|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा सत्ता साझेदार नेपाली कांग्रेसले सहयोग गर्नेमा आशंका गरेका छन्।   

बिहीबार बसेको माओवादीको हेडक्वार्टर बैठकमा पार्टी अध्यक्ष प्रचण्डले महाभियोग प्रस्तावको पक्षमा एमालेले सहयोग गरेपनि कांग्रेसले सहयोग गर्नेमा आशंका गरेका हुन्। बैठकमा महाभियोगको प्रस्तावबारे जानकारी गराउँदै उनले भनेका थिए ‘तपाईहरु सबैलाई थाहा भइसकेको छ, संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा हाम्रा पार्टीका सांसद् महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले सचेतक भानुभक्त ढकाल समर्थक भई महाभियोग प्रस्ताव दर्ता भएको छ, त्यसबारेमा आवश्यक गृहकार्य गर्न बाँकी नै छ, तसर्थ गृहकार्य नभएसम्म हामी कुनै पनि निर्णयमा पुग्दैनौं।’

प्रचण्डले आफ्नै पार्टीका सांसद प्रस्तावक रहेको महाभियोग प्रस्तावबारे सुझबुझपूर्ण कदम चाल्न आवश्यक रहेको बताए। ‘संसदमा दर्ता भएको महाभियोगको प्रस्तावबारे अहिले हामीले केही भन्न मिल्दैन, यसबारेमा गृहकार्य पुगेको छैन, यद्यपी हाम्रा पार्टीका जिम्मेवार कमरेडहरुले पनि त्यसमा हस्ताक्षर गरेको हुनाले हामी गृहकार्यसहित अघि बढ्नुपर्ने हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो। 

महाअभियोगको प्रस्तावमाथि मतदान भएमा प्रमुख प्रतिपक्षी नेकपा एमाले त्यसका पक्षमा उभिनेमा प्रचण्ड विश्वस्त छन्। तर कांग्रेसले पक्षमा मतदात गर्लान् या विपक्षमा भन्नेमा भने उनी विश्वस्त छैनन्। हेडक्वार्टर बैठकमा प्रचण्डको भनाई उधृत गर्दै माओवादी श्रोतले भन्यो ‘महाभियोगको प्रस्तावबारे एमालेसँग धेरै छलफल गर्न आवश्यक छैन, सत्तारुढ कांग्रेससँग छलफल गर्नुपर्ने देखिन्छ। त्यसैले नेपाली कांग्रेससँगको छलफलपछि मात्रै हामी आवश्यक निर्णय लिन्छौँ।’

सभामुख आनेसरी घर्ती मगरसँग समेत आवश्यक परामर्श गरेर सरकारको नेतृत्वकर्ताको भूमिका आफूले खेल्ने र त्यसमाथि पार्टीले साथ दिनुपर्ने प्रचण्डको भनाई थियो। ‘महाअभियोगको प्रस्तावबारे सरकारको नेतृत्वकर्ताको हैसियतले म भूमिका निर्वाह गर्छु, कांग्रेस र सभामुखसँग पनि आवश्यक छलफल गर्छु, तपाई कमरेडहरुले मलाई साथ दिनुहोला’ बैठकमा उनले भनेका थिए। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि महाअिभयोगको प्रस्तावबारे नेपाली कांग्रेस र सभामुखसँग आवश्यक छलफल र परामर्श गर्ने जानकारी दिएकी थिइन्। 

के-के भयो बैठकमा

बिहान ९ बजे आफ्नो निजी निवास लाजिम्पाटमा बसेको बैठकमा प्रधामन्त्री प्रचण्डले सुरुमा आफ्नो गोवामा चीनका राष्ट्रपति सि जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाटबारे बिफ्रिङ गरेका थिए। ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनका क्रममा गोवामा संयोगले भएको दुई राष्ट्रप्रमुखसँगको भेटमा मैले राखेको त्रिदेशीय साझेदारीको प्रस्तावलाई सकारात्मक रुपमा लिनु र त्यसलाई देशको पक्षमा सदुपयोग गर्न सक्नुलाई हामीले ठूलो उपलब्धी मान्नुपर्छ’ बैठकमा उनले भने, ‘भ्रमणबारे अनावश्यक रुपमा फैलाइएको भ्रमण र प्रचारबाजीले भ्रमणको उपलब्धीमाथि आँच पुगेको छ, त्यसलाई हामीले चिर्नुपर्ने हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.