|

इलाम : भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा, अलैँची, अकबरे खुर्सार्नी, ओलन जस्ता नगदेबालीले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताको दृश्यावलोकनका लागी इलाम विश्वमा नै प्रख्यात छ। प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न तेस्राे मुलुकबाट पर्यटकहरू वर्षेनी इलाम आउँछन्।

सिंहलीला पर्वत श्रृंखला र महाभारत पर्वत श्रृंखला, तीनबाट उत्पत्र नदी प्रणाली, ढपक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरू, मेहेनती किसानहरूले गरेको कृषि र पशुपालन आन्तरिक र वाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ। पहाडकी रानी उपमाले परिचत इलाममा प्रकृति र संस्कृतिको संगम इलामको पर्यटन विकास तथा व्यवसाय मुख्य आधार हुन् भनिन्छ। यसकारण यहाँ पर्या पर्यटन, कृषि-पर्या पर्यटन, चिया पर्यटन, धार्मिक-सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ भन्दा अनर्थ नहोला।

इलाम भ्रमणका लागी आउने अधिकांश पर्यटक कहाँ कहाँ घुम्ने भन्नेमा अलमल्ल परेका देखिन्छ। यहाँ इलाम घुम्न चाहने र इलामको प्राकृतिक मौलिकता बुझ्न चाहनेहरूको इलाम उत्तम गन्तव्य हुन सक्छ नेपाल-भारत उत्तरी सीमावर्ती सन्दकपुर। प्रदेश-१ एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर इलाम सदरमुकामबाट माबु-कालपोखरी हुँदै मोटरबाट यात्रा गरी पुग्न सकिन्छ। यस्तै सदरमुकामबाट माइपोखरी माइमझुवा हुँदै सन्दकपूरको यात्रा गर्न सकिन्छ। सदरमुकामबाट सन्दकपुरको दूरी करिव ४५ किलो मिटर छ। 

नेपाल-भारत सिमाना इलामको सन्दकपुर पुग्नुभयो भने एकै ठाउ उभिएर नेपाल-भारतको मात्र होइन भुटानको हिमालका १८० डिग्रीको सोझो सतहमा ६० हिमचुचुरा एउटै स्थानबाट देख्न सकिन्छ। इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका-४ (साविक माबु-८) मा रहेको सन्दकपुर पुग्न कुनै सास्ती व्याेहार्नु पर्दैन आर्थिक दृष्टिले पनि सन्दकपुर यात्रा सस्तो र सुलभ पर्नेछ। एक दिनको खाना नास्ता र बसाइ गरेर नेपाली १५०० रुपैयाँ लिने गरेको शेर्पा च्यालेट होटलले जनाएको छ।


तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमालसमेत पूर्वी हिमशृंखलामा पर्ने साढे ६ हजार मिटर उचाइमाथिका अरु तीन दर्जन बढी हिमचुचुरा पनि मज्जाले देखिन्छन्। हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पनि पर्यटक आकर्षित गर्ने गरेको छ। भारतको सिंहलीला नेशनल पार्कसँग जोडिएको सन्दकपुरबाट पश्चिम उत्तरतिर ल्होत्से, मकालु, कुम्भकर्ण हिमाल नजिकै देखिन्छन्।

ठ्याक्कै उत्तरतिर फर्किंदा सिक्किमका पाहुन्द्री, सिनोल्चु र जोङसङ हिमाल झन्नजिक लाग्छन्। हल्का पूर्व हेर्दा भुटानका कुलाकाङ्ग्री र जोमलरीसहित एक दर्जन हिमचुचुरा देखिन्छन्। मौसम खुलेका बेला सगरमाथादेखि कुलाकाङ्ग्रीसम्मका हिमचुचुरा एउटै रेञ्जमा देख्न पाउँदा सन्दकपुर आउने पर्यटक रमाउँछन्। नेपालको बाटो विव्ल्याटे, माबु हुँदै सन्दकपुर ल्यान्डरोभर गाडीमा पुग्न सकिन्छ। 

भारतको माने भञ्ज्याङ-तुम्लिङ-कालपोखरी हुँदै तेस्राे देशका पर्यटकहरू सन्दकपुर पुग्ने गरेका छन्। पर्यटकहरूको सुविधाको लागी भनेर दोवाटे र कालपोखरीमा होटल र होमस्टे समेत संचालन गरिएको छ। दोवाटे नजिकको २७९० मिटरको उचाइमा रहेको बनमा विश्वमा नै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ।

विदेशी पर्यटक माझ सन्दफुको नामले परिचित सन्दकपुरबाट तीन देश (नेपाल, भारत, भुटान) का हिमाल ६० वटा भन्दा बढी हिमाल देख्न सकिने नेपालीलाई नै थाहा छैन। पर्यटक लिएर आउने सीमित भारतीय गाइड,भरिया, होटल र यातायात व्यवसायीलाई मात्रै सन्दकपुर धेरै भन्दा धेरै हिमचुचुरा चिहाउने एक मात्र गन्तव्य हो भन्ने जानकारी छ। जसको फाइदा समेत उनीहरूले नै लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.