|

युरोपियन फुटबल एसोसिएसन (युईएफए)ले च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको अवार्डका लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको छ। युईएफएले सोमबार सार्वजनिक गरेको उत्कृष्ट तीनको सूचिमा पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका महोमद सलाह छन्। तर, अर्जेन्टिनी स्टार लियोनल मेसी भने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको अन्तिम तीन सूचीमा पर्न असफल भए।

गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका मेसी उत्कृष्ट तीनको सूचीमा परेनन्। तर, मेसी च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको सर्ट लिस्टमा भने परेका छन्।

अघिल्लो सिजन ‘उत्कृष्ट फरवार्ड’को अवार्ड जितेका रोनाल्डोले च्याम्पियन्स लिगमा गत सिजन १५ गोल गर्दै रियल म्याड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका थिए। रोनाल्डो च्याम्पियन्स लिग उपाधि ५ पाँच पटक जित्ने एक्ला खेलाडी हुन्। उनले रियलबाट ४ र इंग्लिस क्लब म्यान्चेस्टर युनाइडेटबाट १ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा निरन्तरको उत्कृष्ट प्रदर्शनकै कारण रोनाल्डोलाई युभेन्टसले आफ्नो क्लबमा अनुबन्धन गरेको छ।

क्रोएसियाका लुका मोड्रिच रियल म्याड्रिडका मिडफिल्डका भरपर्दा खेलाडी हुन्। रियललाई च्याम्पियन्स लिग उपाधिमा ह्याट्रिक गराउन मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै गोलका लागि सटिक पास उपलब्ध गराएका थिए। क्रोएसियालाई भर्खरै सम्पन्न विश्वकपको उपविजेता बनाएका मोड्रिच रुस विश्वकपको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए।

यस्तै, इजिप्टका फरवार्ड सलाहले गत सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट पदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा लिभरपुल गत सिजन च्यापिम्पयन्स लिगको उपविजेता बनेको थियो। सलाहले च्याम्पियन्स लिगमा १० गोल र ४ असिस्ट गरेका थिए।

उत्कृष्ट खेलाडीको मनोनयको चौथो नम्बरमा फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान छन्। उनले ७४ नम्बर पाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा एट्लेटिको म्याड्रिडले युरोपा कपको उपाधि जितेको थियो। त्यस्तै फ्रान्सलाई विश्वकप उपाधि दिलाउन पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै, ५५ नम्बर पाएका अर्जेन्टिनी स्टार लियोनल मेसी पाचौं नम्बरमा छन्।

त्यसैगरी ४३ अंक प्राप्त गरेका पिएसजीका किलियन एम्बाप्पे छैठौं स्थानमा छन् भने म्यान्चेस्टर सिटीका केभिन डे ब्रुइन २८ अंकका साथ सातौं स्थानमा परेका छन्। यस्तै, रियल म्याड्रिडका डिफेन्डर राफाइल भरान २३ अंकका साथ आठौं स्थानमा छन् भने नावौं स्थानमा चेल्सीका बेल्जियन स्टार इडेर्न हजार्ड छन्। उनले १५ अंक प्राप्त गरेका छन्। च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको सर्टलिस्टको १०औं नम्बरमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस छन्। उनले १२ अंक प्राप्त गरेका छन्।

उत्कृष्ट खेलाडीको घोषणा ३० अगस्टमा मोनाकोमा हुने २०१८–१९ को च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गर्ने कार्यक्रममा गरिने युइएफएले जनाएको छ। गत सिजन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरेका सबै ३२ क्लबका प्रशिक्षक र युरोपियन स्पोर्ट्स मिडिया ग्रुपले छानेका ५५ जना खेलकुद पत्रकार रहेको निर्णायक समितिले उत्कृष्ट खेलाडीको मनोनयन गरेको थियो।

अन्य विधाका उत्कृष्ट तीन खेलाडी

उत्कृष्ट गोलकिपर :  एलिन्सन बेकर (रोमा, ब्राजिल), जियानलुजी बुफोन (युभेन्टस, इटाली), केलर नाभास (रियल म्याड्रिड, कोस्टारिका)।

उत्कृष्ट डिफेन्डर : मार्सेलो (रियल म्याड्रिड, ब्राजिल), सर्जियो रामोस (रियल म्याड्रिड, स्पने), राफाइल भरान (रियल म्याड्रिड, फ्रान्स)।

उत्कृष्ट मिडफिलडर : केभिन डे ब्रुइन (म्यान्चेस्टर सिटी, बेल्जियम), टोनी क्रुस (रियल म्याड्रिड, जर्मनी), लुका मोड्रिच (रियल म्याड्रिड)।

उत्कृष्ट फरवार्ड : लियोनल मेसी (बासिलोना, अर्जेन्टिना), क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड, पोर्चुगल), महोमद सलाह (लिभरपुल, इजिप्ट)।

उत्कृष्ट युरोपा लिग खेलाडी : डिएगो गोर्डिन (एट्लेटिको म्याड्रिड, उरुग्वे), एन्टोइन ग्रिजम्यान (एट्लेटिको म्याड्रिड, फ्रान्स), दिमित्री पयट (मार्सेली, फ्रान्स)।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.