प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार, दुईजना पक्राउ

|

कञ्चनपुर : भीमदत्तनगरपालिका २ की १३ बर्षिया निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेपछि महेन्द्रनगर बजार तनावग्रस्त भएको छ।

प्रहरीले प्रदर्शनकारीमाथि तीन सेल अश्रुग्यास प्रहार गरेको छ। दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो। उनी साथीकोमा पढ्न गएकी थिइन्। १५ मिनेटको दूरीमा रहेको साथीको घर पुगेर राति घर नफर्किएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो।

उक्त घटनामा संलग्न भनेर मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई हत्यारा घोषित गरेर प्रहरीले अनुसन्धानबाट पन्छिन खोजेको भन्दै स्थानीय आक्रोसित भएका छन्।

प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा सोमबार साँझ भीमदत्तनगरपालिका २ उल्टाखाम खन्ना चौराहका ४१ बर्षीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो। स्थानीयले सक्कली हत्याराको खोजी गर्न माग गर्दै मंगलबार महेन्द्रनगर बजार बन्द गरेका हुन्।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका सवारी साधन ठप्प पारेका छन्। आक्रोशित स्थानीय सरकारी कार्यालयसमेत बन्द गराउँदै हिडेका छन्। प्रहरीविरुद्ध स्थानीय बासिन्दाले चर्का नारा लगाउँदै बजार क्षेत्रमा प्रर्दशन गरिरहेका छन्। सम्भावित घटना रोक्नका लागि ठाउँ ठाउँमा प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ।

जिल्ला प्रशासन कार्यालय घेराउ

सक्कली हत्याका आरोपीको खोजी गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन्। चर्को नाराबाजी गर्दै  सयौंको संख्यामा रहेका स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन्। मानसिक रोगीलाई हत्याको दोषी देखाई प्रहरीले पन्छिन खोजेको आरोप  स्थानीयको छ।

तीन दिनदेखि रिले अनशन

१३ बर्षीया पन्तको हत्या भएको चार साता बित्नै लाग्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय अगाडि तीन दिनदेखि रिले अनशनमा बसेका छन्। महिला अधिकारकर्मी मीना भण्डारीको नेतृत्वमा रिले अनशन शुरु गरिएको हो। रिले अनशनमा ८० बर्षीय जेष्ठ नागरिकको समेत सहभागिता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.