|

लमजुङ : गाउँ र शहरमा बिदेशबाट आयातित सामग्रीहरू छ्याप्छ्यप्ती पाउन थालेपछि जिल्लाका हस्तकला व्यवसाय धरापमा पर्न थालेका छन्। पछिल्लो समय हस्तकला उद्योग बढे पनि बजार अभावका कारणले पनि घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू बिक्री हुन सकेका छैनन्।

क्होलासोंथर गाउँपालिका -३ घलेगाउँ निवासी उद्यमी तुलसीमाया गुरुङले सीप र क्षमता भएर पनि आफ्ना उत्पादनले बजार नपाउँदा समस्या भएको बताइन्। उनले भनिन् ‘साँस्कृतिक कार्यक्रमका लागि बाहेक दैनिक जीवनमा प्रयोग गर्नका लागि मानिसले घरेलु उत्पादन प्रयोग गर्दैनन्।’ उद्यमी  गुरुङ अहिले बेसीशहर नगरपालिका-७ स्थित गैरीधारामा सटर भाडामा लिएर घरेलु उद्योग सञ्चालन गरिरहेकी छिन्। उद्यमी  गुरुङले भनिन्, 'मेराे उद्योगमा ढाकाका पछ्यौरा, टोपी, स्विटर, पञ्जा, मोजा, भाङ्ग्रा, लुंगीलगायतका वस्तु उत्पादन हुन्छन्। अहिले जिल्लामा कोसेली घर छैन।' बजारमा बाहिरबाट आएका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु घरेलु उद्योगलाई चुनौति भएको छ। घरेलु उत्पादनमा प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सामाग्री उत्पादन हुन नसक्दा पनि घरेलु तथा साना उद्योगहरू धरापमा परेका हुन्।

सरकारी वा गैरसरकारी निकायमा रोजगार नभएका तथा घरभित्रको जिम्मेवारी सम्हालेका लमजुङका अधिकांश महिला व्यवसायिक सीप तथा तालिमतर्फ आकर्षित भएका छन्। तर सीपमार्फत उत्पादित सामग्रीहरूले बजार नपाएपछि अधिकांशले व्यवसाय छोडेका छन् भने अधिकांश उद्यमीको लगानी संकटमा परेको छ। ‘उद्यमी बन्नका लागि तालिम लिएँ। तालिम लिएर आफ्नै घरमा टोपी, मोजा, पञ्जा, गलबन्दी बुन्छु। बिक्री गर्न बजार नपाएपछि निकै समस्या परेको छ’ मध्यनेपाल नगरपालिका-१ जिताकी महिला उद्यमी स्मृति तामाङले मनिन्, ‘स्थानीय तहले हस्तकलालाई बजार व्यवस्थापन गरिदिएको भए हामी जस्ता महिलालाई आयआर्जनमा सजिलो हुने थियो।’

जिल्लामा हालसम्म चार हजारभन्दा बढीलाई तालिम दिएर उद्यमी बनाएको घरेलु तथा साना उद्योग विकास समिति लमजुङको दाबी छ। व्यवसायिक सीप तथा उद्यमसम्बन्धी तालिम सञ्चालन गरे पनि तालिम लिएकाहरू कति उद्यमी बने भन्ने एकीन तथ्याङ घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पाइँदैन। तालिम लिएकामध्ये आधा आधीले  मात्र व्यवसाय गरेका छन्। मुख्य त बजारकै समस्या रहेकाले एक स्थानीय तह एक कोसेली घरको अभियान चलाउने तयारी गरेको घरेलु तथा साना उद्योग विकास समिति लमजुङका प्रमुख लक्ष्मीप्रसाद दाहालले बताए। दाहालले भने, ‘हरेक गाउँघरमा उत्पादित भएका घरेलु सामग्रीहरू प्रत्येक स्थानीय तहमार्फत विक्री गर्ने लक्ष्य राखेका छौं।’

घरेलु विकास समितिले सिलाइ कटाई, व्युटिसियन, अर्गानिक धुप, ढाका बुनाई, कम्प्युटर, ड्राइभिङलगायत दर्जनभन्दा बढी विषयमा तालिम दिँदै आएको छ।कार्यालयको तथ्यांक अनुसार जिल्लामा दुई हजार भन्दा बढी घरेलु तथा साना उद्योगहरू कार्यालयमा दर्ता भएका छन्। सीपमूलक तालिमका लागि सरकारले वार्षिक लाखौँ रुपैयाँ खर्च गर्ने गरेको छ। सरकारले ठूलो लगानी गरे पनि दीर्घकालीन सोच र शैली नमिल्दा घरेलु उद्योगमा स्वरोजगार प्रभावकारी बन्न सकेको छैन।

उद्यमीहरूले तयार गरेका हस्तकलाको समाग्री बिक्री वितरण गर्न कोशेली घर निर्माणका लागि बेसीशहर नगरपालिकाले पनि चालु आर्थिक वर्ष २०७५/०७६ मा दुई लाख रुपैयाँ बिनियोजन गरेको नगर प्रमुख गुमानसिङ अर्यालले बताए। त्यस्तैगरी लमजुङ उद्योग बाणिज्य संघ र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले पनि दुई/दुई लाख रकम छुट्याएको छ। कोशेली घर निर्माणका लागि अहिले ६ लाखको योजना रहेको छ। लमजुङको चिनारीको रुपमा देखाउन अहिले हस्तकलाका कुनै सामग्री बजारमा देख्न पाइँदैन।

प्राकृतिक स्रोत र सम्पदामा धनी भएर पनि हस्तकला सामग्रीमा जिल्ला गरीव रहेको छ। नयाँ प्रविधिका साथ हस्तकलाका सामग्री उत्पादनलाई बढवा दिन सकेमा व्यवसाय संकटमा नपर्ने देखिन्छ। हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि सरकारी निकायको चासो र अनुगमन फितलो देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.