|

चितवन : माडी सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महत्तोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टेको स्थलगत अध्ययन गरे। स्थानीय थारू समुदायले सञ्चालन गरेको होमस्टे सञ्चालनका विषयमा उनले स्थलगत रूपमै अवलोकन गरे।

नवलपुरको देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टेको समेत उहाँ लगायत माडी बघौडाका थारू समुदायले स्थलगत अध्ययन अवलोकन गरे। 'साह्रै राम्रो लाग्यो, थारू संस्कृति जोगाउन, जिविकोपार्जनका लागि पनि होमस्टेले फाईदै गर्ने रै'छ', महत्तोले भने, 'निम्न स्तरकालाई आम्दानी गर्न निक्कै सहयोगी हुने रहेछ।'

उनले अब छिट्टै माडी नगरपालिका तीन बघौडामा होमस्टे खोल्ने सोच बनाएको प्रतिक्रियासमेत दिए। उनीसँग बघौडामा अन्य थारू समुदायपनि होमस्टे सञ्चलालनको बारेमा जानकारी लिन विभिन्न क्षेत्रका होमस्टे भ्रमण गरेका छन्।

माडी नगरपालिकालगायत विभिन्न संघसंस्थाको सहयोगमा माडीमा पर्यापर्यटनको विकासका लागि होमस्टे थप्ने निर्णय भएपछि यहाँका थारू समुदायहरूको सक्रियता बढेको हो।

माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपाने होमस्टेको बारेमा जानकारी नभएकाले उनहरूलाई होमस्टेको भ्रमण गराएको बताए। माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महत्तोको संयोजकत्वमा माडीका थारू समुदायसहितको सहभागितामा ४९ जनाको टोलीले स्थलगत रूपमा विभिन्न क्षेत्रका होमस्टेको भ्रमण गरेको हो।

भ्रमण टोलीमा माडी नगरपालिका ३ का अध्यक्ष पुरन महत्तो, थारू कल्याणकारीणी चितवनका अध्यक्ष ललित चौधरी, नेपाल जनजाती महासंघ माडीका  खध्यक्ष रामेश्वर महत्तो, पर्यटन विकास समिति माडीका सचिव गोविन्द न्यौपाने, सीप नेपालकी अध्यक्ष ईन्दिरा विकको समेत सहभागिता थियो।

कृषि र ईको पर्यटनका हिसाबले महत्त्वपूर्ण गन्तव्य रहेको माडीमा पर्यटन विकासका लागि थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताउँछन्। 

यो वर्ष माडीका आदिवासि जनजाति समुदायका वस्तीमा ४० भन्दाबढी होमस्टे निर्माणका गने तयारी नगरपालिकाको छ।  मुख्यगरी थारू, वोटे र राईका होमस्टे थपिने ढकालले बताए।

माडीको नगरसभाले होमस्टे बनाउन ७५ लाख रुपैयाँ छुट्याएको छ। माडी नगरपालिका ८ शिवद्वारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ। स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे निर्माण हुने छन्।

यसवर्ष माडी नगरपालिका १ बनकट्टामा बोटे समुदायको १५ वटा, वडा नम्बर ३ बघौडामा १० वटा थारू होमस्टे र वडा नम्बर ९ को राई टोलमा ८ वटा राई होमस्टे निर्माण गर्ने योजना नगरपालिकाको छ।

यस्तै शिवद्वारमा रहेको ११ वटा होमस्टेको स्तरोन्नतिसहित नौवटा थपेर २० वटा पुर्‍याउने लक्ष्य राखिएको छ। माडी नगरपालिका ३ बघौडामा माडी सामुदायिक होमस्टे निर्माणका लागि यहाँको घरधुरी लगत संकलनपछि विभिन्न ठाउँको होमस्टेको अध्ययन अवलोकन भ्रमण गरिएको हो।

चितवन निकुञ्जसँगै जोडिएको छ माडी। विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले धार्मिक पर्यटनमा समेत अब्बल छ। यहाँ भारतबाट समेत पर्यटकहरू आएर पूजा गर्ने परशुराम कुण्ड, पाँच पाण्डवलगायत धार्मिक क्षेत्र छन्।

जंगलमा आश्रित समुदायहरूलाई होमस्टेमार्फत वैकल्पिक आयआर्जनमा सहभागि गराउन सके वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ।

चितवनको माडीमा पर्यटकिय सम्भावना भएपनि भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन। चितवनका अन्य विभिन्न स्थानमा होमस्टे सञ्चालनमा भएपनि माडी, कठार र कुमरोजका होमस्टे मात्रै प्रभावकारी देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.