|

भोजपुर : भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म ६ करोडभन्दा बढी रकम वितरण गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी ६ करोड २९ लाख ५३ हजार राहतस्वरुप वितरण गरिएको हो। भोजपुरमा भूकम्पपीडितका लागि आएको कुल रकम ६ करोड ५० लाखमध्ये सो रकम वितरण गरिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिए। 

भोजपुरमा रहेका दुई नगरपालिका र ५४ वटा गाविसमा भूकम्पका कारण ३ हजार ७ सय ५१ घर पूर्णरुपमा र ६ हजार ५ सय ६१ घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

भूकम्पबाट भोजपुरको दोभाने गाविस सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ। दोभानेमा ७ सय ८० घर पूर्ण र २ सय ४० घरमा आंशिकरुपमा क्षति पुगेको थियो। दोभानेमा २ सय ३३ घरले ५ हजारका दरले १५ लाख ४० हजार लगेका छन् भने ३ हजारका दरले ७ लाख २० हजार र १५ हजारका दरले राहत रकमबापत ३४ लाख ९५ हजार गरी जम्मा ५७ लाख ५५ हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार ५ हजारका दरले १ हजार ८ सय ७४ घरले राहत रकमबापत १ करोड ५० लाख ५० हजार पाएका छन्। यसैगरी, ३ हजारका दरले १ करोड ८९ लाख ९३ हजार वितरण गरिएको छ। 

यस्तै, भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई ८ लाख प्रदान गरिएको सहायक प्रजिअ पाण्डेको भनाइ छ। जिल्ला प्रशासन कार्यालयका अनुसार १५ हजारका दरले २ करोड ८१ लाख १० हजार भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.