|

विराटनगर : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट जितेर गएका जनप्रतिनिधिलाई सुविधाभोगी नबन निर्देशन दिएका छन्। विराटनगरमा मंगलबार आयोजित १ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुविधाभोगी बन्ने कुरालाई त्याग गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका हुन्।

जनताको सेवाका लागि स्थानीय तहका लागि बजेट निकासा गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसैमा केन्द्रीत हुन र अन्यत्र खर्च नगर्न पनि आग्रह गरे। ‘जनताको मन जित्ने काम गर्नुहोस्, जनताको सुखदुःखमा साथ दिनुहोस्, जनतालाई मन नपर्ने र जनतालाई दुःख पर्ने काम नगर्नुहोला,’ ओलीले भने, ‘लोकप्रिय बन्ने नाममा बर्को ओडेर खाने काम पनि नगर्नुहोला।’

प्रधानमन्त्री ओलीले जनताको सेवक भएर काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे। जनप्रिय बन्ने नाममा बर्को ओडेर अनावश्यक बोल्ने र भित्रभित्रै खाने प्रवृत्ति पनि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। ‘जनप्रतिनिधिले जनप्रिय काम गर्नुपर्छ, पार्टी कार्यकर्ताले राम्रो काम गर्न सुझाव दिनुपर्छ,’ ओलीले भने, ‘कसैलाई खुइल्याउने र आलोचना गर्ने मात्रै होइन रचनात्मक सुझाव दिने र देशलाई समृद्ध बनाउने कुरामा ध्यान दिनुहोला ।’

आगामी २ वर्षभित्रमा विद्युत् बिक्री गर्ने अवस्थामा पुग्ने बताउँदै नेपालमा पूर्वपश्चिम विद्युतीय रेल कुद्नसक्ने पनि बताए। ‘कसैलाई रेलको कुरा गर्दा हाँस उठ्नसक्छ, तर नेपालमा पूर्वपश्चिम रेल कुदाउन सकिन्छ,’ ओलीले भने, ‘रेल कुदाउँदा तेल पनि चाहिँदैन, मान्छे पनि धेरै बोक्छ, बिजुलीबाटै रेल कुद्छ।’

कार्यक्रममा अध्यक्ष ओलीले पूर्वएमाले वा पूर्व माओवादीको नाममा आग्रह पूर्वाग्रह नराख्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘पूर्व एमाले–एमाले एक हुने, पूर्व माओवादी–माओवादी एक हुने त्यसपछि वार्गेनिङ गर्ने कुरा छोडिदिनुहोला,’ ओलीले भने, ‘एकताका क्रममा को तल को माथि हुने भन्ने विषय पनि छोडिदिनुहोला, सबै आवश्यकताको आधारमा हुने हो, आवश्यकताकै आधारमा  नेतृत्व पनि स्थापित हुन्छ।’

प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा संघीय सरकारका ऊर्जा तथा सिँचाइमन्त्री वर्षामान पुन अनन्तले पूर्वको विकासका लागि तमोर जलासययुक्त आयोजना तथा तमोर चिस्यान डाइभर्सन निर्माणका लागि पहल र प्रयत्न गर्ने बताए। उनले पनि ऐतिहासिक आवश्यकताका आधारमा पार्टी एकता भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले इतिहासमै पहिलो पटक नेकपालाई सम्पूर्ण सत्ताको बागडोर सम्हाल्ने अवसर प्राप्त भएको भन्दै त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिए। प्रशिक्षण कार्यक्रममा १ नम्बर प्रदेशका १५ सय बढी अगुवा कार्यकर्ताको उपस्थिति रहेको पार्टीले जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका मोरङ जिल्ला सदस्य शिव थापासहित तीन दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई प्रधानमन्त्री ओलीले टिका र अविर लगाएर स्वागत गरे।

यस्तै कार्यक्रममा अवसरमा बाढीपीडितको राहत रकम फिर्ता आउनुपर्ने भन्दै बाढीपीडित संघर्ष समिति तथा युवासंघ र वाइसिएल नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। मोरङको अंश मुद्दाका कारण विस्थापित बन्न लागेका साविक बबियाविर्ताका १५० घर परिवारले आफूहरू सुकुम्बासी बन्न लागेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.