|

उदयपुर : प्रदेश १ मा रहेका विभिन्न मन्त्रालयहरूले आफूले गरेका काम कारवाही सार्वजानिक गर्न बनाएका वेवसाइटहरू बेकामे जस्तै भएका छन्। प्रदेश १ को पोर्टल (http://p1.gov.np) अन्तर्गत रहेका विभिन्न मन्त्रालयका वेवसाइटहरू साइट अन्डर मेन्टिनेन्स मात्र देखाउने र नुखुल्ने गरेपछि बेकामै जस्तै भएका हुन्।

यी साइटमा अन्डर मेन्टिनेन्स भन्ने जानकारी आउँछ, जसले मर्मत भइरहेको भन्ने बुझिन्छ। अधिकांस मन्त्रालयका वेवसाइटबाट कुनै जानकारी लिनुपरे पाइँदैन। मन्त्रालयका वेवसाइटहरू चुस्तदुरुस्त हुनुपर्ने हुन् तर प्रदेश १ मा भने त्यस्तो देखिँदैन। प्रदेश पोर्टलभित्र प्रदेशका मन्त्रालयदेखि प्रादेशिक लेखा नियन्त्रणको कार्यालयलगायतका १२ वटा वेवसाइटहरू छन्, जसमा प्रदेश १ को प्रदेश सचिवालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाइट मात्र खुल्छन्।

यी मन्त्रालय र कार्यालयका वेवसाइट खुल्दैनन्

थाहाखवर डटकमले सोमबार दिउँसो प्रदेश १ का विभिन्न मन्त्रालयको वेवसाइट क्लिक गर्दा अधिकांश नखुलेका हुन्। नखुलेका मन्त्रालयका वेवसाइटहरूमा साइट अन्डर मेन्टिनेन्स भन्ने मात्र जानकारी दिन्छन्। प्रादेशिक लेखा नियन्त्रक कार्यालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका वेवसाइटबाट कुनै जानकारी तथा सूचना लिन सकिँदैन, जुन खुल्दैनन्। समस्या आएको साता बढी भइसकेको छ।

यसो भन्छन् प्रदेश १ का मुख्य सचिव न्यौपाने

मुख्य मन्त्रीका प्रेस सल्लाहाकार ध्रुव सुवेदीले वेवसाइटको बारेमा जानकारी नभएको बताए। ‘खुल्नुपर्ने हो’, उनले भने, ‘के भएको रहेछ त? म एक पटक खोलेर हेर्छु।’ विभिन्न मन्त्रालयहरूको नम्बरसमेत सोही वेवसाइटमा भएकाले वेवसाइट नुखल्ने मन्त्रालयसँग सम्पर्क हुन सकेन। प्रदेश १ का प्रदेश कार्यालयका मुख्य सचिव केदार न्याैपानेले हाल मर्मत भइरहेको जानकारी दिए। ‘कति मन्त्रालयका वेवसाइटहरूमा प्रविधिक समस्या छ’, उनले भने, ‘चार-पाँच दिनभित्र सबै मन्त्रालयका वेवसाइटहरू व्यवस्थित रूपमा संचालनमा आउनेछन्।’ प्रदेश १ का मुख्य सचिव न्याैपानेका अनुसार मर्मतका लागि अझै केही दिन लाग्नेछ।

पत्रकार भन्छन् : समस्यामा पर्‍यौँ

प्रदेश सरकारका मन्त्रालयका वेवसाइटहरू खुल्न छाडेपछि विशेष गरेर पत्रकारहरू समस्या परेको बताउँछन्। उदयपुरका पत्रकार तुलसीप्रसाद कोइरालाले गएको तीन दिनदेखि वेवसाइट नुखुलेकाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका केही महत्त्वपूर्ण जानकारीहरू लिन नपाएको गुनासो गरे। ‘केही मन्त्रालयका निर्णय, विधेयक हेर्नुपर्ने थियो’, कोइरालाले भने, ‘मन्त्रालयको वेवसाइट नै नखुलेपछि समस्यामा परिएको छ।’

नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले प्रदेश १ का मुख्य सचिवसँग छिटोभन्दा छिटो वेवसाइटहरू संचालनमा ल्याउन आग्रह गरेको बताए। ‘धेरै पत्रकार साथीहरूले प्रदेश मन्त्रालयको वेवसाइट नुखुलेको गुनासो गरे', महासचिव गौतमले भने, ‘मैले मुख्य सचिवज्यूलाई भेटेर छिटोभन्दा छिटो मर्मत गर्न आग्रह गरेको छु। उहाँले एक साताभित्र संचालनमा आउने जानकारी दिनुभएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.