|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारसम्ममा विधान मस्यौदा समिति गठन तयारी गरेका छन्। पार्टीको विधान परिमार्जनका लागि गठन हुने मस्यौदा समितिको नामवली पनि लगभग टुंगो लागि सकेका कारण मंगलबार मस्यौदा समिति गठन हुने सम्भावना छ। 

पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण गठन हुन नसकेको मस्यौदा समितिमा बस्नेको नामवली लगभग टुंगिएका कारण देउवाले मंगलबार नै समिति गठनको तयारी गरेको पार्टीको उच्च स्रोतको दाबी छ। भदौमा महासमिति बैठक बस्ने गरी गत असारबाटै देउवाले मस्यौदा समिति गठनको तयारी थालेका थिए। तर पार्टीको आन्तरिक विवाद र पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समयमै नाम नदिएका कारण गठनमा ढिलाई भएको स्रोतको दाबी छ।

तर पौडेल समूहले भने १५ दिनअघि नै नाम दिइसकेको दाबी गर्दै आएको छ। स्रोतका अनुसार विधान परिमार्जन समितिमा पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र प्रदीप पौडेल रहने सम्भावन छ। पौडेलले यी नाम देउवालाई बुझाइसकेका छन्। 

यस्तै, सभापति समूहबाट संयोजक समिति पूर्णबहादुर खड्का रहने छ। सदस्यमा सभापति समूहबाट मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव र रमेश लेखकको नाम लगभग निश्चित जस्तै छ। यसअघि भएको सहमतिअनुसार विधान मस्यौदा समिति नौ सदस्य रहने छ। यसमा देउवा समूहबाट एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको देउवा निकट स्रोतको दाबी छ।

‘अब एक जनाको नाम टुंगो लाग्न बाँकी छ’, स्रोतले भन्यो, ‘समावेशी बनाउँदा मधेशी, दलित, महिला सबै मिलेको छ। अब एक जना जनजातिको नाम आउन सक्छ।’ तर मस्यौदा समितिमा बस्नेको आकांक्षी धेरै भएका कारण देउवाले ९ बाट ११ सदस्यीय बनाउने कोसिस गरिहेको स्रोतले जनाएको छ। ‘अहिले ९ सदस्यीय बन्ने सहमति भएको छ’, स्रोतले भन्यो,‘अब दुई जनाको संख्या बढ्न पनि सक्छ। यसबारे सभापतिले भोलि छलफल गर्नुहुनेछ।’

देउवाले यसअघिनै मस्यौदा समिति गठनको तयारी गरेका थिए तर विदेश भ्रमणमा जानुपर्ने भएका कारण उनले मस्यौदा समिति गठन गर्न सकेनन्। सभापति देउवा आइतबार मात्र विदेश भ्रमणबाट फर्किएका हुन्।

देउवाले मस्यौदा समिति गठनमा ढिलाई गरेसँगै उनीइतरका नेताहरूले महासमिति टार्न खोजेको आरोप लगाउँदै आएका थिए। देउवाले आफ्नो कार्यकनाल लम्याउन मस्यौदा समिति गठनमा ढिलाई गर्न खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन्। देउवाको कार्यकाल आगामी वर्ष सकिँदैछ तर पार्टीको विधानअनुसार थप एक वर्ष र संविधानअनुसार ६ महिना म्याद थप्न पाउने व्यवस्था छ। 

पार्टीको विधान परिमार्जन नभए महाधिवेशन गर्न समस्या छ। संविधान निर्माण भएको तीन वर्ष बितिसक्दा पनि कांग्रेसको विधान संघीयताअनुसार छैन। पार्टीलाई संघीय संरचनाअनुसार अघि बढाउन पनि विधान परिमार्जन आवश्यक छ। 

यदी मंगलबार मस्यौदा समिति गठन भए दशैँ अघि महासमिति बैठकको सम्भावना रहेको देउवा निकट एक नेताले बताए। उनका अनुसार मस्यौदा समितिले ४५ दिनमा मस्यौदाको खाका तयार पारी सक्नेछ। तर देउवाइतरका नेताहरू भने अब तिहारअघि महासमितिको सम्भावना देख्दैनन्।

यस्तै, देउवाले विभिन्न विभागहरू पनि बनाउने तयारी गरेका छन्। निर्वाचित भएको दुई महिनाभित्र गठन हुनुपर्ने विभागहरू अझै गठन भएका छैनन्। यसका बारेमा छलफल गर्न देउवाले भदौ ८ गते केन्द्रीय समिति बैठक बोलाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.