|

जनकपुरधाम : प्रत्येक वर्ष साउन शुक्ल तृतीयाको सुरुवातसँगै पूर्णिमासम्म मनाइने झुलाउत्सवको रौनक मिथिलाञ्चलमा छाएको छ। जनकपुरधामस्थित प्रत्येक मठ मन्दिरमा विभिन्न धार्मिक कृत्य भजन कीर्तनका साथमा झुला महोत्सव गर्ने गरिएको छ।

झुलनोत्सव मैथिली संस्कृतिको मौलिक संस्कृति भए पनि पछिल्लो समय झुलन महोत्सवको आनन्द सबैले लिने गरेका छन्। प्रत्येक वर्षजस्तै यस वर्ष पनि सनातन धर्मावलम्बीहरूले मठ मन्दिरमा झुला महोत्सव धुमधामका साथ मनाइरहेका छन्।

झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्र भारतको विहार राज्यको तिरहुत क्षेत्र, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाहीसहितका जिल्लाको विभिन्न मठ मन्दिरमा १५ दिनसम्म बडो धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको छ।

झुलनोत्सवको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ। सो पर्व सुरु हुनुभन्दा अगाडि मठ मन्दिरबाट लावा लस्करसहित बाजागाजाका तथा मंगलगान सँगै भव्य जुलुस निकाली पर्वको सुरुवात गर्ने गरिन्छ। मणिपर्वत पर्व भगवान् राम र सीताको शुभविवाहकै पालादेखि मनाइँदै आएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको भनाई छ।

मणिपर्वत पर्व विधिवत् सम्पन्न भएपश्चात् साँझदेखि स्थानीय मठ मन्दिरमा धार्मिक रीतिअनुसार झुलनोत्सव गर्ने गरिएको छ। राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ। तसर्थ यसलाई झुलन अथवा झुला भनिन्छ।

यो भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजनहरू र श्रद्धालुहरू रातभर कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन्। झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ। सन्तहरू खुला चौरमा अथवा कुनै रुखको छहारीमा वास बसे पनि आफ्नो झोलामा श्रद्धा साथ ल्याएका शालीग्रामलाई आसनमा राखि झुलाउने गर्दथे। सम्भवत: यो परम्परा त्यसै बेलादेखि सुरुवात भएको विश्वास छ।

झुल्नोत्सव पर्वअन्तर्गत प्रत्येक दिन साँझ विभिन्न प्रकारको झाकीसहित भगवान राम, जानकी सहितका देवीदेवताहरूलाई कलात्मक झुलामा राखेर रेशमको डोरीले तानी १५ दिनसम्म झुलाउने परम्परा रहेको छ। उक्त अवसरमार झुल्नोत्सव पर्व हेर्नका लागि नेपाल भारतबाट व्यापक संख्यामा तीर्थ यात्रीहरू जनकपुरधाम आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.