|

दाङ : घोराही उपमहानगरपालिका–५ मा  रहेको पाण्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं थार्मिक क्षेत्रको गन्तव्य  बन्न थालेको छ। दाङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुन थालको धाममा  विश्वकै अग्लो त्रिशुल राखेसँगै विभिन्न पूर्वाधारहरू निर्माण सुरु भएका छन्।

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा राखिएको विश्वकै सबैभन्दा ठूलो भनिएको त्रिशूल हेर्न आउनेको संख्या पनि बढेकोछ। ‘पहिले भन्दा धेरै विकास भएको छ, यहाँ बाह्य तथा आन्तरिक पर्यटकहरू धेरै आउने गरेका छन्’, स्थानीय राममणि योगीले भने। 

दैनिक मन्दिर दर्शन गर्न र रमणीय वातावरण हेर्न पनि धेरै व्यक्ति यहाँ अाउने गरेका छन्। यातायातको सुविधा र पाण्डवेश्वर महादेव धामसम्म जाने बाटोको कालोपत्रेसँगै पर्यटक पनि बढेको बताइएको छ।  शिवरात्रि तथा साउन महिनाभरि यहाँ घुइँचो लाग्छ। नजिकै सरयू गंगा, बबई नदी र वरपर हरियाली वातावरणले पर्यटकलाई अाकर्षित गर्छ।  

पछिलो समयमा  पर्यटन विकास लागि झण्डै  थप रकमसहित  गुरुयोजना बन्दैछ। यसअघि  ७० करोडको गुरुयोजना बनाएर काम अगाडि बढाइए पनि त्यसमा केही छुटेकाले नयाँ पूर्वाधारलाई समेट्दै नयाँ गुरुयोजना निर्माणको तयारी भइरहेको पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए। ‘पहिले गुरुयोजनामा केही छुटेका थियो त्यसलाई समेटदै नयाँ गुरुयोजना बनाउने तयारीमा छौँ’, उनले भने।

करिब  ७० करोडको गुरुयोजना अन्तर्गत अाेम् पोखरी, १०८ गौमुखी धारा लगायतका केही भौतिक संरचना निर्माण भइसकेका छन्। अब बन्ने नयाँ गुरुयोजनामा मन्दिरको उत्तरतर्फ करिब ४ विघा क्षेत्रफलमा तलाउ लगायत संरचना पनि तयार गर्ने योजना रहेको बताइएको छ।  त्यसैगरी  सुनकोट डाँडोसम्म चार हजार ९६३ सिँढी, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण तथा मन्दिर वरपरको वन संरक्षण लगायतका काम हुने सचिव आचार्यले बताए।

गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढाइने बताएको छ।  प्रदेश नं ५ ले यहाँको विकासका लागि पाँच करोड बजेट समेत विनियोजन गरेको छ। योसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा यस क्षेत्र विकास हुने अपेक्षा समेत गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.