|
प्रतीकात्मक फोटो/एजेन्सी

सुनसरी : पूर्वी तराईमा दुई दिनयता अत्याधिक गर्मी बढेको छ। क्षेत्रीय हावापानी कार्यालय धरानका अनुसार पूर्वमा दुई दिनयता न्यूनतम तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ।

कार्यालयका प्रमुख राजिव कुमार झाका अनुसार आइतबार पनि ३८ डिग्रीकै हाराहारीमा रहेको छ। बढ्दो गर्मीका कारण विद्यालय पुग्ने विद्यार्थीको संख्यामा समेत कमी आएको छ। दुई दिनदेखी बढेको गर्मीका कारण सर्वसाधारणको चहलपहलमा कमी आएको छ। बजारमा बिहान र बेलुकीपख चहलपहल देखिए पनि दिउँसोको समयमा भने सर्वसाधारणको उपस्थिति न्यून रहेको छ।

पछिल्लो तीन दिनयता ह्वात्तै बढेको गर्मीले पूर्वी तराईंको जनजीवन कष्टकर बनेको छ। गर्मीसँगै अस्पतालहरूमा बिरामीको चापसमेत बढेको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा उपचारकालागि पुग्ने बिरामीको संख्यामा वृद्धि भएको छ।

इनरुवा अस्पतालमा समेत गर्मीका कारण बिरामी भई उपचारका लागि पुग्ने सर्वसाधारणको भीड लाग्न थालेको छ। इमरजेन्सी इन्चार्ज गुणानन्द झाका अनुसार इनरुवा अस्पतालमा उपचारकालागि आउने बिरामीहरुमा रुखाखोकी, ज्वरो, झाडापखाला, छाला चिलाउने, टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता हुने बढी छन्।

सावधानी अपनाउन अग्रह

गर्मी बढ्दो क्रममा रहेकाले चिकित्सकहरुले सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरेका छन्। जिल्ला अस्पताल सुनसरी इनरुवाकी प्रमुख डाक्टर बिना शाक्यले गर्मीका समयमा बढी पानी पिउन, आराम गर्न, धुलो धुँवा बाट बच्न र धपेडीमा काम नगर्न सुझाव दिइन्। डाक्टर शाक्यले गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने भएकाले पिसाब पोल्ने जस्ता समस्या देखिने र शरीरमा आलश्यपना भई थप समस्या निम्तन सक्ने हुँदा पानी पिउन आनाकानी गर्न नहुने बताइन्।

उनले बजारमा खुल्ला रूपमा बिक्रीका लागि राखिएका तथा सडेगलेका खानेकुरा नखान समेत आग्रह गरिन्। आफ्नो स्वास्थ्यलागि स्वयं सचेत हुन आवश्यक रहेको भन्दै जिल्ला अस्पतालले सर्वसाधारणका हकमा कुनै शंका र शरीरमा कठिनाई महसुस भए बेलैमा स्वास्थ्य संस्थामा गई चेकजाँच वा परामर्श लिन समेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.