'६-७ महिना दुःख गरेमा युट्युवबाट राम्रो कमाउन सकिन्छ'

|

काठमाडौं : आजभोलि युट्युवका लागि भिडियो बनाउनेहरू थुप्रै छन्। युट्युवमा आफूले सिर्जना गरेको भिडियो राखेर दुनियाँलाई देखाउने मात्रै होइन, आयआर्जनको मेलो पनि समाउन सकिन्छ। 

युट्युवका लागि भनेरै भिडियो निर्माण गर्नेहरू पहिले थिएनन् भन्दा पनि हुन्छ। अहिले युट्युवका लागि भिडियो निर्माण गर्नेहरू छन्। उनीहरूको यो काम रुचिमा सीमित नभएर आयआर्जनसँग पनि जोडिएको छ।

विभिन्न संघसंस्था तथा व्यक्तिहरूले आफ्नो व्यवसाय र रुचिसँग सम्बन्धित भिडियोहरू युट्युवमा हालिरहेका हुन्छन्। युट्युवका लागि भिडियो निर्माण गर्नेहरूको भीडमा छन्- गुल्मीका रविलाल पौडेल। अहिले पैसा कमाउनकै लागि र भ्यूज बटुल्नका लागि जस्तो मन लाग्यो, त्यस्तो भिडियो निर्माण गरिन्छ, उत्तेजित बनाउने तरिकाले शीर्षक चयन गरिन्छ तर गुल्मीका पौडेल भने त्यस्तो गर्नेहरूभन्दा फरक छन्। उनले युट्युवमा अर्गानिक सामग्रीहरू निर्माण गरिरहेका हुन्छन्।

मुसिकोट नगरपालिका- ६, भुवाचिदीका पौडेलले सन् २००८ मा युट्युव च्यानल खोलेका हुन्। भारतको बै‌गलोरमा पढ्ने सिलसिलामा उनले च्यानल निर्माण गरेका थिए। त्यस बेला उनले खासै काम भने गर्न पाएनन्। 

‘सन् २०१३ मा एक्टिभ रूपमा काम गर्न थालेको हुँ’, उनी भन्छन्, ‘अहिले राम्रै आम्दानी पनि हुन्छ, खुसी छु।’ पेसाले फोटो स्टुडियो संचालन गर्ने पौडेलले स्टुडियो संचालनका क्रममा विवाह, ब्रतबन्ध, भजनकीर्तनलगायतका उत्सवमा भिडियो खिच्थे। त्योमध्ये विवाहमा खिचिने भिडियोबाट पंचेबाजाको गीतमा नाच्नेहरूको भिडियो उनले युट्युवमा पोस्ट गर्थे।

‘युट्युवमा पोस्ट गर्‍यो भने फोटो स्टुडियोका ग्राहक बढ्छन् भनेर लागेको हुँ’, उनले भने, ‘अहिले भने युट्युवका लागि पनि भिडियो खिच्छु। स्टुडियो र युट्युवलाई मैले सँगै अघि बढाएको छु भन्दा फरक नपर्ला।’

युट्युवमा आफ्नो उपस्थिति च्यानल सब्स्क्राइब र भ्यूजबाटै तुलना गर्ने हो। पौडेलले आफ्नै नामबाट च्यानल निर्माण गरेका छन्। ‘सम्भवत: नेपालमा व्यक्तिगत नामबाट च्यानल चलाएर धेरै सब्स्क्राइब र भ्यूज बटुल्ने व्यक्ति म हुँ’, उनले भने, ‘अहिलेसम्म साढे छ करोड बढी भ्यूज भएको छ। एक लाख ६१ हजार बढी सब्स्क्राइब पनि छन्।’

पौडेलले गाउँघरको कला संस्कृति, विभिन्न रिपोर्टहरू, पंचेबाजा, भजनकीर्तनलगायतका सामग्रीलाई युट्युवमा बाँड्ने गरेको बताए। ‘मैले अत्यन्तै अर्गानिक तरिकाले काम गरेको छु। सेन्सेसनल बनाउनका लागि काम गर्दिनँ’, उनले भने, ‘सेन्सेसनल बनाएर पैसा मात्रै कमाउने मेरो इच्छा होइन, मान्छेले चिनून्, माया गरून्, यो ठूलो कुरा हो।’

उनले आफ्नो च्यानलका धेरै भिजिटर विदेशबाट आउने बताए। खाडी मुलुकमा आफ्नो च्यानलका धेरै भिजिटर रहेको उनले बताए। उनले आफ्नो व्यापार विस्तारका लागि गरेको युट्युविङबाट राम्रै आम्दानी पनि गरेका छन्। 

‘कुनै महिना दुई लाख रुपैयाँसम्म पनि कमाइयो, आजभोलि आम्दानी घटेको छ’, उनले भने, ‘यति नै भनेर त नभनौँ तर खाडीमा गएर काम गर्ने नेपालीको जति आम्दानी मैले युट्युवबाट गर्ने गरेको छु।’ अहिले नेपालमा अनावश्यक युट्युव च्यानलहरू खुलेकाले आफ्नो आम्दानी घटेको उनले बताए।

युट्युविङ गर्दै गर्दा च्यानल जोगाउन निकै गाह्रो हुने उनले बताए। कपिराइट र युट्युवको कम्युनिटी गाइडलाइनलाई पछ्याउन गाह्रो हुने उनले बताए। ‘युट्युवसँग चिटिङ गर्छु भन्यो भने च्यानल उड्न समय लाग्दैन’, उनले भने, ‘तर विशुद्ध आफ्नो मात्रै सिर्जना गर्नेका लागि गाह्रो छैन।’

उनी युट्युवलाई मात्रै पेसा बनाउन भने नहुने बताउँछन्। आफ्नो पेसासँग जोडिएका कुराको भिडियो निर्माण गरेमा पेसा र युट्युविङ सँगसँगै अघि बढ्ने उनले बताए। आफूले पनि फोटो स्टुडियो संचालनकै क्रममा युट्युव चलाउने गरेको पौडेल बताउँछन्।

युट्युवबाट अत्यन्तै धेरै माया र दर्शक पाएकाले अब आफूले पनि केही जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले ठानेका छन्।

अब लुकेको नेपाललाई बाहिर देखाउने उनको लक्ष्य छ। ‘आज जन्मिएका बच्चाले डोको बुनेको कुरा कसरी देख्ने? गाउँघरमा सारङ्गी रेट्दै हिँड्ने गाइने दाइलाई हाम्रा छोराछोरीले कसरी चिन्ने?', उनले भने, ‘त्यसैले कला संस्कृतिसँग जोडिएका तर बाहिर नआएका कुराहरू युट्युवमार्फत् उजागर गर्न चाहन्छु।’ उनले देशका सबै जिल्लामा रहेका सांस्कृतिक विशेषतालाई युट्युवबाट बाहिर ल्याउन चाहेको बताए।

उनले एक लाख सब्स्क्राइबर बटुलेर युट्युवबाट सिल्भर प्ले बटन सम्मान पनि पाएका छन्। युट्युवमा ६-७ महिनाजति दु:ख गरेपछि कमाउन सुरु हुने उनले बताए। उनले सातामा एउटादेखि दुईवटा भिडियो युट्युवमा हाल्छन्। पैसाको लागि भन्दा पनि रहरका लागि काम गरेको समेत उनले बताए।

युट्युवबाट पैसा कसरी कमाउने?

पौडेललाई धेरैले युट्युवका विषयमा सोध्छन्। उनले जानेको कुरा बताउँछन् पनि। युट्युवमा मात्रै भन्दा पनि आफ्नो कामसँग र रहरसँग जोडेर गर्न सकिने उनले बताए। युट्युव चलाउँदै गर्दा कपिराइटको विषय र कम्युनिटी गाइडलाइनलाई बिर्सन नहुने उनको भनाइ छ। कसैको पनि भिडियो वा अडियो चोर्न नहुने र युट्युवले निर्धारण गरेको अन्य मार्गनिर्देशन पालना गर्नुपर्ने उनले बताए। सामान्य मोबाइलबाट पनि भिडियो खिच्न सकिने उनको अनुभव छ।

एउटा ईमेल आइडी हुनेवित्तिकै युट्युविङका लागि च्यानल खोल्न सकिन्छ। त्यसमा एक हजार सब्स्क्राइब र चार हजार घण्टा भ्यूज भएमा च्यानल मोनिटाइज हुन्छ अर्थात् विज्ञापन देखिन सुरु हुन्छ। आफ्नो एकाउन्टलाई गुगल एडसेन्ससँग जोड्नुपर्छ। 

यति गरेर १० डलर कमाएपछि भेरिफिकेसन कोडका लागि रिक्वेस्ट गर्नुपर्छ। आफूले पिन कोड हालेर भेरिफाइ गरेपछि च्यानललाई अघि बढाउन सकिन्छ। कोड हुलाकमार्फत् घरमै आउँछ। आफूले कमाएको पैसा एडसेन्समा देखिन्छ। त्यहाँबाट सिधै बैंक खातामा ल्याउन पनि मिल्छ, वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् पनि लिन मिल्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.