|

बाँके : नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष सिपी देवकोटाले अाफू नेपाली कांग्रेस बाँकेका नेता एवं पूर्व सांसद मैकुलाल बाल्मिकीबाट कुटिएकाे बताए। नेपालगन्ज हेल्थ क्याम्पसको चरम लापरवाहीका कारण सोही कलेजमा अध्ययनरत विद्यार्थीले परीक्षा दिन नपाएको विरोधमा नेपाल विद्यार्थी संघले कलेजमा लगायतको तालावन्दीको विषयमा छलफल गर्न बोलाएर पूर्व सांसद बाल्मिकीले आफूमाथि आक्रमण गरेको देवकोटाले आरोप लगाएका हुन्। 

अध्यक्ष देवकोटाले क्याम्पस संचालक बाल्मिकीले गुण्डा लगाएर आफूमाथि कुटपिट गरेको बताए। ‘आफ्नै नेताबाट कुटिनु पर्ला भन्ने सोँचेको पनि थिएन। उहाँ (बाल्मिकी) ले पालेका गुण्डाले आक्रमण गर्ने बेला बाल्मिकी आफूले पनि  हातपात गरे,’ घाइते देवकोटाले भने। घाइते देवकोटाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। कुटाइबाट घाइते देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ। 

नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले विद्यार्थी नेतामाथि भएको आक्रमणको निन्दा गरेका छन्। बार्ताको नाममा विद्यार्थी नेतामाथि आक्रमण हुनु अति निन्दनीय भएको बताए। उनले क्याम्पस संचालक मैकुलाल बाल्मिकीले पालेका गुण्डाले विद्यार्थीमाथि आक्रमण गरेको बताउँदै शैक्षिक माफियाले दादागिरी देखाएको आरोप लगाए। उनले घटनाको छानविन गरी आक्रमण गर्ने र गर्न लगाउने ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे। यसैवीच, विभिन्न विद्यार्थी संगठनले पनि घटनाको भर्सना गरेका छन्। वार्तामा बोलाएर विद्यार्थी नेतामाथि आक्रमण गर्नु दुखद भएको बताउँदै विद्यार्थी संगठनले घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेकाे छ। 

‘संगठनको माग सुनुवाई गर्नुको सट्टा गुण्डा लगाएर क्याम्पस संचालक आफै पनि हातपातमा उत्रनु गैरजिम्मेवारी हो, घटनाको छानविन गरी दोषीलाई कडाभन्दा कडा कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं,’अखिल क्रान्तिकारीेका केन्द्रीय सदस्य तुलसीमणि केसीले भने। अनेरास्ववियूका अध्यक्ष मोहित शाहले पनि विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन्। उनले घटनामा संलग्न ब्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेका छन्। 

देवकोटामाथि आक्रमण भएको छैनः पूर्व सांसद बाल्मिकी

तर, नेपालगन्ज हेल्थ क्याम्पसका संचालक समेत रहेका पूर्व सांसद बाल्मिकीले बार्ताका क्रममा चर्काचर्की भएको बताउँदै बार्तामा बसेका नेपाल विद्यार्थी संघका दुई पक्ष बीच कुटाकुट भएको दावी गरे। उनले उनले देवकोटा समूहका विद्यार्थीको आक्रमणमा परी देव्रे हातमा चोट लागेको बताए। उनले देवकोटामाथि गुण्डा परिचालन नगरेको दावी गरे।

आफ्नै पार्टीको विद्यार्थी नेतामाथि आक्रमण गर्ने मनसाय नभएको उनको भनाई छ। ‘बचाउ गर्दा मेरो हातमा घाउ भएको छ। ममाथि आक्रमण भएपछि नेपाल विद्यार्थी संघको अर्को पक्षले बचाउन खोज्दा देवकोटालाई चोट लाग्न पुग्यो,’ उनले भने, ‘गुण्डा परिचालन गर्ने कुरा मैले सोँच्न पनि सक्दैन।’ उनले तालाबन्दीको नाममा नेपाल विद्यार्थी संघको देवकोटा समूहले पैसाको बार्गेनिङ गरेको आरोप लगाए। उनले विद्यार्थीले क्याम्पससँग दुईलाख लाख ५० हजार रुपैयाँ मागेको दावी गरे। उनले माग गरेको रकम नदिने र प्रशासनको सहयोगमा ताला खुलाउने प्रयास गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.