लुम्बिनीमा सिसाको विजनेस पार्क, सिद्धबाबामा ड्रागन टनेल

|

बुटवल : वि.सं. २०४९ मा चण्डीकालिका गाउँ विकास समिति स्याङ्जाका अध्यक्ष निर्वाचित भएका इन्जिनियर ओम शर्मा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख छन्।

पोखरा विमानस्थलको स्तरोन्नतिको जग हालेका उनको फेरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा भएको छ। विमानस्थल निर्माणको लामो अनुभव सँगालेका शर्मा स्याङ्जा पुतलीबजार- १४ जोगीचौरमा जन्मिएका थिए। इन्जिनियरिङ, अर्थशास्त्र र निर्माणमा स्नातकोत्तर र पर्यटनमा शोध गरेका शर्मा कानुनका पनि विद्यार्थी हुन्।

उनी विमानस्थलको कामबाट थोरै फुर्सद पाउनेबित्तिकै नयाँनयाँ परिकल्पनाहरू गरेर बस्छन्। भन्छन्, 'हाम्रो मुलुक धेरै संभावनाले भरिएको छ तर हामीले यसको उपयोग गरेर आम्दानी गर्न सकिरहेका छैनौँ।’

उनी आर्थिक समृद्धिका लागि आमसभा र भाषणबाट मात्रै नहुने भन्दै त्यसका लागि आम्दानी गर्ने खालका योजना, आयोजनाहरू संचालन गर्नुपर्ने तर्क गर्छन्। 
उनले केही यस्ता परिकल्पनाहरू गरेका छन्, जसले नेपालमा सजिलै पर्यटक भुलाउन सकिन्छ र त्यत्तिकै आम्दानी पनि।

लुम्बिनीमा सिसैसिसाको विजनेस पार्क

बुद्ध जन्मस्थल लुम्बिनी घुम्नलायक छ। यो बौद्धमार्गीहरूको सबैभन्दा प्रसिद्ध स्थल हो। यहाँ एक वर्षमा १५ लाख बढी पर्यटक आउँछन्। तर उनीहरूले लुम्बिनीमा औसतमा ३० मिनेट मात्रै बिताउँछन्। पर्यटक मायादेवी मन्दिर र विहारहरू हेरेर फर्किन्छन्।

लुम्बिनीसँगै जोडेर पर्यटक भुलाउने खालको अर्को मनोरम पर्यटकीय स्थलको खोजी भइरहेका बेला इन्जिनियर ओम शर्माले एउटा परिकल्पना गरेका छन्, 
जसलाई कार्यान्वयनमा ल्याउने हो भने पर्यटक भुलाउन सकिने तर्क उनी गर्छन्। उनले देखेको सपना यसरी सुनाए।

लुम्बिनी गुरुयोजना क्षेत्रको पूर्वी प्रवेश मार्ग (लुम्बिनी–तौलिहवा सडक)देखि डेढ किलोमिटरसम्म सिसैसिसाको विजनेस पार्क बनाउने। यो टनेल शैलीको हुनेछ। टनेलको प्रवेशद्वारबाट अलिकति ओरालो हुँदै भित्र प्रवेश गरिन्छ र निस्कँदा अलिकति उकालो हुँदै निस्किन मिल्छ। यसको माथिपट्टिबाट सिसा लगाउने र बीचमा खाली भाग राख्ने, खाली भागमा पानी भरेर मौसमअनुकूलका माछा र माछा प्रजातिका जीवहरू पाल्ने।

लुम्बिनीको गर्मीमा यो एकदमै गजबको स्थान हुने उनको कल्पना छ। ‘तीन तला जस्तो भूमिगत क्षेत्र बन्नेछ, जहाँ भित्रबाट हेर्दा समुद्रभित्रको बजार जस्तो सानोसानो सडक बजार बनाउने, भित्रै सडकको छेउछाउमा आराम गर्न मिल्ने स्थानहरू बनाउने, बाहिर बगैँचा बनाउने गरी काम गर्न सकिन्छ', उनी सुनाउँछन्। यसको लागतसमेत उनले निकालेका छन्। ‘अलि धेरै नै राम्रो बनाअौँ भन्ने हो भने पाँच अर्ब र एकदमै सामान्य खालले बनाअौँ भन्ने हो भने दुई अर्ब रुपैयाँमा यो प्रोजेक्ट सकिन्छ', उनले भने, 'अहिले जति पर्यटक लुम्बिनी आएका छन्, यो बनाइसकेपछि त्यसमा १० गुणा वृद्धि हुन्छ।’ 

लुम्बिनीकै लागि अर्को प्रोजेक्टको कल्पना पनि उनले गरेका छन्। 

'लुम्बिनी ग्रेट वाल विद लेजी केवलकार'

शर्माको परिकल्पनाअनुसार लुम्बिनीको गुरुयोजना क्षेत्रको बाहिरी भागमा १२ किलोमिटर वरिपरि २० फुटदेखि १०० फुटसम्मको पर्खाल बनाउन सकिन्छ। यो बनाए के हुन्छ? शर्मा प्रष्ट्याउँछन्, 'लुम्बिनीमा पर्यटक भुलाउने अर्को उपाय यो हुनसक्छ।’ 

उनले देखेका सपना

पर्खालमा लगाउने सबै इँटामा बुद्धको आकृति अंकित गर्ने। यसले दशौँ लाख बुद्ध रहेको स्थानको रूपमा पनि प्रचार गर्न सकिन्छ- 'वाल विद मिलियन्स अफ बुद्धज्।' पर्खालमाथि सानासाना कफी सपहरू, शीतल छहारीहरू बनाउने। पूर्ण अत्याधुनिक र सुविधासम्पन्न सपहरू खोल्ने उनको सपना छ। 

पर्खालकै नजिकबाट सुस्त गतिको केवलकार संचालन गर्ने, जसबाट लुम्बिनीको दृश्य आनन्दले हेर्न सकियोस्। ५/५ सय मिटरमा प्लेटफर्महरू बनाउने। 
ती प्लेटफर्ममा केवलकार चढ्न र ओर्लन सकियोस्। हिँड्दाहिँड्दै अल्छी लागे केवलकार चढ्ने र जाँगर चले हिँड्ने। 

पर्खालमा ठूलाठूला बुद्धका प्रतिमाहरू बनाउने। आकर्षक खालका गेटहरू र विश्रामस्थल बनाउने। यो सबै बनाउँदा ५० अर्ब रुपैयाँ लाग्नसक्ने उनको अाँकलन छ। उनका अनुसार यो काम १० वर्षमा पूरा हुनसक्छ। यदि नेपाल सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्था आए जसरी लुम्बिनीमा मोनास्ट्रीहरू बनाउन विदेशीहरूलाई दिइएको छ, त्यसैगरी स्पट सेयरिङ गर्न पनि सकिने उनी बताउँछन्। 'सरकारले नै बनाउने हो भने पनि वर्षमा पाँच अर्ब रकम छुट्याए पुग्छ', उनी भन्छन्। 

यसले पर्यटकलाई अरू केही समय लुम्बिनीमा राख्ने र त्यसरी पर्यटक लुम्बिनीमा रहँदा फाइदा स्थानीयलाई नै हुने अनि अर्को फाइदा मुलुकलाई हुने उनको भनाइ छ।

सिद्धबाबाको पहिरो रोक्न ड्रागन टनेल 

'म हरेकचोटि घर स्याङ्जा जाँदा घरमा फोन गरेर म आउँदै छु भन्छु। सिद्धबाबाको पहिरो कटेपछि पहिरो कटेँ भन्छु। मनमा लाग्छ, अब त बँचियो। 
घर जाँदा र आउँदा केही रकमी हिसाबकिताब भए डायरीमा टिपेर राख्छु। घर जाँदा आउँदा धेरै पटक सोचेँ, यो ठाउँमा के गर्ने हो भने पहिरो रोकिन्छ र आतेजाते गर्दा डर मान्नुपर्दैन', उनले भने, 'अनि मैले धेरै मुलुकहरू घुम्दा देखेका योजना, आयोजनाहरूको सूक्ष्म अध्ययन गरेको थिएँ। त्यसपछि यसलाई टनेल बनाउनुपर्छ भन्ने निचोड निकालेको हुँ।'

सिद्धबाबामा धेरै प्रयोग गर्न खोजिए। धेरै अध्ययन, अवलोकन भए तर कुनै पनि काम राम्रोसँग भएन। पहिरो रोकिने र ज्यान पनि जोगिने खालको काम गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो र यो कल्पना गरेका हुन् उनले। 

अहिलेकै सडकमाथि कंक्रिट टनेल बनाउने। त्यसलाई ड्रागनको रूप दिने अर्थात् ड्रागन टनेल। तल्लो सिद्धबाबा मन्दिर नजिकबाट सुरु हुने ड्रागन टनेल दुई किलोमिटर ४०० मिटर लामो हुनेछ। 

अहिलेकै सडकलाई प्रयोग गरेर ११ मिटर चौडाइको दुई लेन र सुविधायुक्त फुटपाथसहितको कंक्रिट टनेलको उचाइ दुई तले बस आवतजावत गर्न मिल्ने गरी अधिकतम २१ मिटर हुनेछ। 

कंक्रिट टनेललाई ढुंगामाटोसहितको पहिरो गरी ३०० टनभन्दा बढीको भार सजिलै धान्न सक्ने गरी बलियो ढलान गर्ने। यसो गर्दा माथिबाट खस्ने पहिरो र ठूला ढुंगाहरू आर्क आकारको टनेलको माथिल्लो भागमा ठोक्किएर तल तिनाउ नदीमा झर्नेछन्। यसबाट टनेल र टनेलभित्र सवार गर्ने कसैलाई पनि जोखिम नहुने र तीन खण्ड हुने टनेलका बीचबीचमा ठूलाठूला भेन्टिलेसन राखिने उनको भनाइ छ। 

तल्लो सिद्धबाबामा ड्रागनको मुखाकृतिबाट सुरु हुने टनेल माथिल्लो सिद्धबाबा मन्दिर र रामापिथेकसको बंगारा भेटिएको स्थलनेर दुई ठाउँमा खुला हुनेछ, जहाँ घुमघाम, सिद्धबाबा मन्दिरको दर्शन गर्न र रामापिथेकसको बंगारा रहेको पर्यटकीय स्थल हेर्न पाइनेछ। 

करिब अढाई किलोमिटर लामो टनेल बनाउन बढीमा दुई अर्ब रुपैयाँ खर्च हुनसक्ने उनी बताउँछन्। उनका अनुसार एक वर्षभित्रै टनेल निर्माण पूरा गर्न सकिन्छ। यसले दोहोरो फाइदा हुनेछ। एउटा त पहिरोबाट जोगाउने भयो, अर्को पर्यटकीय मनोरम स्थल बन्नेछ। यसबाट वार्षिक न्यूनतम १२ करोड रुपैयाँ आम्दानी गर्न सकिने उनको आँकलन छ। 

अर्को सपना- पर्यटक भुलाउन सिद्धलेक 

बुटवल र भैरहवामा जनसंख्या बढ्दै गइरहेको छ। यिनलाई जोडेर महानगर बनाउने योजना छ तर यो जनसंख्याले मन भुलाउने रमाइला ठाउँ कम छन्। 
भएको प्रकृतिलाई व्यवस्थित बनाएर पर्यटकीय स्थल बनाउनुपर्छ भन्ने उनलाई लागेको छ। अर्को एउटा परिकल्पना हो- बुटवल आइपुगेको तिनाउ नदीलाई थुनेर ताल बनाउने। बुटवलदेखि उत्तर पाल्पाको दोभानमा ६० मिटर अग्लो बाँध बनाउने र झुम्सासम्म ताल बनाएर घुम्नलायक बनाउने।    

'भारतको नैनीताल, सिंगापुरको मेरिना वे र पोखराको लेकसाइड जस्तै आकर्षक पर्यटकीय स्थल बनाउन धेरै खर्च लाग्दैन, एक अर्ब रुपैयाँमा दुई वर्षमा तयार पार्न सकिन्छ', उनी भन्छन्।  

तालमा बोटिङ, स्विमिङ, फिसिङ आदि जल विहारमार्फत् आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन सकिन्छ। यसका पनि दुई फाइदा रहेको उनको भनाइ छ।
सिद्धलेक बाँधले अतिवृष्टि हुँदा कम्तीमा ५-६ घण्टा पानी स्टोरेज गर्न सक्छ, जसले गर्दा तिनाउ र दानव नदीबाट तल्लो तटीय क्षेत्र मर्चवारसम्म हुने डुबान र कटानको जोखिमलाई पनि नियन्त्रण गर्छ। सँगसँगै दोभान र झुम्सा क्षेत्रका बासिन्दाले रोजगारी र व्यवसाय गर्ने अवसर पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.