सरकारले लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए सडक र सदनमा संघर्ष गर्छौँं :  डा. खड्का

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनाधिकृत रुपमा प्रदेश -२ को सभामा शनिबार सम्बोधन गरेको आरोप लगाएका छन्। 

आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लालले प्रधानमन्त्री ओलीले प्रदेश-२ को प्रदेश सभामा अनाधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नु संविधान, कानुन र नियामावलीमा व्यवस्था नभएका बताए। उनले भने, 'प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ। प्रदेश सभामा बोल्नै पाउनु हुन्न भन्ने होइन। तर राजा/महाराजाको अनुभूति दिने गरी सम्बोधन गर्नुभयो। यो संविधानविपरित छ।’

नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनाधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरे। यद्धपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे। उनले थपे,‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ। तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ। नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ। अनाधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन।’

प्रधानमन्त्री ओली संविधान र संघीयता कार्यान्वयनमा भन्दा पनि यसलाई कमजोर र मास्न उद्धत रहेको भन्ने कुरा हिजोको कदमबाट प्रष्ट हुने लालको आरोप छ। उनले भने, ‘प्रधानमन्त्री ओलीले  मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत लगायत पिछडिएका समुदायको मुद्दालाई  सम्बोधन गरेकाे छैन। उहाँले अधिकार नपाएका समुदाय र राज्यबीचको दूरी कम गर्न सक्नु भएन। तर हामीले त उहाँलाई संविधान संशोधन गर्नुहोस् भनेर नै सरकार गठन गर्दा विश्वासको मत दिएका थियौं।’ उनले ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफलतातर्फउन्मुख रहेको आरोप लगाए। उनले भने, ‘सरकारले गरेका प्रायः सबै निर्णयहरू विवादित छन्। मुलुकको संरचना नै परिवर्तन भएको अवस्थामा सरकारले भने आफ्नो भूमिका सोही अनुसार निर्वाह गर्न सकेको छैन।’  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन्। सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आँफैले सिफारिश गरेको प्रधानन्यायाधीशलाई अस्वीकृत गर्नेलगायत नागरिकको अधिकार खोस्ने खालको निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै नेता खड्काले सरकारले यस्ता लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए आफ्नो पार्टी सडक र सदन दुवै ठाउँबाट संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए।

सरकारले ७८ पृष्ठ लामो ५ महिने उपलब्धिहरू सार्वजनिक गरेको बताउँदै उनले भने, ‘७८ पृष्ठमा उल्लेख गरिएका अधिकांश उपलब्धिहरू ५ महिनामा गर्न सकिने कामहरु छैनन्। तुइन विस्थापित् गरेर झोलुङे पुलहरू बनाउने, सडक पुलहरू बनाएको र २८ मेगावाट विद्युत उत्पादनको परियोजना बनाएको कुरा उल्लेख गरिएको छ। जुन ५ महिनामा हुनै नसक्ने कुरा छन्। ती कामहरू त पहिल्यैदेखि हुँदै आएका हुन्।’ सरकारले यातायात क्षेत्रको एकाधिकार हटाउन सफल भएको भनेर दाबी गरे पनि अहिलेसम्म पनि सिण्डिकेटको समस्या यथावत नै रहेको उनको आरोप छ। 

नेता खड्काले भने,‘रुट परमिटको समस्या अहिले पनि यथावत छ। सुन तस्करी प्रकरणमा साना माछा समात्ने काम मात्रै भयो। ठूला माछाहरू समात्ने काम भएन्।’ त्यस्तै उनले राजश्व लक्ष्य गरिएको भन्दा २ अर्ब बढी नै उठेको सुनाउँदै भने,‘राजश्व त पहिलेदेखि नै उठिरहेको छ। लक्ष्यभन्दा बढी नै उठिरहेको छ। यो साउनको लक्ष्य पनि लगभग पूरा हुन्छ।’

नेता खड्काले वर्तमान सरकारले करको दर बढाएर जनतामा ठूलो आर्थिक बोझ थोपरेका पनि आरोप लगाए। उनले भने, ‘जनतामा करको बोझ लगाउनु हुँदैन। यसले आर्थिक उच्छृखंलता पैदा गर्छ। यो पनि सरकारको असफलता हो।’ उनले भने, ‘सरकारले समृद्धि हासिल गर्नको लागि परिणाममुखी काम गर्नुपर्छ। प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर सम्वाद गर्न तयार हुनुपर्छ।’ समृद्धिको नारा दिएपनि यसबारे सरकारको अहिलेसम्म मिशन स्पष्ट नभएको उनको आरोप छ। उनले थपे, ‘सरकारले खाली समृद्धि, समृद्धिमात्रै भनेको छ। पानीजहाज र रेलको कुरा गरेको छ। तर समृद्धिको जग बसाल्ने गरी कुनै काम गरेको पाइएन।’ अहिले सरकार कुनैपनि दृष्टिकोणले सफल नभएको बताउँदै खड्काले सरकार रुमलिएको आरोप लगाए। 

फरक प्रसंगमा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को सभामा गरेको सम्बोधनलाई लिएर टिप्पणी गर्दै भने, ‘उहाँले बोल्न पाउनुहुन्छ। तर यसको लागि विधि बनाउँदा राम्रो हुन्छ। हाम्रो संसदमा भारतीय प्रधानमन्त्री मोदी आउँदा पनि सम्बोधन गर्नुभएको थियो। परराष्ट्र र सुरक्षा संघले हेर्ने भएकोले प्रधानमन्त्रीको सम्बोधनलाई अन्यथा भन्न मिल्दैन।’ संविधान संशोधनबारे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अहिले कुनै चिन्ता नभएको पनि उनले आरोप लगाए। उनले भने,‘संविधान संशोधनको मुद्दालाई थाँती राख्नु हुँदैन्। भोलि यी मुद्दा कुनै न कुनै रुपमा उठ्न सक्छन्। यसमा सबै पक्ष गम्भीर हुन जरुरी छ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन्। उनले भने,‘ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास र समृद्धिको लागि लगाएको छ। यो ६ महिनाको कार्यकाल पूर्ण सफल भएको छ।’नेता पाण्डेले वर्तमान सरकारले यो ६ महिनामा यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा हटाउने काम गरेको र अन्य क्षेत्रमा व्याप्त रहेका एकाधिकारलाई पनि हटाएर व्यवस्थित् गरेको, तस्करीलाई नियन्त्रण गरेको, सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको र राजदूत नियुक्तिको मापदण्ड बनाउने लगायत समृद्धि र विकासका योजना बनाएको भन्दै राम्रा कामको फेहरिस्त सुनाए। 

प्रधानमन्त्री ओलीको सोच र उनी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतालाई दुरगामी फल प्राप्त हुनेपनि उनको विश्वास छ। उनले भने, ‘सरकारले कृषि उत्पादनलाई दोब्बर बनाउने भनेको छ। भारतसँगको सम्बन्ध सुमधुर बनाएको छ। रेलमार्ग बनाउने कुरा यही सरकारले पहिलो पटक गरेको हो। चीनसँगपनि हामीले कनेक्टिभिटी जोड्ने भनेर समझदारी गरेका छौं। भारत र चीन दुवै देशबाट रेल आउँछ। भारत र चीन दुवै देशसँग सरकारले बलियो र सुमधुर सम्बन्ध बनाएको छ।’

 प्रधानमन्त्री ओलीले मुलुकको अहित हुने काम कहिल्यै पनि नगरेको र आगामी दिनमा पनि नगर्ने उनको दाबी थियो। उनले भने, ‘मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचे पनि हुन्छ। उहाँले कहिल्यै पनि मुलुक र जनताको अहित हुने कुरा सोच्नु हुन्न।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.