|

काठमाडौं : गएको प्रतिनिधिसभाको निर्वाचनमा देशैभरबाट वाम गठबन्धनले जितेर आउँदा बर्दिया- १ बाट पराजित नेकपा नेता वामदेव गौतम पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा आउने तयारीमा छन्।

सबै शीर्ष नेताहरूले जित्दा तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेता गौतम पराजित भए। पार्टीका शीर्ष नेता नै पराजित भएपछि अहिले गौतमलाई संसदमा ल्याउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सक्रिय छन्।

नेता गौतम निकट स्रोतका अनुसार उनी पार्टी निर्णयको पक्षमा छन्। सकभर आफ्नो क्षेत्र छाड्न नचाहे पनि पार्टीले आवश्यकता महसुस गरेमा गौतम डोल्पा जान तयार छन्। 'उहाँले सकभर आफ्नो क्षेत्र छाड्न चाहनुभएको छैन तर पार्टीका दुवै अध्यक्षले तपाईंको आवश्यकता संसदमा छ, आउनुस् भनेकाले उहाँ जान तयार हुनुभएको हो', स्रोत भन्छ, 'तर त्यो पनि पार्टीले आधिकारिक रूपमा निर्णय नगर्दासम्म उहाँको व्यक्तिगत रूपमा कुनै तयारी छैन। निर्णय भएपछि नै अगाडि बढ्नुहुनेछ।'

डोल्पाबाट प्रतिनिधिसभाको निर्वाचन जितेर सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएका सांसद धनबहादुर बुढा मगरलाई राजीनामा दिन लगाएर गौतमलाई चुनाव लडाउने नेकपाको तयारी छ। यस सन्दर्भमा राज्यमन्त्री बुढा पनि सहमत भइसकेका बताइएको छ।

गौतम पराजित भएपछि पार्टी राजनीति र सरकार संचालनमा असर पुगेको भन्दै डोल्पाबाट निर्वाचित बुढाको राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागिएको स्रोतको भनाइ छ। गौतम निकटका नेता मानिने बुढालाई राजीनामा दिने सहमतिअनुसार नै राज्यमन्त्री बनाइएको स्रोतले बतायाे।

स्रोतकाअनुसार राज्यमन्त्री बुढाले १५ भदौभित्र राजीनामा दिने तयारी छ। गौतम डोल्पा आउने पक्का भएपछि राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी छ। यसका लागि उनी भदौ ७ मा डोल्पा जाने कार्यक्रम रहेको बताइएको छ।

नेता बुढाले राजीनामा दिएपछि सरकारले डोल्पामा उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ। उपनिर्वाचनमा गौतमलाई जिताएर संसदमा भित्र्याउने नेकपा अध्यक्षद्वय ओली र प्रचण्डको योजना छ। यस विषयमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा समेत सामान्य छलफल भएको थियो।

तर नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले यसबारे पार्टीमा छलफल नभएको तर आफूभन्दा माथिल्लो कमिटीमा छलफल भएको भए जानकारी नभएको बताए।

तर डोल्पाका युवाहरूले भने पत्रकार सम्मेलनमार्फत् गौतमलाई नस्वीकार्ने चेतावनी दिइसकेका छन्। निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर पराजित भएका शीर्ष नेता गौतमलाई चुनाव लडाउने चर्चाबीचमै डोल्पाका युवाहरूले गत साउन १८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका थिए। उनीहरूले बुढालाई राजीनामा दिन लगाएमा डोल्पाली जनतामाथि अन्याय हुने बताएका थिए।

 डोल्पाली युवाहरूले भने : वामदेवलाई स्वीकार्दैनौँ, अप्राकृतिक निर्णय नहोस्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.