|

दाङ : राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापना गर्न तत्कालीन माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्धको थालनी गर्‍यो। २०६० सालमा पहिलो पटक युद्धविराम भएको थियो। त्यतिबेला धेरै अनौपचारिक वार्तापछि २०६० सालमा तेस्रो पटक दाङको साविक पुरन्धारा गाविसको हापुरेमा शान्तिवार्ता भएको थियो।

तत्कालीन माओवादीको मूल व्यवस्थापनमा शान्तिवार्ता भएको थियो, जसमा वार्ता टोलीमा माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा थिए भने तत्कालीन सरकारको तर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनी थिए। जब दाङको हापुरेमा वार्ता सुरु भएको थियो, देशभरको ध्यान दाङको हापुरेमा केन्द्रित थियो। तर वार्ता भने सफल हुन सकेको थिएन। त्यो वार्ता त्यहाँका बासिन्दाले अहिले पनि झलझली सम्झिरहेका छन्।  

स्थानीय शिवलाल खत्रीको घरमा वार्ता भएको थियो। त्यो घर अहिले पनि सुरक्षित छ। शान्तिवार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएको छ। नेता डा. बाबुराम भट्टराई र कृष्णबहादुर महराको फोटो वार्ता भएको कोठाको भित्तामा राखिएको छ। इतिहास बोकेको घरको सम्झना स्वरूप फोटो राखेको खत्रीले बताए। ‘त्यतिबेला भएको शान्तिवार्ता ऐतिहासिक हो’, उनले भने, ‘त्यसको सम्झना स्वरूप उहाँहरूको फोटो राखेको हुँ।’  

उक्त स्थानलाई नमुना संग्रहालय बनाउनुपर्ने उनको माग छ। द्वन्द्वकालमा एउटा इतिहास बनाएको उक्त स्थानमा कुनै पनि चिनो नराखिएको भन्दै उनले त्यसको संरचना र चिनारीका लागि संग्रहालय बनाउनुपर्ने बताए। यसका लागि राज्यले पनि पहल थाल्नुपर्ने बताए। शान्तिवार्ताका क्रममा हापुरे आएका बादल अहिले गृहमन्त्री र महरा सभामुख भएकाले त्यहाँको विकासमा उनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘शान्तिवार्तामा आएका बादल गृहमन्त्री हुनुहुन्छ, महरा सभामुख हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूले शान्तिवार्ता भएका स्थानहरूलाई संग्रहालय बनाउन ध्यान दिनुपर्छ।’   

सडकले भत्काउँदै छ घर

उक्त घर सडकले भत्काउँदै छ। सडकले नापी गर्दा त्यो घर बनाएको क्षेत्रलाई सडकले ओगट्छ। यसरी सडकले घर भत्काएमा शान्तिवार्ता भएको स्थानको इतिहास मेटिन्छ। यसले गर्दा उक्त घर संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए। शान्तिवार्ता भएको उक्त घर संरक्षण गरे आउने पुस्तालाई पनि इतिहास थाहा हुने हुँदा शान्तिवार्ता भएको स्थानलाई सुरक्षित राख्नुपर्ने खत्रीको भनाइ छ। ‘प्राविधिकले नापी गर्दा यो घर निर्माण भएको जमिन सडकले ओगट्छ’, उनले भने, ‘यसो हुँदा घर भत्काउनुपर्ने र आउँदा पुस्ताले शान्तिवार्ता भएको घरको नाम निशाना नै थाहा नपाउने अवस्था सिर्जना हुन्छ।’ 

शान्तिवार्ता भएको घर खोज्छन् बटुवा 

अहिले बाहिरबाट जो व्यक्ति हापुरे पुग्छन्, ती सबैले सोध्छन्, ‘युद्धको समयमा शान्तिवार्ता भएको घर कुन हो?’ अहिले बाहिरबाट हापुरे आउने हरेक व्यक्तिले शान्तिवार्ताका बारेमा सोध्ने गरेको नेकपाका नेता तथा हापुरेका अगुवा भीमबहादुर वलीले बताए। हापुरेले एउटा इतिहास बनाएको भन्दै अब हापुरेको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो। वार्ता भएको १५ वर्ष पुग्यो। त्यतिबेला निकै चर्चा पाएको हापुरेले अहिले भने त्यति चर्चा पाउन सकेको छैन।

मुलुकले शान्ति पायो, राजतन्त्र फाल्यो, संघीय गणतन्त्र पनि ल्याएको, विकास र समृद्धिको मार्गमा अघि बढिसकेको तर शान्तिवार्ता भएर इतिहास बनाएका क्षेत्रको विकासमा कुनै चासो नदिएको हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.