|

दार्चुला : व्यास गाउँपालिकाले बहुचर्चित कालापानी क्षेत्रमा पुग्ने बाटो सञ्चालनमा ल्याउने भएको छ। पञ्चायतकालमा निर्माण गरिएको घोरेटो बाटोलाई मर्मत गरी सञ्चालनमा ल्याउन व्याँस गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको छ।

 भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीसम्म पुग्ने बाटो मर्मतका लागि व्यास गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाटो सञ्चालन गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको तयारी रहेको गाँउपालिका अध्यक्ष दीलिपसिह बुढाथोकीले बताए। कालापानीको चर्चा स्थानीय र राष्ट्रियस्तरमा धेरै भएकाले त्यस क्षेत्रमा भ्रमण गर्न चाहनेहरूलाई प्रोत्साहित गर्न खोजिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ।

प्राकृतिक सुन्दरता, हिमाली क्षेत्र र ओम पर्वतको दर्शन लगायतको महत्व भएकाले कालापानीसम्मको बाटोमर्मत गर्ने व्यास गाउँपालिकाले जनाएको छ। असारमा सम्पन्न गाउँसभाले ६ लाख रुपैयाँ बाटो मर्मतका लागि बजेट विनियोजन गरिसकेको छ। विनियोजित बजेटले बाटो मर्मत गर्न इस्टिमेट बनाउन लागिएको व्यास गाउँपालिका वडा १ का प्राविधिक योगेन्द्रसिह ऐतवालले बताए। तीन हप्ताअघि वडा १ का वडा सदस्यहरू राहुल लामा, मनोज लामा तथा प्राविधिक सहायक ऐतवालको टोलीले कालापानी क्षेत्रको भ्रमण पनि गरेको छ।

व्यासको छाङरुदेखि कालापानीसम्म नेपाली भूभाग भएर टोलीले बाटोको अवस्थाबारे जानकारी संकलन गरेको छ। छाङरुदेखि कालापानीसम्म करिब १३ किलोमिटर लामो घोरेटो बाटो रहेको छ। करिब एकदर्जन स्थानमा बाटो मर्मत गर्नुपर्ने अवस्था रहेको प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले बताए। करिब डेढ किलोमिटर लामो क्षेत्रमा काडा र झाडी रहेकोले नयाँ बाटो नै निर्माण गर्नुपर्ने अवस्था रहेको ऐतवालको भनाई छ।

कालापानी जोड्ने बाटो मर्मतका लागि गाउँपालिकास्तरबाटै बजेट विनियोजन गरिएको छ। उपभोक्ता समितिमार्फत बाटो मर्मतको कार्य गरिने प्राविधिक सहायक ऐतवालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.