|

दैलेख : बाइसे चौबीसे राज्यकालमा दुल्लु राज्य आफ्नै अस्तित्वको राज्यमा थियो। खस राजा नागराजको शीतकालीन राजधानी दुल्लु मानिन्थ्यो। जुम्लाको सिंजा हिउँदे राजधानी मानिएझैँ दुल्लु शीताकालीन राजधानी थियो। यो कुरा ऐतिहासिक वर्णनहरूमा उल्लेख गरिएको पाइन्छ। विभिन्न शिलालेखहरूमा यस ठाउँलाई दुर्लभ प्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ। यसको नामकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिए तापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको बीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछि अपभ्रंस हुँदै दुल्लु रहेको कुरा स्थानीय जनश्रुतिमा रहेको पाइन्छ।

नेपाल एकीकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत् १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लु राज्य नेपाल राज्यको अधीनस्थ भए तापनि  २०१८ सम्म यो छुट्टै राज्यका रूपमा रहेको थियो। तत्‌पश्चात् दुल्लु राज्य विघटन भएर दैलेख जिल्लामा गाभिएको थियो। यसपछि दुल्लु राज्यका सबै दराहरूलाई बाँडेर तत्कालीन गाउँ पंचायत बनाइएका थिए। पछिल्लो समयसम्म एक सानो गाउँ विकास समितिको रूपमा रहेको दुल्लु आसपासका साविकका छवटा गाविसहरू समायोजन गरी २०७१ बैशाख २५ गते दुल्लु नगरपालिका घोषणा भई २०७१ जेठ ५ गते विधिवत रूपमा स्थापना गरिएको हो।

गत वर्षको बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट घनश्याम भण्डारी निर्वाचित भएका छन्। लामो समयसम्म पत्रकारिता गरेका भण्डारीले २०६४ देखि २०६७ सालसम्म नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव भएर काम गरिसकेका छन्। प्रस्तुत छ दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग थाहाखबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी।

निर्वाचित  भएको एक वर्षमा तपाईंले खास केके काम गर्नुभयो?

दुल्लु नगरपालिकाको केन्द्रबाट संचालित सबै वडाका कार्यालयहरू सम्बन्धित वडा तहबाट संचालन भएका छन्। सेवा प्रवाह नागरिकको घरदैलोबाट भएको छ। सेवा र वस्तुको विकेन्द्रीकरण भएको छ। 

दुल्लु नगरपालिकाका वडा नं. १, २, ३, ४ र ५ का वडा कार्यालयको भवन निर्माण भइसकेको छ। वडा नं. ७ र ८ को नि:शुल्क जग्गा पास भएको छ। हामी यस वर्षभित्र ७ र ८ वडा कार्यालयका भवन बनाउने योजनामा छौँ। सहकारी स्वास्थ्य क्लिनिकको भवन निर्माणका लागि दुल्लु नगरपालिकाको वडा नं. ६ रातीमाटामा जग्गा किन्ने काम भएको छ। 

दुल्लु नगरपालिकामा रहेको काजी जसपाउ थापाको पौवा घरमा दुल्लु साँस्कृतिक संग्रहालयको स्थापना नागरिकहरूको सहभागितामा भएको छ। करिब २० जातिका सामग्री नागरिकहरूलाई नि:शुल्क उपलब्ध गराएका छौँ। पर्यटन सूचना केन्द्रको स्थापना भएको छ। नेपाली भाषाको पहिलो शिलालेख वि.सं. २०३८ र कृतिको संरक्षण गरेर पार्क निर्माण भएको छ। दुल्लु नगरपालिका वडा नं. ७ को विजया माविलाई नेपाल सरकारले नमुना विद्यालय घोषणा गरेर पुनर्निर्माणका लागि डिपिआर तयार भएको छ। दुल्लु नगरपालिकाले वडाका १३ वटा विद्यालयलाई नमुना घोषणा गरेर शैक्षिक सुधारका गतिविधि अगाडि बढाएको छ। एसिया प्यासिफिक टेलिकम नेटर्वक र आइसिसिडिएफको सहयोगमा पाँचवटा स्वास्थ्य चौकीको सेवा सुधारका लागि टेलिमेडिसिनको सुरुवात र १० किलोमिटर अप्टिकल फाइवर बिछ्याउने काम अन्तिम चरणमा रहेको छ। पंचकोशी वेद विद्याश्रमको विधिवत रूपमा दुल्लु नगरपालिका वडा नं.  १० को नाभिस्थानमा स्थापना भई अहिले कक्षा संचालनमा आएको छ। करिव ५० किलोमिटर नयाँ सडकको ट्र्याक खनिसकेका छौँ। ४५ किलोमिटर सडक चौडा पार्ने काम भएको छ। १५ किलोमिटर ग्राभेल भएको छ। ऐन नियम कानुन बनाउने काम सफल भएको छ। 

दुल्लु नगरपालिकाका मुख्य समस्याहरू केके छन्?

दुल्लु नगरपालिकाको मुख्य समस्या खानेपानीको हो। विद्युतीकरण, सडकको स्थायित्व, गुणस्तरीय शिक्षा प्रदानका लागि चुनौतीहरू छन्। दुल्लु नगरपालिकाको ६५ प्रतिशत भूभाग पूर्ण समस्यामा छ। डरलाग्दो अवस्था भूमिमाथिको दोहोरो स्वामित्वको छ। कर्णाली राजमार्ग क्षेत्रमा संचार सुविधासमेत छैन। दुल्लु नगरपालिकाका सबैभन्दा मुख्य समस्याहरू हुन्।

निर्वाचनको बेला गरिएका तपाईंका प्रतिबद्धता पूरा भए कि भएनन्? 

निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता सम्बोधन भएका छन। एक वर्षमा सबै समाधान गर्न पनि सकिँदैन र हुँदा पनि हुँदैनन्। पाँच वर्षका लागि प्रतिबद्धता गरेका थियौँ, त्यतिबेलासम्म सबै कुरा समाधान हुन्छ। इमान्दार भएर काम गर्दा पूरा नहुने कुरै छैन। राजनीति बुझेर लागेकालाई जनताका समस्या समाधान गर्न त्यति अप्ठ्यारो पनि छैन। आफूले चुनावका बेला गरेका सबै वाचा बाँकी चार वर्षमा पूरा गर्नेछु।

नगरपालिकाको आफ्नो आम्दानी के हो? राजश्व कति उठाउने लक्ष्य छ र कसरी पूरा हुन्छ?

नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत एकीकृत सम्पति कर हो। त्यो ३५ प्रतिशत जग्गाको मात्र उठ्छ। ६५ प्रतिशत गरिबी छ। २०५१ सालदेखि उठेको छैन। किसान मर्कामा छन्। ३० लाख रुपैयाँजति उठेको छ। गत आर्थिक वर्षमा भन्दा आगामी आवमा बढ्छ। करको दर घटाउने दायरा बढाउने लक्ष्यका साथ हामी अगाडि बढेका छौँ। 

हामी कर बढाउने होइन, करको दायरा बढाउने पक्षमा छौँ। नागरिकका कलेटी परेका ओठमा मुस्कान दिने हो हामीले, करको भारी बोकाउने होइन। उत्पादकत्व बढाउने हो। सेवा दिँदै आफैँ कर तिर्ने वातावरण सिर्जना गर्ने हो। 

समृद्ध नगरपालिका बनाउने तपाईंका योजनाहरू केके हुन्? 

शिक्षामा विकास गरेर कर्णाली प्रदेशको शैक्षिक हवको रूपमा विकास गर्ने योजना छ। दुल्लु कृषि क्याम्पस स्थापना, पंचकोशी प्राविधिक शिक्षालय स्थापना गर्ने र गुणस्तरीय शिक्षा नगरपालिकाको वडाबाट उपलब्ध गराउनेतर्फ लागिरहेका छौँ। दुल्लु अस्पतालको स्तर वृद्धि गरेर विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य दुल्लु नगरपालिकाको छ। पर्यटनका लागि पंचकोशी क्षेत्रको डिपिआर तयार गरी पर्यटकीय पूर्वाधार निर्माण गर्ने, पंचकोशी रिङरोड निर्माण गर्ने, कृषि उद्यमशीलताका आयामले रोजगारी सिर्जना गर्ने कामलाई निरन्तरता दिइनेछ।

औधोगिक क्षेत्रको स्थापना गर्ने र होमस्टेका माध्यमले पर्यटन प्रवर्द्धन गर्ने तथा खानेपानी, सडक, विद्युतीकरण र संचारको विकासले नागरिक बस्नलायक शहरको रूपमा दुल्लुलाई विकास गर्ने नगरपालिकाका योजनाहरू रहेका छन्।  

दुल्लु आफैँमा धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण स्थान हो, यसका लागि नगरले केके काम गरेको छ?

साँस्कृतिक, ऐतिहासिक र धार्मिक रूपले दुल्लु महत्त्वपूर्ण छ। 'सिंजा हाट, दुल्लु विरष्ट' यो भनाइले कर्णालीसम्मको मुख्य ठाउँ दुल्लु हो भन्ने कुरा प्रमाणित गर्ने आधारहरू छन्। दुल्लुमा पंचकोशीका पाँच मुख्य मन्दिर रहेका छन्। तल्लो डुङ्गेश्वर, पादुका, धुलेश्वर, नाभिस्थान, शिरिस्थानको आधा भाग दुल्लुमा रहेको छ। भाषाको पहिलो शिलालेख अभिलेख, खम्ब देवल जातजातिको आदि भूमिका सबैले दुल्लु विशिष्ट छ। यसको धार्मिक पर्यटकीय विकासका लागि विशेष योजना ल्याएर अगाडि बढेका छौँ। पर्यटन बोर्डको समन्वयमा गन्तव्य सूचीमा पंचकोशी र दुल्लु क्षेत्र समावेश गराउने प्रस्ताव पेस गरेका छौँ। 

हालसम्म पूर्वाधार विकासका केके काम गर्नुभयो? 

सडक संजालमा वडाका र नगर केन्द्रमा जाने बाटो स्तरीय हुँदै छन्। वडाका विद्यालय, स्वास्थ्य चौकी र नगरको भवनहरू बन्दै छन्। खानेपानी योजना टोलस्तरका बनेका छन् र ठूला योजनाको डिपिआर तयार भएर कार्यान्वयनमा अगाडि बढेको छ। 

बाँकी रहेका चार वर्षमा नगरलाई कस्तो बनाउने योजनामा हुनुहुन्छ? 

घोषणापत्रमा उल्लेख भएबमोजिम नागरिक नगरमै बस्ने र बसाइँसराइ गर्नु नपर्ने, शिक्षा, स्वास्थ्य, संचार, यतायातको सहज पहुँचको शहरको रूपमा विकास हुन्छ। धार्मिक, साँस्कृतिक शहरका रूपमा नमुना दुल्लु हुन्छ। 

तपाईं लामो समय पत्रकारिताका क्षेत्रबाट राजनीति गर्दै नगर प्रमुख हुनुभयो। राजनीति र पत्रकारिताबीचमा के फरक पाउनुभयो? 

राजनीति र पत्रकारिता उस्तै हो। पत्रकारिताले समाजको भलो चाहन्छ, राजनीतिले भलो हुने काममा लगाउँछ। पत्रकारिता गर्दा पनि भोकै बसिन्थ्यो, राजनीतिमा पनि भोकै बस्नुपर्छ। रातदिन काम गर्दा यता पनि आनन्द छ। लोभ, मोह र लालच छोडेर हिजो पत्रकारितामा लागियो, आज राजनीतिमा छु। राजनीतिमा न कमाउने इच्छा छ, न त गरिब हुने चिन्ता। कहिले जुत्ताको माला, कहिले फूलको माला। गाली र ताली खान तयार हुँदा दुवै उस्तै हुन्।  

अहिले कर धेरै भयो भनेर जनता गुनासो गरिरहेका छन्। दुल्लु नगरपालिकामा करलाई कसरी व्यवस्थित बनाउनुभएको छ?

तीन वर्षदेखि दुल्लुमा करको दर उही छ। हामी कर बढाउने होइन, करको दायरा बढाउने पक्षमा छौँ। नागरिकका कलेटी परेका ओठमा मुस्कान दिने हो हामीले, करको भारी बोकाउने होइन। उत्पादकत्व बढाउने हो। सेवा दिँदै आफैँ कर तिर्ने वातावरण सिर्जना गर्ने हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.