|
प्रतीकात्मक तस्वीर

लहान : सप्तरीको पश्चिमवर्ती सुरुंगा नगरपालिका ३ दौलतपुरको कडहरवा चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका ९ घर भएका नवराज खत्री, निरञ्जन कार्की र नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले शंकास्पद अवस्थामा देखिएपछि तीनजनालाई रोकेर खानतलासी गर्दा झोलामा लुकाएर राखिएको ५२/५२ एम्पुल फेनारगन र डाइजेपाम, ५३ एम्पुल लुपिजेसिक, एक थान सिरिञ्ज र ६ थान मोबाइलसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषध खत्रीको साथमा रहेको भए पनि उनीसँगै रहेका कार्की र चौधरीलाई लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


किराना पसलबाट गाँजा बरामद

सिरहा प्रहरीले जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका ३ स्थित बरियारपट्टि चोकमा संचालन गरिएको किराना पसलबाट प्रतिबन्धित लागुऔषध गाँजासहित पसल सञ्चालकलाई पक्राउ गरेको छ। स्थानीय ५५ वर्षीय कुलदेव चौधरी आफैँले सञ्चालन गरिरहेको किराना पसलबाट प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गरी मंगलबार राति एक किलो सात सय ग्राम तयारी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पसलबाट गाँजासमेत बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरी परिचालन गरी खानतलासी गर्दा लुकाएर राखिएको गाँजा बरामद भएको हो। गाँजा बरामद भएपछि चौधरीलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

सिरहाको उत्तरी छिमेकी जिल्ला उदयपुरसहित सिरहाका चुरे क्षेत्रका गाउँमा अवैध ढंगले उत्पादन हुने गाँजा स्थानीय एजेण्टमार्फत् संकलन गरी भरियालाई बोकाएर जिल्लाभित्र पर्ने नेपाल र भारतका विभिन्न सीमावर्ती बजार र सीमापारी कटाउने गरेको बताइन्छ। भरियामार्फत् तयारी गाँजा प्रहरीको आँखा छलेर सीमासम्म पुर्‍याउने तस्करका भरियाहरू भने बेलाबखत मात्र प्रहरीको फन्दामा पर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार आव २०७४/०७५ मा जिल्लाका विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषध र गाँजासहित पक्राउ गरी ६७ वटा मुद्दा चलाइएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.