|

काठमाडौं : नेपाली कांग्रेसभित्र गुटगत राजनीतिको सधैँ चर्चा हुने गर्छ। कतिपय नेताहरू पनि अवसरका लागि समय समयमा गुट फेर्ने गर्छन्। कांग्रेसमा गुटगत राजनीति अहिले मात्र होइन, स्थापनकालदेखि नै चल्थ्यो। फरक यति हो कि त्यसबेला व्यक्तिका गुट थिए भने अहिले समूहगत रूपमा गुट बन्न थालेका छन्।

१२औँ महाधिवेशनअघि पार्टीमा दुईवटा सशक्त गुट थिए- तत्कालीन सभापति सुशील कोइराला र तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवाको। त्यसबेला नेताले गुट पनि विरलै मात्र परिवर्तन गर्थे। कोइराला समूहमा उपसमूह धेरै भए पनि अहिलेको जस्तो विवादित थिएनन्। तर कोइरालाको निधनपछि पार्टीमा समीकरण परिवर्तन गर्ने नेताहरूको ठूलै सूची बन्छ। कोइरालाको निधनयता मात्र धेरै नेताहरूले समीकरण बदल्दै आएका छन्।

पार्टीको १३औँ महाधिवेशनपछि त झनै धेरै समीकरणहरू बदलिँदै आएका छन्। पार्टीको १३औँ महाधिवेशनमा भने समीकरण अलिक फरक नै भएको थियो। कहिल्यै देउवा निकट नभएका नेताहरू पनि १३औँ महाधिवेशनमा देउवाको निकट पुगे। कोइराला समूहका कतिपय नेताहरूले त केन्द्रीय समितिको निर्वाचनमा देउवा समूहबाटै प्रतिस्पर्धासमेत गरे।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा गुटहरू अस्थिर छन्। यसअघि सशक्त मानिएको कोइराला गुट अहिले ओझेलमा परेको छ। अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटको उपगुटमा सीमित भएको छ कोइराला परिवार। यस्तै, कोइराला परिवारका विश्वास पात्र मानिएका कृष्णप्रसाद सिटौला अहिले छुट्टै गुट चलाइरहेका छन्। सधैँ कोइराला परिवारकै छत्रछायामा हुर्किएका सिटौला १३औँ महाधिवेशनमा सभापतिमा देउवालाई सहयोग गर्न पुगे। आफू पनि सभापतिको उम्मेदवार बनेका सिटौला कम मत आएका कारण निर्वाचनको पहिलो रिङबाटै बाहिरिएपछि देउवालाई समर्थन गर्न पुगे उनी।

कोइराला परिवारकै नजिकका मानिएका पौडेलको साथ १३औँ महाधिवेशनबाटै सिटौलाले छाडेका थिए। १३औँ महाधिवेशनपछिको लामो समय सभापतिसँग सहकार्य गरेर भ्रातृसंस्थामा आफ्नो प्रभाव जमाएका सिटौला केही महिनाअघि मात्र पुनः पौडेलसँग सहकार्य गर्न आएका थिए। तर पछिल्लो समय पौडेललाई एक्ल्याएर अन्य नेतासँग सहकार्य गर्ने तयारीमा अघि बढेका छन् उनी। सिटौला मात्र होइन, पछिल्लो समय कांग्रेसका धेरै नेताहरू समीकरण परिवर्तन गर्दै आएका छन्।

१३औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी अहिले पुनः देउवाइतर पक्षमा आएका छन्। सिटौलासँगै पौडेलसँग सहकार्य गर्न आएका केसी अहिले सिटौला निकट मानिन्छन्। यस्तै, १३औँ महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री बनेका डा. शशांक कोइराला अहिले पौडेलबाट टाढिएका छन्। अब हुने १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उनको उद्देश्य छ। कोइराला परिवारको विरासत पुनः जगाउनका लागि पौडेलबाहेकका नेताहरूसँग उनी नजिकिँदै छन्।

पार्टीका नेता प्रकाशमान सिंहले पनि १२औँ महाधिवेशनपछि समीकरण परिवर्तन गरेका हुन्। उनी १२औँ महाधिवेशनअघि देउवासँग थिए। त्यसपछि उनी कोइराला गुटसँग आएका थिए। सिंह अहिले पौडेल समूहमा छन्। यस्तै, केन्द्रीय सदस्य डा. नारायण खड्का पनि समीकरण परिवर्तन गरेर अहिले कोइराला समूहमा आइपुगेका छन्। उनी १३औँ महाधिवेशनअघिसम्म देउवा निकट मानिन्थे। केन्द्रीय सदस्य मीनेन्द्र रिजाल पनि देउवा क्याम्प छाड्दै कोइराला क्याम्पमा आइपुगेका छन्। उनी १३औँ महाधिवेशनअघि मात्र देउवालाई छाडेर तत्कालीन सभापति सुशील कोइराला समूहमा आएका थिए। अहिले शशांक समूहमा छन् उनी।

महाधिवेशनअघिसम्म कोइराला गुटमा रहेका मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुर अहिले देउवा समूहमा पुगेका छन्। समीकरण परिवर्तन गर्ने नेतामा चन्द्र भण्डारी पनि गनिन्छन्। कोइराला समूहलाई छाड्दै १३औँ महाधिवेशनमा देउवा समूहमा पुगेका भण्डारी अहिले पुनः शशांक निकट आइपुगेका छन्।

केन्द्रीय सदस्य अर्जुन जोशी पनि अहिले देउवा समूहमा पुगेका छन्। महाधिवेशनअघि उनी कोइराला समूहका मानिन्थे। १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका युवा नेता गगनकुमार थापा महाधिवेशनअघिसम्म कोइराला समूहकै मानिन्थे तर उनी कोइराला परिवारका भित्रिया भने होइनन्।

समीकरण बदल्ने नेतामै पर्छन् कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि। लामो समय कोइराला समूहबाट पार्टीमा काम गरेका शर्माले पार्टीको १२औँ महाधिवेशनपछि गुट बदल्दै देउवा समूहमा पुगेका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महाधिवेशनअघिसम्म कोइराला समूहका मानिन्थे तर उनी कोइराला समूहबाटै फुटेका सिटौलाको क्याम्पमा पुगेका छन् अहिले। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पनि १३औँ महाधिवेशनमा गुट परिवर्तन गरेका हुन्। १३औँ महाधिवेशनको समयमा उनी कोइराला समूहबाट देउवाको क्याम्पमा पुगेका छन्।

तर पार्टीभित्र यसरी समय समयमा समीकरण परिवर्तन भइरहनुलाई युवा नेता गगनकुमार थापा भने स्वाभाविक मान्छन्। उनी गुटहरू कहिल्यै स्थायी हुनुहुँदैन भन्ने पक्षमा छन्। पार्टी गुट हुनु स्वाभाविक हो। गुटहरू स्थायी हुनुहुँदैन, समयअनुसार गुट बन्छ र भत्किन्छ पनि’, उनी भन्छन्, ‘गुटको सदस्यता एक पटक लिएपपछि जीवनभरि हुँदैन। गुट जति चलायमान हुन्छ, पार्टी पनि त्यति नै चलायमान हुन्छ। पार्टी जमेको पोखरी जस्तो हुनुहुँदैन तर पार्टीलाई गुटको बन्धक बनाउनु पनि हुँदैन।

नयाँ समीकरणको तयारी

१४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नयाँ गुटको एक्सरसाइजभइरहेको छ। खासगरी देउवाले पार्टी विधानअनुसार चलाउन नसकेको भन्दै असन्तुष्ट जनाउनेहरू एक भएर नयाँ गुटको तयारी गरिरहेका छन्।

आउने महाधिवेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले तयारी गरिरहेको छ। त्यसका लागि कोइराला परिवारका तीन सदस्य डा. शशांक, डा. शेखर र सुजाता कोइराला निरन्तर वार्तामा छन्। कोइराला निकट स्रोतका अनुसार उनीहरू आफ्नै परिवारका मध्ये एकबाट सभापतिको उम्मेदवार बनाउने तयारीमा छन्। कोइराला परिवारलाई पार्टीको विरासद पुनः सम्हाल्न कार्यकर्ता तहको पनि दबाब छ’, कोइराला निकट एक नेता भन्छन्, ‘त्यसका लागि उहाँहरू पनि तयारी गर्दै हुनुहुन्छ।

कोइराला परिवारको नेतृत्वबाट एक पटक गुमेको पार्टीलाई पुनः कोइराला परिवमारमै फर्काउन तीन नेताहरू पनि क्रियाशील छन्। उनीहरूले आफ्नो समूहबाट पछि बाहिर गएका नेताहरूलाई समेत फकाउन सुरु गरेका छन्। देउवाबाट असन्तुष्ट बनेका सिटौला, केसी र सिंहसँग पनि कोइराला परिवारले लविङ सुरु गरेको छ।

कोइराला परिवारकै छायाबाट राजनीति गर्दै आएका सिटौलालाई मनाउने उनीहरूको कसरत जारी छ। सिटौलालाई मनाउन सके सिंह र केसी पनि आफूहरूकै समूहमा आउने कोइराला परिवारको आँकलन छ। गिरिजाबाबु र सुशीलदाले सिटौलालाई हरेक क्षेत्रमा अवसर दिनुभएको छ’, कोइराला परिवारका एक नेता भन्छन्, ‘त्यसकारण पनि उहाँले नाइँ भन्नुहुन्न भन्ने आँकलन छ।पछिल्लो समय शेखरले सिटौलासँग निरन्तर छलफल गरिरहेको ती नेता बताउँछन्। स्रोतका आनुसार कोइराला परिवारबाट सभापति उठाएर गगन थापालाई महामन्त्री दिने कोइराला परिवारको प्रस्ताव छ।

सिटौलाजीसँग पनि छलफल भइरहेकै छ। कोइराला परिवारबाट एक जना सभापति उठ्ने र सिटौलाजीका मागहरू पनि पूरा गर्ने प्रस्ताव कोइराला परिवारको छ’, उनले भने, ‘सिटालाजी पनि सिनियर नेता हो। त्यसकारण उहाँको व्यस्थापन हुन सके सायद कुरा मिल्छ।’ सिटौला पनि देउवाले पार्टी विधानअनुसार नचलाएर यो अवस्थामा ल्याएको भन्दै उनकाविरुद्ध गठन्धन गर्ने तयारीमै रहेको स्रोतको दाबी छ।

कोइराला परिवार वरिष्ठ नेता पौडेलसँग भने असन्तुष्ट छ। पौडेलको गतिविधिले देउवालाई सहयोग गर्न खोजेको भन्दै उनीहरू पौडेल समूहबाट टाढिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.