|

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा रहेको नव दर्शन माध्यमिक विद्यालको भवन निर्माण सम्पन्न भएको चार महिनामै भासिएको छ।

२०७२ को विनाशकारी भूकम्पले सो विद्यालयको भवनमा क्षति पुर्‍याएपछि पुनः निर्माण कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो। विद्यालय भवनको दुवै साइटमा जमिन चिरापर्नुका साथै डिलतर्फको भागमा  पेटीसहित बगेपछि भवन जोखिममा परेको छ। भवन निर्माण गरिएको जमिन भासिएपछि पठनपाठन गर्न समेत जोखिम भएको विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द पौडेलले बताए। 

‘अभिभावकले आएर यो भवनमा विद्यार्थी राख्न सकिन्छ सर? भनेर प्रश्न गर्नुहुन्छ। अहिलेसम्म हामीले सकिन्छ भनेर सान्त्वना दिइरहेका छौं,' सहायक प्रधानाध्यापक पौडेलले भने, 'यो सान्त्वना  पनि कहिलेसम्म दिने हो, दिनदिनै भवन तलतल भासिंदै गएको छ।’

निर्माण व्यवसायीले विद्यालयको छेउतर्फको साइटमा रिटेनिङ वाल नलगाएकाले जमिन भासिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मानबहादुर खड्काको आरोप छ। 'त्यस ठाउँमा भूकम्प जानु पहिले रहेको विद्यालयको भवन पनि चर्किने, भत्किने गरेकाले तल्लोपटी साइटको काल्लामुनिबाट रिटेनिङ वाल लगाउनु पर्छ भनेका थियौं ,' खड्काले भने, 'तर इन्जिनियरले वास्ता गरेनन्।' प्राविधिक त्रुटिकै कारण विद्यालयको भवन भासिएको उनको आरोप छ।

विद्यालय भवन निर्माण भएको स्थानमा करिब ५० वर्ष पहिलेदेखि पहिरो बगिरहेको स्थानीय बताएका छन्। यो पहिरो गइरहने ठाउँ भएकाले यहाँको माटो परीक्षण गरेर मात्र भवन निर्माण गर्नुपर्छ भनी स्थानीयले सल्लाह दिंदा प्राविधिकले जमिन बलियो छ परीक्षण गर्नु पर्दैन भनेपछि भवन निर्माण गरिएको स्थानीय बलबहादुर सार्कीले बताए। प्राविधिकले स्थानीयको सल्लाहलाई बेवास्ता गर्दा विद्यालय भवनको हालत यस्तो भयो सार्कीको दावी छ। 

एसियाली विकास बैंकको अाठ करोड रुपैयाँ आर्थिक सहयोगमा खानी निर्माण सेवाले दुई वटा चार कोठे र दुई वटा छ कोठे गरि २० कोठे चार वटा भवन निर्माण गरेको थियो। लहरै निर्माण गरिएको चार वटा भवनको दुवै साइटमा वारपार नै जमिन चिरा परेको छ। ठेकेदार कम्पनी खानी निर्माण सेवाले भवन निर्माणको काम पेटी ठेकेदारलाई दिएको र पेटी ठेकेदारले पनि कमिसन लिएर दोस्रो पेटी ठेकेदारलाई दिएकाले गुणस्तरीय भवन निर्माण हुन नसकको पनि स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.