थाहा संवाद

नेताहरुलाई धनराजको प्रश्न : लोकमानको नाम सुन्ने बित्तिकै किन लगलग कामेको?

देउवालाई सुझाव ‘सभापति भएर बुढानिलकण्ठमा गुटको भेला नगर्नुस्'

कात्तिक ४, २०७३

    काठमाडौं: नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ पार्टी केन्द्रीय सदस्य र सांसदको हैसियतमा पार्टी र संसद बैठकमा चर्चामा आइरहने नाम हो। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरुङ समसामयिक राजनीतिक विषयमा पार्टी केन्द्रीय कार्य समिति र व्यवस्थापिका-संसदको बैठकमा खुल्ला ढंगले पार्टी नेतृत्व र पार्टीकै आलोचना गर्न पनि पछि पर्दैनन्। सांसद धनराज गुरुङसँग समसामयिक राजनीतिक विषयमा थाहाखबरका लागि लिलाराज खनालले गरेको कुराकानी:

    अख्तियारका प्रमुख आयुक्त लोकमानसिह कार्कीको आचरणको विषयलाई लिएर उनीविरुद्व महाभियोग नैं दर्ता भइसकेको सार्वजनिक महत्वको विषयमा पनि कांग्रेस किन मौन बसेको हो?

    - सार्वजनिक महत्वका विषयमा कांग्रेस मौन होइन, कहिले बढी र कहिले मौन बस्ने गरेको हो। एउटा संवैधानिक अंगका प्रमुखको आचरणलाई लिएर सार्वजनिक रुपमा टिका टिप्पणी मात्र होइन, विरोध हुँदा समेत कांग्रेस मौन बस्नु लज्जाको विषय हो। एउटा संवैधानिक अंगको प्रमुखको लागि कांग्रेस सति जानु हुँदैन।
    बिषेश कारण र प्राविधिक कारणले, यसलाई षड्यन्त्र नैं नभनौं, अख्तियार प्रमुख (लोकमानसिंह कार्की) को आचरणको विषयलाई लिएर संसदमा पेश भएको सार्वजनिक महत्वको विषय तुहिन पुग्यो।

    कांग्रेसले लोकमान प्रकरणमा धारणा नबनाएकै हो। मौनता साँध्यो, यो भन्दा नालायकपन पार्टीको के हुन्छ? लोकमानको आचरणलाई लिएर संसदमा प्रवेश पाएको विषयलाई हामीले नटुंग्याएमा जनताले अब संसदको पहिलो ठूलो दल कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र सत्ताको नेतृत्व गरेको माओवादीलाई प्रश्न गर्ने छन् –‘तिमीहरु नालायक हौं?’

    एउटै घटनाले पनि देश र जनताले तीन ठूला दललाई केही गर्न नसक्ने नालायक हौ भन्न सक्छन्। हाम्रा नेताहरु लोकमान भन्ने वित्तिकै किन लडलग काम्छन? किन डराउँछन? के लोकमानको विषयमा हाम्रा नेताहरुको केही कमजोरी छ? एउटा संवैधानिक अंगको प्रमुखको कार्यक्षमता र आचरणको विषयले बल्ल संसदमा प्रवेश पाउँदैछ।

    अब पनि दलहरु चुप लागे भने जनताले यी दललाई भोलिका दिनमा नस्वीकार्न पनि सक्छन्। जनताको धैर्यताको बाँध टुट्छ। हाम्रा अहिलेका ठूला दललाई त्यही बाँधले बगाएर लाने त्रास बढेको छ। 

    अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्व महाभियोग दर्ता हुँदा तपाईंहरुले त हस्ताक्षर गर्नु भएन। कांग्रेसले यो प्रस्तावलाई साथ दिन्छ कि दिँदैन?

    संसदले धेरै पहिले नैं महाभियोग सिफारिस समिति गठन गर्नु पर्ने थियो। ढिलै भएपनि समिति गठन हनु खुसैकै खबर हो। समिति गठन भएकै दिन सांसद साथिहरु जुनसुकै दलको भएपनि अख्तियार प्रमुखविरुद्व महाभियोग दर्ता गराइसक्नु भएपछि कांग्रेसले अब साथ दिनै पर्छ।

    विकृति, विसंगति र बेथितिविरुद्व संसदमा पेश भएको प्रस्तावलाई कांग्रेसले साथ नदिने भन्ने कुरै आउँदैन्। जसले ल्याएपनि महाभियोगलाई पारित गर्न कांग्रेस लाग्नु पर्छ र लाग्छ। 

    अख्तियार प्रमुख लोकमानसिंह कार्कीको कारबाही निष्पक्ष भएन, उनको क्रियाकलाप आग्रह र पूर्वाग्रहपूर्ण छन् भनेर म लगायतका साथीहरुले पहिलेदेखि नैं भन्दै आएका थियौं। प्राविधिक कारणले हामीले उनको आचरणको विषयलाई लिएर बाहिर आएका गम्भिर आरोपहरु सार्वजनिक महत्वका छन् भनेर संसदमा प्रस्ताव पनि दर्ता गराएकै हो। प्राविधिक कारणले त्यो अघि बढ्न सकेन।

    सार्वजानिक लेखा समितिले अखिल नेपाल फुटबल संघका तत्कालिन अध्यक्ष गणेश थापाले गरेको भ्रष्टाचारको विषयमा कारबाही गर्नु भनी अख्तियारमा पठाएका थियौं। एन्फाका अध्यक्ष थापाले ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्षसहित कारबाहीको लागि अख्तियारमा पठायौं तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले त्यसलाई तामेलीमा राखेर भ्रष्टाचारको विषयलाई ढाकछोप गरेको एउटा बलियो उदाहरण हो।

    लोकमानको कार्य क्षमतामा बारम्बार प्रश्न उठेका यस्ता धेरै विषय छन्। अब हामीले उनले गरेको अख्तियारको दुरुपयोगका घटनाहरुको छानबिन गर्नुपर्छ। सिंगो संसदले अब लोकमानकाविरुद्व भन्दा पनि एउटा संवैधानिक अंगको प्रमुखको आचरणसँग मेल नखाने क्रियाकलापका विरुद्व डटेर लड्नु पर्छ।

    नेपाली कांग्रेस बीपीको आदर्श र मुल्यमा टिकेको दल हो। वीपीले सँधै, विकृति, बेथिति र विसंगतीविरुद्व कसैसँग सम्झौता गर्नु भएको थिएन। त्यसैले अब कांग्रेसले त्यस्ता विकृतिको जरो उखालेर फाल्न यो वा त्यो दलको प्रस्ताव नभनी महाभियोग प्रस्तावको पक्षमा उभिनुको विकल्प छैन। 

    प्रदेशको सीमांकन र भाषाको विषयमा देखिएका असझदारीका विषयमा कांग्रेसको आधिकारिक धारणा के हो?

    - संघीय प्रदेशको सख्या र सीमांकनको विषयमा पनि कांग्रेसले आफ्नो धारणा प्रष्ट पार्न सकेको छैन। विगतमा पनि राजनीतिक दृष्टिकोणको आधारमा राजनीतिक निर्णयबाट नैं ६ प्रदेशबाट ७ प्रदेश भएको हो। सहमति हुन्छ भने यसलाई घटाएर फेरी ६ वा ५ पनि बनाउन सकिन्छ।

    तर कुनैं नेताको स्वार्थपूर्ति गर्न वा उसलाई खुसी बनाउन प्रदेश बनाउने होइन। प्रदेश जनताको समृद्धि र सुविधाको लागि हो। संघियता भनेको विभाजनको लागि होइन। सबै दलका नेताले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्न सक्नुपर्छ अनिमात्र प्रदेशको संख्या वा सीमा आवश्यकताको आधारमा हुन्छ।

    जिम्मेवार नेताले मुलुक टुक्रन सक्ने भन्दै विखण्डनतर्फ मुलुकलाई लैजान खोजेका छन्। कतिले मुलुकलाई सिक्किमीकरण र भुटानीकरण गर्न खोजिरहेका छन्। यसबाट पार्टीको नेतृत्व सचेत हुनसकेको छैन। एउटै धारणा पनि बनाउन सकेको छैन। 

    हाम्रै पार्टीका साथीहरु संविधान विपरित हिन्दीभाषालाई मात्र राष्ट्रिय भाषा र सरकारी कामकाजको भाषा बनाउनु पर्‍यो भन्छन्। पार्टी नेतृत्व बोल्दैन। त्यसैले मैले सदनमै बोल्नु पर्‍यो। मैथिली मातृभाषा भएका ३० लाख नेपाली तराईमा छन्। त्यो भाषालाई चटक्क छोडेर एक प्रतिशतभन्दा कमले मात्र बोल्ने हिन्दी भाषाको कुरा मात्र यहाँ किन उठाइन्छ?

    हिन्दी भाषाप्रति विशेष रुची, चासो र आशक्ति देखाउनु भाषिक सहिष्णुता माथिको प्रहार हो। राष्ट्रियता माथिको प्रहार हो। आज कांग्रेस निष्क्रिय भएको छ। यसलाई चलायमान, गतिशील र उर्जाशील बनाउन हामी लाग्ने छौं। नेतृत्वलाई झकझकाउने छौं।

    पार्टी विधान बमोजिम २ महिना भित्र पदाधिकारी नियुक्त र सबै विभागले पूर्णता पाउनु किन नसकेको होला?

    - पार्टी सभापतिले पदाधिकारीको नाम प्रस्ताव गर्न, केन्द्रीय सदस्य नियुक्त गर्न र सबै विभागलाई पूर्णता समयमै दिनु पर्ने थियो। उहाँले पार्टी संगठनलाई पूर्णता दिन नपाउनु र नदिनु दुवै राम्रो होइन। यसले राम्रो सन्देश दिएको छैन। यो पार्टीको कमजोरी हो। अब सभापतिले ढिलाई गर्नु हुँदैन।

    सभापतिले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। विगतमा जति कमजोरी भए पनि अब भने तत्काल पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्छ। सभापतिलाई हामीले पनि सहयोग गर्नुपर्छ। 

    मुलुकका अघि देखिएका समसामयिक र महत्वपूर्ण विषय जस्तै, संविधान कार्यान्वयन आदिका सन्दर्भमा कांग्रेस जस्तो संसदको सबैभन्दा ठूलाो दल किन मौन बसिरहेको छ?

    - अहिले संविधान कार्यान्वयन र संविधान संशोधनका विषय बढी चर्चामा छन्। संविधान संशोधन के-के मा हुने भन्ने विषयमा कांग्रेसका सबै सांसद, केन्द्रीय सदस्य र आमकार्यकर्ता सूसुचित हुनुपर्छ। यो छलफलको विषय हुनुपर्छ। 

    संविधानको कार्यान्वयन हुँदैन कि भन्ने आशंका पनि देखापरेको छ। कांग्रेस संसदको ठूलो दल भएको नाताले पनि उनले संविधान कार्यान्वयनको खाका र अघि ल्याउनुपर्छ। त्यसपछि मात्र संविधान कार्यान्वयनमा देखिएको उदासिनताको अन्त्य गर्न सकिन्छ। 

    संविधान कार्यान्वयनमा देखिएको उदासिनता तोडेर पार्टीलाई क्रियाशिल गराउन तपाईँहरुको दबाब खोई त?

    - यस्तो महत्वपूर्ण विषयमा हामीले दबाब दिनु भन्दा पनि नेतृत्वले बुझ्नु पर्ने हो। नेताले आफ्नो कौशलता देखाउनु पर्छ। हामीले दबाब दिएर मात्र हुँदैन्।
    नेतृत्व स्वयंममा त्यो कला, कौशलता र क्षमता हुनुपर्छ। यदि संविधान कार्यान्वयनमा नेतृत्वले चुनौती देख्ने हो भने हामी त अवसर देखिरहेका छौं। संविधान कार्यान्वयन नगरी राजनीतिक स्थिरता सम्भव छैन।  

    गुटको दबाबका कारण संगठनलाई पदाधिकारी र केन्द्रीय सदस्यको चयन गर्न र विभागलाई पूर्णता दिन सभापतिलाई अप्ठ्यारो परेको हो? हो, कांग्रेसमा गुट उपगुटको प्रभाव अहिले अलिक बढी नैं देखिएको छ। १३ औं महाधिवेशनअघि नेतृत्वमा प्रतिष्पर्धा गर्ने नेताहरुले महाधिवेशनबाट गुट उपगुटको अन्त्य गर्छौं भन्नु भएको थियो तर अहिले उहाँहरु पुन गुट-उपगुटलाई नैं प्रश्रय दिइरहनु भएको छ। 

    हाम्रा नेताहरु यतिवेला दोबाटोमा बसेर मगन्तेको जस्तो गुट-उपगुटमार्फत पद र अवसरको भाग पाउन कुरिरहेका छन्। नेताहरुमा राजनीतिक नैतिकताको खडेरी लागेको छ। यसले सिंगो कांग्रेसलाई क्षति पुर्‍याइरहेको छ। अहिले गुटका कारण कांग्रेस कमजोर भएको छ।  

    जल्दा बल्दा राष्ट्रिय मुद्धामा कांग्रेसले दृष्टिकोण बनाउन सकेको छैन। यो भन्दा दुखद घटना के हुन सक्छ? हामीले व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर पार्टी भित्र गुट बनाएका छौं। गुट-उपगुटलाई भर्‍याङ बनाएर नेताहरुले पार्टीलाई कमजोर बनाएका छन्।

    सबै नेतालाई गुट-उपगुट नबनाए बाँच्न सकिदैन कि भन्ने भान परेको छ। मिसन, भिजन र डिटरमिनेसन हाम्रा नेतामा नभएकाले गुट-उपगुटले प्रश्रय पाइरहेका छन्। व्यक्तिगत निहित स्वार्थ र महत्वकांक्षा पूरा गर्न नेताहरुले यो राजनीतिमा अनैतिक क्रियाकलाप देखाएका छन्। गुटकै दबाबका कारणले नैं सभापतिलाई संगठनका बाँकी काम गर्न अप्ठ्यारो परेको होला।

    देउवा सभापति हुनुअघि र भएपछिको व्यवहारमा के फरक देख्नु भएको छ?

    सभापति देउवालाई अझै पनि गुटकै नेता हो कि जस्तो भान भइरहेको छ। उहाँ सिँगो पार्टीको सभापतिको रुपमा काम गर्न खोज्नु त हुन्छ तर हिजोको ‘ह्याङओभर’ले उहाँलाई छोडेको छैन। अब उहाँले पनि गुुटको नेता होइन, पार्टीको सभापतिको रुप्मा काम गर्नु पर्छ। उहाँलाई पार्टी सभापतिकै हैसियतमा काम गर्न दिनुपर्छ। टाङ अड्काउनु हुँदैन्। महाधिवेशनअघि उहाँ (देउवा) मलाई यति भाग चाहियो भनेर गुटको नेतृत्व गर्नुहुन्थ्यो तर अब त्यस्तो गुटको मात्र नेता बन्नु हुँदैन। उहाँ गुटबाट अब बाहिरिनु पर्छ। 

    सभापति गुटबाट बाहिरन त खोज्नु हुन्छ तर उहाँलाई फेरी गुटकाले घेरिहाल्छन्। अब सभापतिले बुढानिलकण्ठमा गुटको भेला गर्नु हुँदैन। अन्य नेताले पनि गुटको भेला, र चियापान गर्नु हुन्न। अहिले भाग खोज्न गुटको भेला बोलाउने र चियापान गर्ने कार्य रोक्नु पर्छ। 

    गुटलाई हाल संस्थागत गर्न नेताहरुले नैं खोज्दैछन्। हामी बिष वृक्ष रोप्दैछौं, यो हुर्कियो भने पार्टीलाई अधोगतिमा पुर्‍याउँछ। अब हामीले यस्तो गल्ति गर्नु हुन्न। 
    पार्टी नेतृत्वमा वा सत्तामा पुग्दा कांग्रेस नेताबाट किन आशा गरे बमोजिमको कार्य हुँदैन? उनीहरुको भूमिका प्रभावकारी हुँदैन?

    जग्गा प्लटिङ गरेजस्तो भागबण्डाको आधारमा साथीहरु सरकारमा जान मरिहत्ते गर्छन्। दृष्टि भएको तर दृष्टिकोण नभएकाहरु मन्त्री भएपछि यस्तै हुन्छ।  मन्त्री हुन हतार गर्ने तर मन्त्री भएपछि के गर्ने भन्ने कार्ययोजना नभएपछि यस्तो भएको हो। 

    मन्त्री भएपछि रमाइलो गर्ने हो र? विकृति र विसंगती भित्र्याउन चटपटेमा र्‍याल चुहाउनेलाई खै के भन्ने। इच्छाशक्ति र दृष्टिकोण भएमा बीपी कोइरालाको २०१७ सालको सरकारले राजा रजौटाको अन्त्य, भूमिसुधार, जंगलको राष्ट्रियकरण भएको थियो।

    अहिलेको सरकारमा जानेहरुले पनि राम्रो काम गरे त राजनीतिमा लोकप्रीय त हुन सकिन्छ नि। कमाउन नैं मन्त्री हुने लक्ष्य राखेको हो भने किन राजनीति गर्ने व्यापार गर्न गए भइहाल्यो नी। मन्त्री बन्ने तर काम गर्न नसक्ने हो भने यसले कांग्रेसलाई झन कमजोर बनाउँछ। 

    कार्ययोजनाविहिन भएका साथीहरुलाई आँखा देखायो भने हाम्रो विरोध गर्‍यो भनेर उल्टै आलोचना गर्छन्। कांग्रेसमा यस्तो नियति नैं भएको छ। पदमा नपुगुन्जेल मात्र हो पुगेपछि आफ्नो क्षमता मन्त्रीले मात्र होइन नेतृत्वले पनि देखाउन सकेका छैनन्।

लिलाराज खनाल

खनाल राजनीति र संसदीय मामिलामा रिपोर्टिङ गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]