|

काठमाडौं : आगामी १४ र १५ भदौमा काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) सम्मेलनमा आउने विशिष्ट पाहुनाहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले वीर अस्पतालको भिभिआइपी क्याविनदेखि केही निजी अस्पतालहरूमा भिभिआइपी उपचार गर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मेलनमा आउने पाहुनाहरूको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलन स्थल र पाहुना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा गरी आकस्मिक सेवा दिने तयारी गरेको छ।

युनिट प्रमुख चूडामणि भण्डारीका अनुसार भिभिआइपीको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलन स्थल र होटलमा ए ग्रेडका एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा राखिएको छ।

इमर्जेन्सी सेवाबाहेक उपत्यकाका चार अस्पताललाई तयारी अवस्थामा राखिएको छ, जसमा मुख्य रूपमा वीर अस्पतालमा रहँदै आएको भिभिआइपी उपचार कक्ष तयारी अवस्थामा छ। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा नर्भिक हस्पिटल र नेपाल मेडिसिटी हस्पिटललाई समेत तयारी अवस्थामा रहन भनिएको युनिट प्रमुख चूडामणि भण्डारीले जानाकारी दिए।

बिम्सटेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुखहरू नेपाल आउँदै छन्। सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, वर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन् ।

भिभिआइपी आउने दिन विमानस्थलमा दुईवटा विशेषज्ञ चिकित्सकसहितको ए ग्रेडको एम्बुलेन्स तयारी अवस्थामा रहन्छ। अर्को त्यस्तै कार्यक्रम हुने स्थानमा रहने भण्डारीले बताए। टोलीमा चार जना विशेषज्ञ चिकित्सक, नर्स, प्यारामेडिक्स र ल्याव टेक्निसियनसहितको सहभागिता रहनेछ।

भेन्टिलेटरसमेत हुने ए ग्रेडको एम्बुलेन्सका लागि मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरेको छ। त्यस्तै, नर्भिक र मेडिसिटी अस्पतालको एम्बुलेन्ससमेत प्रयोग हुन सक्ने भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.