|

काठमाडौं : महफिल १६ औँ शृङ्खलामा यसपटक बझाङका गजलकार लोकेन्द्र बोहरा 'परिवर्तन' र सुर्खेतका गजलकार ऋषि सुदामा उभिए। राजधानीस्थित सर्वनाम नाटकघरमा शनिबार गजलकारद्वयले आफ्ना नयाँ तथा पुराना गजलले दर्शकलाई मत्रमुग्ध बनाए।

लामो समयदेखि गजल लेखन सक्रिय सुदामाले महफिलमा उभिन पाउँदा खुशी लागेको बताए। गजलको प्रवर्द्वनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आफ्ना गजलहरु प्रस्तुत गरे।

शासकहरु भएका छन् आदेशका सगरमाथा

शासित भने सधैँ भए निहुरीमुन्टे न जस्तो

आत्मवादी दुनियाँमा चुप बस्ने हराउँछ

बुख्याँचाले पनि भन्छ कोही छैन म जस्तो

उनले विशेष गरेर देशको बिग्रँदो राजनीतिक अवस्था, सामाजिक असन्तुलन र आम नागरिकका जीवनलाई मिहिन ढंगले गजलमार्फत प्रस्तुत गरे। उनले सुनाएका लगभग एक दर्जन गजलमा  दर्शकहरुले तालीले साथ दिइरहे।

यस्तै, अर्का गजलकार लोकेन्द्र बोहराले पनि दर्शकलाई मन्त्रमुग्ध बनाए। बझाङबाट काठमाडौं  पहिलोपल्ट आएका बोहराले अाफ्ना गजल सुन्न त्यति धेरै स्रोताहरु आउलान् भन्ने नसोचेको बताए। सुदूरपश्चिमको लवजमा उनले देउडा गजलबाट वाचनको सुरुवात गरे।

तिम्रो हरेक दु:खमा आउन को सक्छ

आँसुको साम्राज्य भत्काउन को सक्छ

देश बेच्नेहरुको कमी छैन यहाँ

प्रश्न यो हो की बचाउँन को सक्छ  

भर्खर भर्खर गजल लेखनमा बामे सर्दै गरेको बताउने उनले राजधानीले सुदूरपश्चिमको आफनो गाउँलाई सधै पक्षपात गरेको, राजनीतिक परिवर्तनले केन्द्रिकृत विकास योजना विकेन्द्रिकृत गरे पनि यसको प्रभाव गाउँसम्म नपुगेको तथा प्रेमिल भावका गजलहरु प्रस्तुत गर्दा दर्शकले वान्स मोरको अनुरोध गरे। लजालु स्वभावका उनले पनि लगभग एक दर्जन गजल वाचन गरे। कार्यक्रममा संगीतकार एवं गायक राज सागरले चार वटा गजल गाए। 

कार्यक्रममा कवि विमल वैद्यको कविता सङ्ग्रह 'अक्षर सिम्फोनी'बारे अन्तर्क्रिया समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.