|
फोटो : पुरुषोत्तम पाण्डे

चितवन : चीनमा आएको आँधीतुफानका कारण चितवनको एकजोडी गैंडालाई साउन ३१ ग्ते चीन पठाउने कार्य रोकियो। त्यसको भोलिपल्ट भदौ १ गते ‘सोल्टी र मितिनी’लाई चीन पठाइयो।

गैंडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधि पुरुषोत्तम पाण्डे तथा कोषका अन्य वन्यजन्तु प्राविधिकहरू हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई चीनमा छन्।

गैंडासँगै ५०० किलो दूधसमेत लगिएको छ। एक महिनासम्म त्यही दूध खुवाइन्छ। चीनमा सहज रूपमा पुगेको गैंडा हाल साङघाई वन्यजन्तु सफारी  पार्कमा मजाले रमाइरहेका बताउँछन्, सँगै रहेका भेटेरिनरि प्राविधिक पुरुषोत्तम पाण्डे।

आकर्षक पार्कमा गैंडाका लागि सबै सुविधा उपलब्ध छ। डा अमिर षडौला र पाण्डेले गैंडाको स्वास्थ्य रेखदेख गरिरहेका छन् भने अन्य पाविधिकहरूले अन्य स्याहार सुसार र रेखदेख गरिरहेका छन्।

उनीहरूले चिनियाँ अधिकारीहरूलाई समेत गैंडाको हेरचाहबारे सिकाउँदै पनि छन्। १५ दिनसम्म सबै जानकारी गराएपछि नेपाली टोली फर्कने छन्।

उक्त गैंडामध्ये पोथी(मितिनी)लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो। सोल्टी चाहीं अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको थियो।

गएको असार २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी र भद्र’ नामको एकजोडी गैंडा चिमे लङ सफारी पार्क रमाई रहेका छन्। तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन जाँदा गैंडा उपहार दिने सहमती भएअनुसार २०७३ सालको असार २६ गते दुई जोडी गैंडा दिने सरकारले निर्णय गरेको थियो।

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज महत्त्वपूर्ण वासस्थान हो।


फोटोहरू : पुरुषोत्तम पाण्डे

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.