|
प्रतीकात्मक फोटो

काठमाडौं : सिंहदरबारमा शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले डाक्टर डिल्लीराज खनालको संयोजकत्वमा पाँच सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने निर्णय छ। आयोगका संयोजकले राज्यमन्त्री सरह सेवासुविधा पाउने ‍सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

त्यस्तै बैठकले मौलिक हकसँग सम्बन्धित तीनवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। वैयक्तिक गोपनियता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धमा बनेको विधेयक र भूमिसम्बन्धी सातौँ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले बताए।

त्यस्तै आइतबारको बैठकले बलाधिकृत रथि पूर्णचन्द्र थापालाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई काम प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अनिवार्य अवकाश पाउने भएपछि थापा प्रधानसेनापतिमा बढुवा भएका हुन्।

त्यसैगरी बैठकले अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौट, पुनर्वास तथा व्यवस्था पुनःस्थापन कार्यकारी निर्देशक पदमा सिँचाइ तथा जलस्रोत उपमहानिर्देशक चुर्णबहादुर वली, प्राविधिक कार्यकारी निर्देशक पदमा विद्युत् विकास विभागका नरेन्द्रसिंह भण्डारीलाई काजमा खटाउने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले बताए।

हाल प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई पनि अर्को व्यवस्था नभएसम्मका लागि २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने निर्णय भएको हो। त्यसैगरी विश्व बैक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम करिब १ अर्ब ६४ करोड १५ मिलियन डलर स्वीकार गर्ने निर्णय पनि भएको छ।

मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ फर द स्ट्याविलिसमेन्ट अफ द बिमस्टेक ब्रिज इन्टरकनेक्सनमा नेपालका तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी दिने भएको छ। सरकारले अस्थायी तथा सेवाकरार सम्झौता बमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको छ। यससम्बन्धी अरू व्यवस्थाहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.