|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको जिम्मेवारी वरिष्ठताको हैसियतले आयुक्त दीप बस्न्यातले सम्हालेका छन्।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्व बुधबार व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्तासँगै निलम्वित भएपछि बस्न्यातले आयोगको बैठकको अध्यक्षता गरेका हुन्। आयोगका प्रवक्ता खगेन्द्र रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०५९ को नियम ३ को उपनियम ३ बमोजिम प्रमुख आयुक्तको अनुपस्थितिमा वरिष्ठ आयुक्तको हैसियतले बस्न्यातले बिहीबारको बेठकको अध्यक्षता गरेको थाहाखबरलाई बताए।

उनले बस्न्यातले कार्यबाहक वा कायममुकायमको हैसियतले नभई वरिष्ठताका आधारमा अख्तियारको नेतृत्व सम्हालेको जानकारी दिए। उनले भने ‘अख्तियार सम्बन्धी कानुनमा जे छ, त्यही हो।’

बिहीबारको अख्तियारको नियमित बैठकमा बस्न्यातले अध्यक्षता गर्दै नियमित काम गर्नु भनि निर्देशन दिएका छन्। राजनीतिक रुपमा कुनैं पनि दलसँग निकटता नराख्ने बस्न्यात पूर्वप्रधानमन्त्री सूर्यवबहादुर थापासँग निकट थिए। कांग्रेस नेता बलबहादुर केसी श्रम मन्त्री भएको समयमा श्रम तथा वैदेशीक रोजगार विभागको महानिर्देशक बनाइएका बस्न्यातका विरुद्व नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर सेवामा प्रवेश गरेको भन्दै उजुरी परेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग लागेका बस्न्यातविरुद्वको सो उजुरी ललितबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कायम मुकायम प्रमुख आयुक्त हुँदा तामेलीमा राखिदिएका थिए।

हङकङस्थित महावाणिज्यदूत र भूमिसुधार विभागको प्रमुख भएका बस्न्यात २०७० सालमा अख्तियार आयुक्त पदमा नियुक्त भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.