|

काभ्रेपलाञ्चोक : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुसँग पुनर्निर्माणको कार्यमा देखिएका समस्याहरुको समाधान गर्ने विषयमा अन्तर्क्रिया थालनी गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटा नै स्थानीय तहका प्रमुख, प्रकाशकीय अधिकृत, अधिकृत, वडाध्यक्ष, फोकल पर्सन र वडा सचिवहरुका लागि पुनर्निर्माण सम्बन्धी ऐन, नियम, निर्णय तथा सम्झौता र गुनासोसम्बन्धी पुनरावेदन कसरी गर्ने भन्ने विषयमा जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको हो।

‘जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई ऐन, नियम, केन्द्रले गरेको निर्णय सम्झौताको प्रक्रिया र गुनासो सुनुवाइसम्बन्धी पुनरावेदन कसरी गर्ने भन्ने विषयमा अन्योल देखिएकाले कार्यालयले सहजीकरण गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले भने ।

कार्यक्रममा जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले स्थानीयस्तरमा आएको समस्याहरुको सुनुवाइ समयमा नै नभएको, भूकम्प पीडितहरूको गुनासो भरेर पठाएका विवरण पटक\पटक सम्बन्धित ठाउँमा पठाउँदा पनि राम्रोसँग सम्बोधन नभई पुरानै विवरण दोहोर्‍याएर पठाउने गरेको, मर्मत एवं अन्य ठाउँमा घर भए पनि विविध समस्याका कारण निर्माण गर्ने अवस्था सिर्जना हुने जस्ता समस्या समाधानको लागि प्राधिकरणबाट प्रष्ट नीति र जानकारी स्थानीय तहको वडास्तरमा समयमा नै लिखित रूपमा जानकारी पठाउनु पर्ने लगायतका विषयमा तत्काल सम्बोधन गर्नु पर्ने आवाज उठाएका छन्।

धुलिखेल नगरपालिका–७ का वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले नेवार बस्ती रहेका धुलिखेल, बनेपा र पनौतीलगायतका ठाउँमा जोडिएर बनाएका पुराना घरहरु पूर्ण क्षति भनेर सुरुमा भनेपनि त्यसैमा मर्मत गरी बस्नेहरूले पहिलो किस्ता लिइसकेर अब घर नबनाउने अवस्थामा भएकाले त्यस्ताहरुका लागि कसरी सम्बोधन गर्ने भन्ने विषयमा समस्या भएको बताए। उनले त्यस्ता विषयमा प्राधिकरणले नियम नबनाएको कारण अलमलमा परेको बताएका छन्। 

छलफलमा जनप्रतिनिधि र कर्मचारीहरुले उठाएका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नीति, अनुगमन, समन्वय तथा सामाजिक विकास महाशाखाका उप–सचिव प्रेम कुमार घिमिरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले सहजीकरण गरेका छन्।

सोमबारबाट शुरु गरिएको अन्तर्क्रिया कार्यक्रम ६ गतेसम्म चल्ने कार्यालयले जनाएको छ। कार्यक्रमको पहिलो दिन धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा खानीखोला गाउँपालिका गरी चार वटा स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरूसँग छलफल भएको छ। त्यस्तै मंगलबार पाँचखाल, नमोबुद्ध र मण्डन देउपुर नगरपालिका तथा चौरी देउराली गाउँपालिकाका जनप्रतिनिधिहरू एवं कर्मचारीहरुसँग छलफल हुने र तेस्रो दिन महाभारत, रोशी, तेमाल र भूम्लु गाउँपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरुसँग छलफल हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकका प्रमुख रेग्मीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.