक्राउ परे। यसमा १२ जना भारतीय नागरिक पनि परेको प्रहरी तथ्या‌ंकले देखाएको छ। अझै पनि ६ भारतीयसहित नौ पुरुष र दुई महिला फरार  रहेको तथ्या‌ंकले देखाउँछ प्रहरी नायब उपरीक्षक राईले बताए। 

अघिल्लो आर्थिक अर्थात ०७३⁄०७४ मा प्रहरीको नियन्त्रणमा पर्ने कुल संख्या १५० मात्र थियो। आर्थिक वर्ष ०७२⁄०७३ मा भने कुल १०८ वटा मुद्दा अन्तर्गत कुल १२१ जना मात्र प्रहरीको नियन्त्रणमा परेका थिए। तीन वर्षको तथ्या‌ंकलाई नियाल्दा ०७२⁄०७३ मा भन्दा आर्थिक वर्ष ०७३⁄०७४ मा ७.४० प्रतिशत बढी मुद्दा दर्ता भए र अझ ०७४⁄०७५ मा झन् त्यो भन्दा पनि बढेर २२.४१ प्रतिशत पुगेकोले सुरक्षाकर्मीका लागि अझ चुनौती थपिएको प्रहरीको भनाइ छ।

'तथ्या‌ंकले सुरक्षाकर्मीका लागि मात्र नभएर समाजका लागि पनि टाउको दुःखाइ हुने संकेत देखियो', जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने। अवैध लागुऔषध प्रयोग र ओसारपसार बढ्नु सुरक्षाकर्मीका लागि त टाउको दुखाइ हो नै ती मानिसका परिवार, समाज र समग्रमा मुलुकका लागि नै चिन्ताको विषय बनेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.